बी एन्ड सीपीडित भन्छन् ‘फर्केर जान नपरोस्’

२०७५ माघ १३ आइतबार १३:४०:०० मा प्रकाशित

झापा । मेचीनगर—५ का धनप्रसाद भण्डारी गिरी मोटरसाइकल दुर्घटनामा घाइते भए। उनलाई बी एन्ड सी अस्पताल भर्ना गरियो। अस्पतालमा २० दिन बसेपछि गत बिहीबार उनको मृत्यु भयो। परिवारले सात लाख ७५ हजार नगद बुझाएर शव लगे।

५४ वर्षे गिरीको दाहिने खुट्टा भाँचिएको थियो। उपचारपछि डिस्चार्ज गर्ने तयारी हुँदै थियो। अचानक उनको मृत्यु भएपछि मेची नगरका तीन सय स्थानीयबासीले अस्पतालसँग कारण खोजे। तर अस्पतालले चित्तबुझ्दो जवाफ दिएन। आफन्त शव बुझ्न बाध्य भए। अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप परिवारले लगाएको छ। हृदयघातका कारण उनको मृत्यु भएको दाबी अस्पतालले गरेको छ। तर, छोरा विनोदले अस्पतालको लापरवाहीकै कारण बुबा गुमाउनु परेको बताए। उनले भने, ‘निको भयो भनेर डिस्चार्ज दिने तयारी हुँदाहुँदै बुबा बित्नु भयो। यसमा डाक्टरको गम्भीर लापरवाही छ।’

‘अब कहिल्यै पनि फर्किएर आउन नपरोस्,’ उनले थपे।

बी एन्ड सीजस्ता केही अस्पताल मेडिकल कलेज चलाउने पाइपलाइनमा छन्। इलाममा १६ औं सत्याग्रह सुरु गर्नुअघि डा. गोविन्द केसीले त्यस्ता अस्पताललाई भनेका थिए, ‘बिरामीलाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुस् तर मेडिकल कलेजका लागि पर्खनुस्।’

तर एन्ड बीजस्ता अस्पतालको सेवा सर्वसुलभ छैन। तिनले अत्याधुनिक सेवाको दाबी त गर्छन् तर स्वास्थ्य सेवा त्यस्तो छैन। पूर्वको झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट बी एन्ड सी पुगेका कतिपय सेवाग्राहीले उपचारका नाममा घरबार र भएभरको सम्पत्ति मात्रै सकेका छैनन्, परिवारका सदस्य पनि गुमाएका छन्। त्यसैले उनीहरु फेरि फर्केर आउन नपरोस् भन्ने कामना गर्छन्।

बी एन्ड सीमा सेवा लिएर जनधन गुमाउने गिरी परिवार पहिलो होइन। साउन १३ गते मेची राजमार्गको बर्ने खण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्कियो। इलामको रोङ गाउँपालिका–४ का ३३ वर्षीय अरुण तामाङ सख्त घाइते भए। उनलाई त्यही दिन बी एण्ड सी अस्पताल लगियो। १५ दिनपछि उनको मृत्यु भयो। अस्पतालले उनको परिवारबाट १६ लाख रुपैयाँ असुलेको दाजु निमा तामाङले बताए। ‘उपचारको दुई सातापछि अस्पताल प्रशासनले रकम तिरेर बिरामी लैजान भन्यो,’ निमा भन्छन्, ‘अस्पतालको ढोकाबाट निकाल्दा निकाल्दै उनको मृत्यु भयो।’ आईसीयूको नौ लाख, दुई दिन भेन्टिलेटरमा राखेको दुई लाख ५० हजार र फार्मेसीको चार लाख ३० हजारको बिल परिवारले तिर्‍ यो।

आफ्नो अस्पतालको स्वास्थ्य सेवा महंगो भन्ने बिरामीको आफन्तको हल्ला मात्र भएको कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बताए। न्युरोसम्बन्धी उपचार संसारभर महंगो हुने गरे पनि बी एन्ड सीले मिलाएर सस्तोमा गरिदिने दाबी उनले गरे।

इलामकै सूर्योदय नगरपालिकाका हरिप्रसाद तिम्सिनाका १४ वर्षीय छोरा प्रवीणको १९ महिनाअघि गाडीबाट लड्दा दाहिने हात भाँचियो। उनलाई बी एण्ड सी पुर्‍ याइयो। उपचार गर्न तीन लाख ५० हजार लाग्छ भनेपछि परिवार नै संकटमा पर्‍ यो। अस्पतालमा एक रात राखेको २४ हजार पाँच सय ५६ रुपैयाँ बुझाउनुपर्‍ यो। त्यसपछि परिवारले उनलाई काठमाडौंको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालमा लाने निधो गर्‍ यो। ‘अस्पतालले नमाने पनि बिरामीलाई काठमाडौं लगियो,’ तिम्सिनाले भने, ‘काठमाडौंमा २५ हजार रुपैयाँमा सबै उपचार भयो।’

अत्याधुनिक सेवा र राम्रो उपचार दिएको दाबी गर्ने बी एन्ड सी अस्पतालले लुट मच्चाउने गरेको बिरामीको आफन्त बताउँछन्।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका फिपराज थलङलाई पक्षघात भएपछि भदौमा आफन्तले न्युरो अस्पताल विराटनगर पुर्‍ याए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई असोज १ मा बी एण्ड सीमा भर्ना गरियो। ‘दुई महिनासम्म राखेपछि अब निको हुन्छ भन्दै अस्पतालले बाहिर लगेर फिजियोथेरापी गर्न सल्लाह दियो,’ छोरा सुमनले भने, ‘तर डिस्चार्ज लगत्तै बुबा बित्नुभयो।’

बुबाको उपचारमा सात लाख रुपैयाँमा आठ रोपनी अलैंचीबारी बेच्नुपरेको सुमनले बताए। ‘सुरुमै निको हुँदैन भने घर लैजान्छौं भन्दा चिन्ता लिनु पर्दैन निको हुन्छ भनियो,’ सुमन भन्छन्, ‘अन्तिममा पैसा पनि सकियो, बुबा पनि रहनु भएन।’ अस्पतालले आईसीयूमा राखेको भन्दै कुरुवा बसेको आफूलाई समेत भेट्न नदिएको उनको भनाइ छ। अलैंचीबारी बेचेको सात लाख र गाउँलेले संकलन गरेको दुई लाख बी एण्ड सीमै खर्च भएको उनको भनाइ छ। ‘बिरामीलाई निको हुने आश्वासन दिएर अस्पतालले अलैंची लगाएको पाखो बारी पनि सकिदिएपछि अहिले अर्काको जग्गा अधियाँ जग्गा कमाएर बसेको छु,’ उनले भने, ‘यस्तो अस्पताल कसैले जान नपरोस्।’

लडेर ढाडमा समस्या भएपछि ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ का महानन्द पौडेल पनि गत वर्षको असोजमा यही अस्पतालमा भर्ना भए। सञ्चो हुनुको साटो उनी झन् सिकिस्त हुँदै गए। तर अस्पतालले निको बनाइछाड्ने दाबी गर्दै दुई हप्तापछि चार लाख ५० हजार जम्मा गर्न भन्यो। आफन्त तीन लाख ५० हजारमात्रै दिन तयार भए। त्यसको भोलिपल्टै बिरामीको मृत्यु भयो। बाँकी एक लाख बुझाएर शव लिएर परिवार घर फर्कियो।

एक पटक पुगेका बिरामी फेरि नफर्कने कुरा आफूले पहिलो पटक सुनेको अस्पतालका प्रवक्ता प्रमेश गिरीले बताए। उनले भने, ‘उपचार महँगो भएको विषयमा पनि गुनासो आएको छैन। अरु कुरा डाक्टरसँग सोधपुछ गरेर मात्र भन्न सकिन्छ।’

बी एण्ड सीले गत वर्ष आयोजना स्वास्थ्य महोत्सव आयोजना गरेको थियो। त्यसको उद्धघाटन गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले वाम गठबन्धनको सरकार बनेको दुई महिनामा बी एण्ड सीलाई सम्बन्धन दिने भाषण गरेका थिए। तत्कालीन माओवादी अध्यक्षका हैसियतमा महोत्सवमा पुगेका पुष्पकमल दाहालले पनि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको दुःख बुझेको भन्दै सरकार बन्नासाथ मेडिकल कलेज बनाउने गाँठो खोली दिने बताएका थिए। तर यो अस्पतालमा उपचारका लागि जाने बिरामी र तिनका आफन्तको दुःख भने कसैले बुझेको छैन।

 अन्नपूर्णपोष्टमा भद्रपुरबाट राधा खनाल, इलामबाट तोयानाथ भट्टराई, ताप्लेजुङबाट सीताराम गुरागाईंको  रिपोर्ट मा लेखिएको छ- उनीहरु प्रभावकारी उपचार नपाएर आजित छन्। उपचारका नाममा बिरामीलाई लुट्ने गरिएको गुनासो उनीहरुको छ। ‘बिरामी निको हुन्छ भन्दै धेरै पैसा मात्रै असुल्ने काम हुँदो रहेछ। निको हुन्छ भनेको भोलिपल्टै बिरामीको मृत्यु भइसक्छ,’ सुमनले भने, ‘अन्त भन्दा उपचारमा पैसा पनि बढी लाग्दो रहेछ। उपचारका लागि राखिएको बिरामी मर्ने हो कि बाँच्ने हो, टुंगै हुँदो रहेनछ।’

बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल तथा रिसर्ज सेन्टर प्रालि भने आफूले अत्याधुनिक मेसिनमार्फत गुणस्तरीय र छिटो सेवा दिंदै आएको दाबी गर्छ। यो चार वर्षअघि झापाको बिर्तामोडमा स्थापना भएको थियो।

 

ताजा खबर