यसरी सुध्रँदैछ निगम, तीन महिनामा दुई अन्तर्राष्ट्रिय गन्तव्य थपिने

२०७५ माघ १० बिहीबार ११:५४:०० मा प्रकाशित

काठमाडौं, १० माघ । अपेक्षाकृत अन्तर्राष्ट्रिय उडान थप्न नसकेर आर्थिक संकटमा परेको नेपाल वायुसेवा निगम (नेवानि) ले आगामी तीन महिनामा दुई नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेको बुझिएको छ । एयरबसको ए३३०–२०० सिरीजको दुईवटा वाइडबडी जहाजहरु अहिले नयाँ गन्तव्यको अभावमा पुरानै गन्तव्यमा उडाइरहेकोले पनि आर्थिक संकटमा परेको आलोचकहरुले बताइरहेका छन् ।

यस्तोमा निगमले आउँदो मार्चसम्ममा जापानको ओसाका र चीनको ग्वाङजाउमा उडान भर्ने दाबी गरेको छ । नेवानिका कार्यकारी अध्यक्ष मदन खरेलले सरल पत्रिकासँग कुरा गर्दै भने, ‘फेब्रअरी देखिनै नेवानिका जहाजहरु ओसाकाको लागि उड्नेछन् भने मार्चसम्म ग्वाङजाउ जानेछन् । यसको लागि निगमले गम्भिरता पूर्वक तयारी गरिरहेको छ । ’

यसरी लामो र नयाँ गन्तव्यमा निगको जहाज जान थालेको केहि समयमा नै नगद प्रवाह बढ्ने र यसले निगमलाई कर्मचारी संचयकोष र नागरिक लगानी कोषको किस्ता तिर्न सहज हुने पनि खरेलले बताएका छन् । 

पछिल्लो समय निगमले कर्मचारी संचयकोष र नागरिक लगानी कोषसँग लिएको ऋणको किस्ता तिर्न असमर्थ रहेको जनाएको थियो । सरकारले निगमको अवस्था तत्कालको लागि खराब भएकोले केहि समयको लागि ऋण स्वरुप किस्ता तिर्न सघाउने जानकारी दिइसकेको छ । 

ओसाका र ग्वाङजाउ उडानको सम्भावना नजिकिएसँगै निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सोल र इजरायलको तेल अभिवमा पनि उडान भर्ने योजना रहेको खरेलले बताएका छन् । यी गन्तव्यमा उडानको लागि काम सुरु भइसकेको पनि जानकारी दिइएको छ । 

पछिल्लो समय नयाँ गन्तव्य नपाएर मात्र निगम घाटामा गएको नभइ खर्च अत्यधिक हुनु पनि यसको कारण रहेको बताईएका छ । खरेलले भने, ‘निगमको खर्च पनि बढि रहेको छ । यसलाई घटाउन हामी योजनाबद्ध ढंगबाट काम गरिरहेका छौं । ’

वाइडबडी जहाजहरु आफ्नै इन्जिनियरहरुबाट मर्मत सम्भव नभएकोले हाल नेवानिले बेलायती कम्पनी बीसीटीलाई जहाज मर्मतको जिम्मेवारी दिइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त बीसीटीले निगमका जहाजहरुको लाइन मेन्टेनेन्सको काम गरिरहेको छ । यसका लागि निगमले मासिक करीब ८० लाख रुपैंयाँ खर्च गर्नुपरिरहेको छ । तर निगमले आफ्नै प्राविधिकहरुबाट यो काम गराउने र यो खर्च शतप्रतिशत घटाउने  तयारी गरिरहेको खरेलले बताए ।

बीसीटीको शुल्क महँगो भएको पनि निगमले आफ्नै इन्जिनियरहरुलाई यस कार्यमा सक्षम बनाउन तयारी गरिरहेको बुझिएको छ । निगमले आफ्नै इन्जिनियरहरुलाई लाइन मेन्टेनेस गर्न सक्षम बनाएर आफ्नो खर्च पनि कम गर्ने र अन्य एयरलायन्सको लागि लाइन मेन्टेनेन्सको काम गरि आर्थिक फाइदा लिने   योजना बनाएको थाहा भएको छ ।

निगमको नियमित खर्च पनि कम गर्ने र वाइडबडी र न्यारोबडी जहाजलाई अधिकतम क्षमतामा उडान गरेपछि निगम सुध्रन बेर नलाग्ने कार्यकारी अध्यक्ष खरेलको भनाइ छ । निगम व्यवस्थापनले नेवानिको व्यापार र साख बढाउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पनि गम्भीर छलफल गरिरहेको जानकारी दिएको छ । 

 


 

ताजा खबर