निजगढ विमानस्थल निर्माणको जिम्मेवारी कतारले नै पाउने

२०७५ माघ १३ आइतबार १३:०९:०० मा प्रकाशित


काठमाडौं, १३ माघ । निजगढ विमानस्थल बनाउन इच्छा जाहेर गरेको कतारलाई नै यसको जिम्मेवारी दिने प्रक्रिया अघि बढेको छ ।

नेपाल सरकारले निजगढमा विमानस्थलको विस्तृत परियोजना विवरण (डीपीआर) कतारलाई पठाएको थाहा भएको छ । कतार स्थित नेपाली दुतावास मार्फत् डीपीआर पठाइएको पर्यटन मन्त्रालय श्रोतले जानकारी दिएका छन् । यसअघि कतारले उक्त विमानस्थल बनाउन प्रस्ताव पठाएको थियो । विमानस्थल निमार्णको कामको लागि कतारसँग कुटनैतिक छलफल तिब्र रुपमा अघि बढाएको जानकारी दिइएको छ।

उक्त विवरण पठाउनुअघि नेपाल र कतारबिच विमानस्थल निर्माणको लागि चाहिने लगानी, स्वरुप र संचालनको विषयमा विभिन्न समयगरि ३ पटक कुराकानी भइसकेको छ ।
नेपाल सरकारले कतारलाई विमानस्थलको हालको अवस्था, अहिलेसम्म गरिएको काम र बनाउन खोजेको संरचना र संचालन स्वरुपको विषयमा आधारित रहि अवधारणा पत्र पनि पठाएको छ ।

यसअघि कोरियन कम्पनी एलएमडब्लुले अध्ययर गरेर तयार पारेको प्रतिवेदन अनुसार त्यहाँ इच्छाइएको विमानस्थल निर्माण गर्न करिब ८ हजार हेक्टर जमिन आवश्यक पर्ने र २ जहाज हेक्टरमा मात्र विमानस्थल बनाइने बताइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन चाहने धेरै पक्ष भएपनि कतारको प्रस्ताव ‘आकर्षक’ रहेको छ । यसअघि गत कार्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाँदा नै कतारले सो प्रस्ताव राखेको बताइएको छ ।

सरकारले निजगढ विमानस्थल बुट शैली (निर्माण, स्वामित्व ग्रहण, संचालन र हस्तान्तरण) मोडलमा निर्माण गर्ने निर्णय गरिसकेकोले कतारले सोही मोडल अनुसार निमार्ण गर्ने बताएको थाहा भएको छ ।

करिब २५ वर्ष अघिदेखि बनाउने भनिएको निजगढ विमानस्थलको लागि आ.व. २०६५/६६ देखि नियमित रुपमा बजेट बिनियोजन गरिंदै आएको छ ।

विमानस्थल बनेपछि यसले वार्षिक ६ करोड यात्रुलाई सेवा दिने बताइएको छ ।

 

ताजा खबर