अमेरिकी बजारमा भिडियो गेमको व्यापार अर्बौ डलर

२०७५ माघ १० बिहीबार १३:०२:०० मा प्रकाशित


सान फ्रान्सिस्को, १० माघ । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो ।

इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ ।

“मोबाइलमा होस् वा घरका कम्प्युटरमा सबै उमेर समूहका उपभोक्ताले भर्चुअल खेल निकै मन पराएको पाइयो,” एनपीडीका विश्लेषक म्याट पिस्काटेल्लाले बताए ।

इएसए र एनपीडीका अनुसार अमेरिकामा भिडियो खेलका लागि आवश्यक विद्युतीय हार्डवेयरको बिक्रीमा पनि निकै सुधार आएको छ । अघिल्लो वर्ष करिब ६ दशमलब ५ अर्ब अमेरिकी डलरको हार्डवेयर बिक्री भएकामा गत वर्ष ७ दशमलब ५ अर्ब अमेरिकी डलरको सामान बिक्री भएको छ ।

गत वर्ष पश्चिमा मुलुकको काउब्वाई संस्कृति झल्कने भिडियो खेल “रेड डेड रिडेम्पसन २” को बिक्री सर्वाधिक भएको थियो । दोस्रो र तेस्रो स्थानमा क्रमशः “ब्याक अप्स ४” र “कल अफ ड्युटी” रहेका थिए ।

इएसएका कार्यबाहक अध्यक्ष स्टान्ले पियर–लुइसले अन्तरक्रियात्मक मनोरञ्जनयुक्त सामग्री अमेरिकी बजारमा खुबै लोकप्रिय भइरहेको बताए।

अमेरिकामा करिब १५ करोड मानिसले भिडियो गेम खेल्छन् । यस उद्योगमा दुई लाख २० हजारभन्दा बढीले रोजगारी पाएका छन् । रासस/एएफपी

 

ताजा खबर