शहीदको याद
विस्मृतिको झ्यालखानाबाट उठेर
अतितले मलाई हेर्दैछ
आँखासमेत झिमिक्क नगरी !
म पनि तिमीसँगै छु
निरास नहुनु कहिल्यै
जेलबाट म फर्किएको दिन
तिमीले मुस्कुराउँदै भनेका थियौ
तिम्रा वाणीले म उचालिएको थिएँ
धेरै पाइलामाथि
र अडिएको थिएँ
अग्लो भएर
साह्रै खुशी भएको थियौं
तिमी त्यसबखत ।
मानव समुन्द्रको छालले उछिट्याएर
निरङ्कुशताको धरोहरलाई
किनारामा हुत्याएको दिन
मेरो अनुहारभरि पोतिएको अवीरले
तिमीलाई पनि रङ्गिन बनाएको थियो ।
खुशी हुँदै अँध्यारो कोठाबाट
तिमीलाई निकालेर
मसँगै मेरो उज्यालो घरमा पुर्याएँ
उज्यालिएनौ तिमी
मेरो पारिवारिक हर्षाेउल्लासमा
हर्षले फुलेनौ तिमी
मेरो सुखलाई, प्रगतिलाई
मैले जसरी नै तिमीले
देशकै उन्नतिमा र प्रगतिमा जोडेनौ
प्रत्येक विहान
मेरो उज्यालो घरको मूल कोठामा
तिमी मुस्कुराउन छाड्यौ
सागरजस्तै गहिरो पीडा गहिरिन थाल्यो
तिम्रो अनुहारमा
ज्वालामुखीजस्तै आक्रोश दन्कन थाल्यो
तिम्रा आँखामा
अब त सक्दिन
म तिमीलाई सँगै राख्न
धेरै वर्षअघि शहीद बनेर तस्बिरमा बसेको
मेरो प्यारो साथी
झिकेर तिमीलाई
काँपिरहेका हातमा लिइरहेको छु
अब खै कता राखुँ !
(प्राज्ञ तथा कवि नन्दु उप्रेती इलामस्थित साहित्यकार स्वर्गीय विष्णु नवीनको शालीकमा माल्यार्पण गर्दै । तस्बिर उप्रेतीको फेसबुकबाट ।)