आदित्य पंचोली फेरी विवादमा, ज्यान मार्ने धम्की दिएको आरोप

२०७५ माघ ११ शुक्रबार १२:३५:०० मा प्रकाशित


एजेन्सी । विवादको घेरामा परिरहने बलिउड नायक आदित्य पंचोली फेरी विवादमा तानिएका छन् ।

मुम्बईमा कार मर्मतको काम गर्ने मेकानिकले पंचोली विरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएपछि पंचोली सम्बन्धी समाचारहरु बाहिरिन थालेको छ । प्रहरीमा उजुरी दिएका मेकानिकले पंचोलीको कार मर्मत र मोडिफाइ गरेको र त्यसको पैसा माग्दा आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।

करिब एकवर्ष अगाडि नै पंचोलीले आफ्नो कार मर्मत गर्न र स्वरुपलाई परिवर्तन गर्न मौसिम कादर राजापकर नामक मेकानिकलाई जिम्मेवारी दिएका थिए । उक्त कार मर्मत भएपछि पैसा माग्दा पंचोलीले पहिला आफुले कार चलाएर हेर्ने बताएका थिए ।

कार चलाउँदै घर लगेपछि पैसा दिन निहुँ खोज्दै तथानाम गाली गरेको र ज्यान मार्ने धम्की दिएको मेकानिकको कथन छ । उनका अनुसार पंचोलीसँग उनले २.८२ लाख भारु लिनुपर्ने रहेको थियो । फोन गर्दा पनि पंचोलीले अनेक तरहले आफुलाई गाली गरेको दाबी गरेका छन् ।

संचार माध्यममले यस घटनाबारे पंचोलीलाई सोध्दा, उनले सबै आरोप अस्वीकार गरेका छन् । उनले आफुले मेकानिकलाई सबै पैसा तिरिसकेको र प्रमाण स्वरुप आफुसँग बैंकको स्टेटमेन्ट पनि रहेको बताएका छन् । पंचोलीले मेकानिकले आफ्नो गाडी बिनाकारण एकवर्ष सम्म आफैंसँग राखेर आफुलाई दुख दिएको बताएका छन् ।

प्रहरीले भने यस घटनामा अनुसन्धान गरिरहेको बताएका छन् ।

 

 

ताजा खबर