फ्रान्सको भ्यालोरमा जमे नेपाली  मूर्तिकार 

२०७५ माघ ११ शुक्रबार ०८:१३:०० मा प्रकाशित

काठमाडौं ।  फ्रान्सको भ्यालोरमा आयोजित  ‘इन्टरनेशनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली धमाधम आफ्नो कला प्रदर्शन गरिरहेका छन् । आज शुक्रबार समापन हुने महोत्सवमा नेपाली समूहले ‘ह्वाइट ड्रप्स्’ शीर्षकमा हिउँमा मूर्ति बनाएको छ। 

माउण्ट एभरेस्ट टिम नाम राखिएको नेपालसहितको उक्त प्रतिस्पर्धामा विश्वभरिबाट आठ टोली छानिएको मूर्तिकार राजु पिठाकोटेले जानकारी दिए। चार हजार मिटर उचाइमा भएको महोत्सवमा प्रतिस्पर्धा गरेका नेपाली कलाकारले पुरस्कार जित्ने विश्वासका साथ काम गर्ने बताएका थिए। “हामीले सक्दो प्रयास गरेकाछौँ । पाँचौँ स्थानमा पर्न सकियो भने पनि हामीले बनाएका हिउँको कृति सङ्ग्रहालयमा सङ्गृहीत हुनेछ, जुन हाम्रा लागि सुखद समाचार हुनेछ,” पिठाकोटेले सुनाए । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्ष्य गरी आफूहरुले काम गरेको पिठाकोटेले बताए। 

उनले भने, “हिउँ कला हिमालय र हिमालसम्बन्धी फेस्टिभलमा बनाउने संसारकै अग्लो सगरमाथाको थिमसँग जोडिएको छ । हिउँका सेता थोपाहरुले व्यक्ति, समूह, गाउँ, शहर अनि पृथ्वीका नराम्रा कुरालाई शुद्धीकरण गर्ने र सुन्दर शान्त पृथ्वी बनाउन सन्देश दिने विश्वास हामीले लिएका छौँ ।”
 पिठाकोटे यसअघि भारत, बङ्गलादेश, दक्षिण कोरिया, जापान, इजरायल, मलेसिया, थाइल्याण्ड, रुस तथा रोमानियामा भएका मूर्ति कार्यशालामा सहभागी भइसकेका नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले बताए। 

 उपहारका रुपमा हिउँका थोपाहरुले फ्रान्समा प्राकृतिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक वातावरणमा अझ शुद्धता दिने विश्वास लिइएको अर्का मूर्तिकार मगरले बताए।  (तस्बिर सौजन्य: राजु पिठाकोटे ।)

ताजा खबर