किन दूध चोर्छन् दक्षिण भारतमा फिल्म प्रशंसक ?

२०७५ माघ ११ शुक्रबार २१:३७:०० मा प्रकाशित

भारतको तमिलनाडु राज्यका दुग्ध व्यवसायीहरूले उक्त राज्यमा कुनै नयाँ फिल्म रिलिज हुनुअघि दूध चोरी हुन घटना बढ्ने गरेको भनी प्रहरीसमक्ष उजुरी गरेका छन्।

केही निश्चित धार्मिक अवसरका बेला हिन्दूहरूले देवताको मूर्तिमा दूध चढाउने गर्छन्। तर उक्त राज्यमा फिल्मका प्रशंसकहरूले फिल्म 'हिट' होस् भन्ने कामना गर्दै फिल्मको पोस्टरमा चोरीको दूध चढाउन थालेका छन्।

चलचित्र प्रशंसकको यस्तो गतिविधिले आफूहरूलाई भने ठूलो हानि पुगेको दुग्ध व्यवसायीहरूले बताएका छन्।

नयाँ अवस्थापछि तमिलनाडुका दुग्ध व्यवसायीहरूको सङ्गठनले बुधवार प्रहरीमा उजुरी दर्ता गराएका छन् र फिल्म चलाउन दूध चढाउने अभ्यासमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन्। प्रहरीले तिनीहरूलाई आफूले आवश्यक कदम चाल्ने आश्वासन दिएको छ।

तमिल भाषामा पालभिशेकम् भनिने त्यस्तो दुग्धस्नान गराइँदा फिल्म रिलिज हुनुअघि फिल्मको ठूलो पोस्टर र फिल्मका सुपरस्टारहरूको तस्बिरको कटआउटलाई दूधले नुहाइदिने गरिन्छ।

पुरानो चलन

दुग्धव्यवसायीहरूको सङ्गठनका प्रमुख एसए पोन्नुस्वामीले बीबीसीसँग कुरा गर्दै त्यस्तो अभ्यास २० वर्षभन्दा अघिदेखि चलिआएको बताए।

"उक्त राज्यका फिल्म प्रशंसकहरू फिल्म कलाकारलाई भगवान्‌तुल्य सम्मान गर्छन् त्यसैले तिनीहरूलाई पनि भगवान्‌लाई जस्तै दूध चढाउने गरिएको हो।"

तमिलनाडु राज्यमा बिहान सबेरै ठूला ट्रकहरू प्याकेटमा भरिएको दूध ल्याइन्छ र पसलबाहिर यतिकै छाड्ने गरिन्छ।

ती पसल खुल्नु केही अघिसम्म त्यसरी छाडिएका दूधका प्याकेटहरूको सुरक्षा गर्ने कोही हुँदैन। फिल्म प्रशंसकहरूले त्यस्ता दूधका प्याकेटहरू चोरेर आफूलाई मनपर्ने कलाकारको फिल्मको पोस्टरमा खन्याउने गर्छन्।

दूध

मङ्गलवार मात्रै तमिल कलाकार सिलम्बरसनले उनका प्रशंसकहरूलाई सम्बोधन गर्दै एउटा भिडिओ सन्देश प्रसारण गर्दै, राजधानी चेन्नईमा जताततै उपलब्ध उनको तस्बिरको कटआउटमा दूध चढाउन आग्रह गरेका थिए।

उक्त भिडिओ सामाजिक सञ्जालमा "भाइरल" भएपछि दुग्ध व्यवसायीहरूले प्रहरीसमक्ष उजुरी गरेका हुन्।

रजनीकान्त भारतमा मात्रै नभई एशियामा नै सबैभन्दा धेरै पारिश्रमिक प्राप्त गर्नेमध्ये एक तथा ठूलो सङ्ख्यामा प्रशंसक भएका तमिल चलचित्रका सुपरस्टार हुन्छ।

उनका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै भने, "प्रशंसकहरूको समूहलाई ती कलाकारले नियन्त्रण गर्ने गर्दैनन्।"

उनले भने, "हामीले तिनीहरूलाई यस्तो प्रचलन छाड्न भन्ने गरेका छौँ, तर तिनीहरू यसलाई खुसी मनाउने एउटा तरिकाका रूपमा लिने गर्छन्।" (बीबीसी नेपाली सेवाबाट)

ताजा खबर