शिल्पा शेट्टीको दिवंगत पितालाई २१ लाख नतिरेको आरोप, 'साहु' द्वारा मुद्दा दर्ता

२०७५ माघ १० बिहीबार १२:३०:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायिकाद्वय शिल्पा र शमिता शेट्टी विरुद्ध ऋण नतिरेको भन्दै मुद्दा दर्ता भएको छ । अटोमोबाइल एजेन्सीका संचालक परहाद अमराले महानगरीय मजिस्ट्रेट अदालतमा उजुरी हालेको बताइएको छ ।

मीड डे ले जनाएअनुसार शिल्पाका पिता सुरेन्द्र शेट्टीले सन् २०१५ मा २१ लाख भारु परहादसँग ऋण लिएका थिए । १८ प्रतिशत ब्याज दिने शर्तमा परहादले सुरेन्द्र शेट्टीको कम्पनी कोरगिफ्टको नाममा उनले चेक जारी गरेका थिए ।

उक्त ऋण तिर्नुअघि नै ११ अक्टोबर २०१६ मा सुरेन्द्र शेट्टीको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात छोरीहरु शिल्पा र शमिता दुबैले ऋण तिर्न नखोजेको र श्रीमती सुनन्दा शेट्टीले पनि ऋण तिर्न वास्ता नगरेको परहादको दाबी रहेको छ ।

परहादको दाबी अनुसार सुनन्दा र शिल्पा दुबैजना सुरेन्द्रको उक्त कम्पनीमा साझेदार रहेको छन् । परहादले ऋण असुल गर्न कानूनी उपचार खोज्ने क्रममा २४ अप्रिल २०१७ मा कानूनी रुपमा ऋण चुक्ता गर्न सूचना पठाइकेको बताएका छन् ।

उनको मुद्दाको सुनावाइ गत डिसेम्बर ८ देखि चलिरहेको छ । तथापी शेट्टी परिवारबाट भने कसैले पनि उक्त मुद्दामा चासो दिएका छैनन् ।

शिल्पाको परिवार भने यो आरोप झुठ भएको बताइरहेका छन् । शिल्पाले पिताको कम्पनीमा आफु साझेदार नरहेको र यस्तो कारोबारको कुनै जानकारी नभएको बताएकी छिन् ।

 

ताजा खबर