धुर्मुस र सुन्तली प्रदेश नं १ का सद्भावनादूत

२०७५ माघ १३ आइतबार १६:३२:०० मा प्रकाशित


 

विराटनगर । प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त भएका छन् । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज यहाँ सम्झौता भएको छ । 

एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ जीनवशैली प्रवद्र्धनसम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने, स्वस्थ जीवनका लागि खानपान, सरसफाइ र योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । 

सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैँ सफा गर्छु’, ‘समुदायको सरसफाइमा मेरो दायित्व’ जस्तानारासहित दैनिक जीवन पद्दति, व्यवहार, सरसफाइ, पोषण आदिलाई जोडेर स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। 

मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई स्वस्थ र समृद्ध बनाउन सरकार शुरुदेखि नै प्रयत्नशील भएको बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र ‘स्वास्थ्य प्रवद्र्धन वर्ष–२०७५’लाई मूर्त रुप दिन सबैजना खानपिन, सफाइ र व्यायाममा केन्द्रित हुनुपर्छ भने। रासस

ताजा खबर