चावहिल–साँखु सडकको हिलोले तीर्थयात्रीलाई सास्ती

२०७५ माघ १३ आइतबार १५:०१:०० मा प्रकाशित

साँखु, १३ माघ । निर्माणाधीन चावहिल–साँखु सडकखण्डमा हिलो र चिप्लो सडकका कारण विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीलाई समस्या भएको छ । 

शङ्खरापुर नगरपालिकाको साँखुमा माघ ७ गतेबाट लागेको माधवनारायण शाली नदी मेलामा आउने भक्तजनले सडकका कारण निकै सास्ती भोग्नु परेको हो । सडकमा ठूला खाल्डो छन्, बाक्लो हिलो र चिप्लो सडकका कारण चावहिलबाट साँखु जाने गाडी फस्ने गरेका छन् भने मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने गरेको तीर्थयात्री जयराम खतिवडा बताउँछन्। 

गाडी फस्ने हुँदा सवारी आवागमन समस्या भएको छ । लामो सवारी चाप हुने तथा हिलोले दुर्घटनाको जोखिम पनि बढेको खतिवडा बताउँछन्। मेला हेर्न आउने भक्तजन गन्तव्यसम्म सवारीसाधन पुग्न नसक्दा हिलाम्मे सडकमा पैदलबाटै मन्दिर जान बाध्य छन् । 

चावहिल हुँदै साँखुसम्म पुग्ने सरल तथा वैकल्पिक मार्ग नभएकाले सोही बाटो हँुदै जानुपर्ने बाध्यात्मक अवस्था भएको मेला हेर्न आएका रुपेश श्रेष्ठ बताउँछन्। सडकमा निर्माण सामग्री थुपार्ने गरेका कारण पनि सवारी चाप हुने गरेको छ । 

सरकारले २०७२ सालमा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडक खण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । राससका अनुसार कूल लम्बाई ११ दशमलव ४६ किमि सडक खण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सडकको विस्तारको काम गरिरहेका छन् । 

ताजा खबर