नेपाली किताब अभावमा ७ लाख विद्यार्थी प्रभावित 

२०७४ असार १ बिहीबार ०९:२७:०० मा प्रकाशित

भक्तपुर ,१ असार । पाठ्य पुस्तक र आवश्यक पठन सामग्री समयमै विद्यालयमा नपुग्दा ६ जिल्लाका ७ लाख विद्यार्थी, १५ हजार प्रावि शिक्षक र ५ हजार प्रधान अध्यापक प्रभावित भइरहेका छन् ।

नेपाल सरकार र युएसआइडीबीच सम्झौता भई देशका ६ जिल्लामा सञ्चालनमा आएको भनिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सरकारी उदासिनताकै कारण अलपत्र परेको छ । 

विद्यार्थीको पठन सीप कमजोर भएको ठहरका साथ कक्षा, १, २ र ३ मा अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाली विषयको पठन क्षमता वृद्धि गर्न भन्दै उक्त कार्यक्रम लागू गरिएपनि समयमै  नेपाली विषयको पाठ्यपुस्तक नपुग्दा  पठनपाठनले गति लिन सकेको छैन् । देशका दुर्गममा मात्रै नभई उपत्यकाकै भक्तपुर जिल्लाको सुडालमा समेत उक्त पाठ्यपुस्तक पुग्न नसकेको पाईएको छ ।


यो कार्यक्रम नमूनाको रुपमा काठमाडौं उपत्यकाको भक्तपुर सहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ जिल्लामा सञ्चालित छ । भक्तपुरको  सुडालस्थित एक विद्यालयका विद्यार्थीले त अहिलेसम्म नेपाली विषय पढ्न पाएकै छैनन् । 


यस्तो हुनुमा जनक शिक्षा सामग्री केन्द्रले प्रकाशित गरेको मेरो नेपाली’ को अभाव भएर होइन । यसको मुख्य कारण सरकारले गत वर्षबाट पूर्ण रुपमा लागू गरिएको’ भनिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लापरबाही नै भएको सो विद्यालयका शिक्षक केदार काफ्लेले बताएका छन् । 

यो समस्या भक्तपुरको मात्र नभएर सो कार्यक्रम लागू भएका अन्य जिल्लाहरुको  हो । ईजिआरपी लागू भएका अन्य जिल्लाहरुमा पनि अहिलेसम्म सो किसिमको पाठ्यपुस्तक पुगेको छैन । वैशाखमै दिनुपर्ने पुस्तक असार लाग्न लाग्दा समेत दिन सकेको छैन । 

यसो हुँदा दैनिक पठनपाठनमा समस्या भएको छ ।  गत वर्ष पनि पाठ्यपुस्तकसँगै तालिम पनि साउनमा दिईएको थियो । यो वर्ष पनि सोही समस्या दोहोरिएको छ ।

जिल्ला शिक्षा कार्यालय भक्तपुरका फोकल पर्सन सविता दंगालले पाठ्यपुस्तक पु¥याउन ढिला भइरहेको बताउँदै बैशाखमै आउनुपर्ने पाठ्यपुस्तक अहिलेसम्म नआएको जानकारी दिइन् । 

उनले यो कार्यक्रमअन्तर्गत एक सय ९२ दिनको पाठ योजनासहितको निर्देशिका, नमूना पाठ, पाठ्यक्रमको क्षेत्र, सिकाइ सक्षमता उल्लेख भएको शिक्षक सामग्री र विद्यार्थीका लागि अभ्यास पुस्तिकासँगै लर्निङ मटेरियल्सहरु, कथा, कविताका किताबहरु आउनुपर्ने भए पनि नआएको बताईन् ।

ताजा खबर