देवभूमिको नियोजित अपमान !

२०७५ माघ ९ बुधबार ११:५३:०० मा प्रकाशित

पृथ्वीनारायण शाहले काठमाडैां विजयलगत्तै परम्परादेखि पुजिँदै आएकी जीवित कुमारीलाई घुँडा टेकेर दर्शन गरे । नेवार समुदायको शाक्यकी छोरी कुमारीलाई यसरी दर्शन गर्नासाथ पृथ्वीनारायणलाई यहाँका नागरिकले तत्काल आफ्नो राजाका रूपमा स्वीकारे भन्ने आसयसहितका लेख-रचना पृथ्वीजयन्तीका दिन प्रकाशित पत्रपत्रिकासमेतमा पढ्न पाइयो । यसबाट बुझिन्छ-जमिन जितेकै आधारमा मात्र राजा भएका होइन रहेछन् उनी । जनस्वीकार्यता नभई जमिन जितेकै आधारमा नागरिक आफ्ना हुन सक्दैनन् । राजपाठ पनि दिगोदरिलो हुन सक्दैन भन्ने चेतना उनको दिमागमा रहेछ । नागरिकको मनोविज्ञानकोे उनी ज्ञाता नै रहेछन्।

नागरिकबाट आफ्नो विजयको अनुमोदन प्रारम्भिक दिनमै उनले कुमारीको दर्शनपछि नै गराएका रहेछन् । पृथ्वीनारायण दूरदर्शी राजनेतासमेत रहेछन् भन्ने यही एउटा उदाहरणबाट स्पष्ट हुन्छ । यसबाट बुझ्न सकिन्छ, मुलुकको पहिचान भनेकै यहाँको धर्मसंस्कृति नै रहेछ । देशको शासन सत्ता सम्हाल्ने प्रत्येक नेताले यसलाई मनन गर्नुपर्छ भन्ने संकेत पनि उनले गरेका रहेछन् ।

नेपाल मूलतः सनातन हिन्दू र बौद्ध धर्म दर्शनवेष्ठित प्राचीनकालदेखि नै स्वतन्त्र मुलुक हो । यहाँका प्रत्येक व्यक्ति, समुदाय र समाजका सबै व्यवहार हिन्दू र बौद्ध दर्शनको आड र आधारमा चलिआएका छन् । यहाँका धर्मावलम्बी सहिष्णु छन् । अति नै न्यून संख्यामा रहँदै बस्दै आएका अल्पसंख्यक अन्य धर्मावलम्बीको सम्मान मल्लकालदेखि नै हुँदै आएको छ । नेपाली विषेश गरी सनातन धर्मावलम्बीहरू धर्मान्तरणमा विश्वास गर्दैनन् । एक अर्काको आस्थाको सम्मान गर्ने नेपालीको स्वभाव र संंस्कृति नै हो । त्यसैले महाकवि देवकोटाले हृदयदेखि नै नेपाललाई सुन्दर, शान्त विशाल भनेका रहेछन् ।

मिसिनरीको प्रवेश

विसं २००७ पछि नेपाल विश्व रंगमञ्चमा प्रवेश गर्‍यो । त्यसपछिका दिनहरूमा क्रिश्चियन मिसिनरीहरूले नागरिकलाई शिक्षा र स्वास्थ सेवा दिने आवरणमा योजनाबद्ध ढंगले नेपाल प्रवेश गरे । यो क्रम क्रमशः बढ्दै गयो । ०४७ पछि कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू अबोध नेपालीलाई पश्चिमा धर्ममा रुपान्तरित गराउन देखिनेगरी क्रियाशील हुन थाले । आदिकालदेखि पूर्वीय धर्म, दर्शन र संस्कृतिबाहेक अरूको अस्तित्व उल्लेख्यरूपमा नभएको देशमा पश्चिमा धर्म संस्कृति विस्तार हुँदै जान थाल्यो ।

धर्म परिवर्तन गर्ने-गराउनेलाई सजाय गर्ने समेतको कानुन बनाइएको भएपनि राजनीतिक तहका कतिपय शक्तिशाली व्यक्ति र सरकार समेतले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न-गराउन रूची देखाएनन् वा उनीहरूको जोडबललाई सरकारले थेग्न सकेन । मानव अधिकारको दुहाई दिएर कतिपय मुलुकले धर्मप्रचार गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्ने यत्न गरे । यस्तो अवस्थामा त्यसको प्रतिरोध पश्चिमा कूटनीतिक तहबाट समेत हुन थाल्यो ।

विधर्मीको आर्थिक सहयोग माओवादी सशस्त्र संघर्षकालमा व्यापक भएको चर्चा एकातर्फ हुँदै थियो भने अर्कोतर्फ त्यसको खण्डनस्वरूप माओवादीहरू अति उग्र कम्युनिस्ट बन्दै गए । कम्युनिस्ट सिद्धान्तमा धर्मलाई अफिम मान्ने संस्कार र संंस्कृति हुने भएकाले पश्चिमा धर्मप्रचारकले धार्मिक प्रयोजनका लागि कसरी आर्थिक सहयोग गरे होलान् र भन्नेजस्ता हल्ला पनि चलाइयो । प्रेम र युद्धमा आफ्नो स्वार्थका लागि सबैथोक स्वीकार्य हुन्छ भन्ने कथन यहाँनेर स्मरणीय छ ।

क्रिश्चियन मिसिनरीहरूले कट्टर कम्युनिस्टहरूलाई सशस्त्र संघर्षको क्रममा लगाएको ऋण पुनस्र्थापना गरिएको संसद्बाट ०६३ जेठ ४ गते नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर तिरियो । अन्त्यमा मिसिनरीहरूले अन्तरिम संविधान ०६३ हुँदै ०७२ को नेपालको संविधानमा उनीहरूको धार्मिक आस्था लाद्न संविधानमै मजबुत व्यवस्था राख्न लगाए । धर्मको सम्बन्धमा क्रिश्चियनहरू माथि परिसकेका छन् । अल्पसंख्यामा रहेका मिसिनरीहरू प्रायः सबै हिन्दू र बौद्ध धर्मावलम्बीमाथि पैसाको बलमा हाबी हुँदै गएका छन् ।

धर्मनिरपेक्षता कसको स्वार्थमा

क्रिश्चियन धर्मलाई संविधानका प्रमुखमध्येकोे एउटा महत्वपूर्ण खम्बाका रूपमा स्थापित गराएर यहाँ धार्मिक विग्रहको लामो शृंखला रच्ने दूरासयका साथ युनिफिकेसन चर्चले हालै नेपालमा कार्यक्रम नै आयोजना गर्‍यो । सरकार प्रमुख र सत्ताधारी दलका अन्य नेता पनि त्यो कार्यक्रममा मुख्य अतिथि बने । त्यसले अन्य मिसिनरीहरूलाई समेत नेपालमा यस्तै कार्यक्रम गर्न उत्प्रेरित गरेको छ । यसले विगतमा गरेकै शैलीमा निर्वाचनताका राजनीतिक दलहरूले घरदैलो कार्यक्रम गरे झैं इसाई वा नेपालइतरका अन्य धर्म प्रचारकलाई धर्मप्रचारका लागि थप ऊर्जासहितको वातावरण निर्माण गरिदिएकोे छ ।

सशस्त्र प्रहरीका गुल्महरूको साविकदेखि रहँदै आएको नाम परिवर्तन उनीहरूकै जोडबलमा भएको र अबका दिनमा यो रोग नेपाली सेनाको गणसमेतमा नछिर्ला भन्न सकिँदैन । युनिफिकेसन चर्चको कार्यक्रमपछि भएको यो घटनालाई तत्काल परेको असर भन्नु अन्यथा हुनेछैन ।

सर्वोकृष्ट वैभवको सम्बद्र्धन र संरक्षण गर्ने जिम्मेवारी लिएकाहरूले नै नेपालको अस्मितामाथि किन र केका लागि धावा बोल्ने अवसर दिएका हुन् मिसिनरीहरूलाई ?

विश्वमा प्रमुख दुई सभ्यता छन्, पूर्वीय र पश्चिमी । यिनका विविध उपसभ्यता पनि छन् । तर पनि पूर्वीय सभ्यतामा खासगरी सनातन हिन्दू र बौद्ध धर्म संस्कृतिमध्येमा पनि विश्वका गिनेचुनेका पश्चिमा विद्वानहरूसमेतले सनातन वैदिक हिन्दू धर्म र यो धर्मसँग सम्बन्धित धर्मग्रन्थलाई विश्वको सबैभन्दा प्राचीन धर्मग्रन्थ मानिआएका छन् । एकातिर पश्चिमी दुनियाले यो सत्यलाई स्वीकार गरिएको छ भने अर्कोतर्फ पश्चिमा मिसिनरीलगायतले यस्तो प्राचीन सभ्यताको विरुद्धमा योजनाबद्धरूपमा दीर्घकालिक सोच र योजनासहित यहाँको धर्म, संस्कृति र परम्परामाथि थिचोमिचो गर्न युद्धस्तरमा लागिपरेका छन् ।

धार्मिक साम्राज्यवादको खतरा

राजनीतिज्ञ मोहनविक्रम सिंहद्वारा सम्पादित संघीयताविरुद्ध नामको पुस्तकमा अन्नपूर्ण पोस्ट् (आइतबारे परिशिष्टांक,२०६६ वैशाख १३) दैनिकमा प्रकाशित पंक्तिकारको अन्तर्वार्तालाईसमेत समावेश गरिएको रहेछ । ‘संघीयताका बारेमा जनमत हुनुपर्छ’ शीर्षकमा प्रकाशित मेरो लेखमा ‘अन्तरिम संविधानमा संघीयतालगायतका विषयको निर्णय गर्दा अँध्यारो कोठामा बसेर सीमित मानिसद्वारा गरियो ।

संसद्मा सांसदहरूलाई ह्विपका भरमा थपडी बजाएर अनुमोदन गर्न लगाएकै भरमा मुलुकलाई धर्मनिरपेक्ष भन्ने ? ’ अनि प्रधानमन्त्री धार्मिक संस्थाको अध्यक्ष पनि बन्नेजस्तो द्वैध चरित्र देखाइएको छ भन्नेसमेतका विचार समावेश गरिएको छ । त्यस्तै ०७१ पुस ६ गतेको गोरखापत्र दैनिकको मुखपृष्ठमा ‘धार्मिक सम्राज्यवाद फैलाउन खोजिँदैछ’ शीर्षकअन्तर्गत धर्मले मुलुकलाई जोड्छ र राजनीतिले तोड्छ भनिएको थियो । ठीक त्यही कार्य अहिले नेपालमा हुन खोजिरहेको छ ।

ओमकारपरिवारमा बसेका सबै एकतामा थिए, तिनलाई धर्म, जातीयता र क्षेत्रीयताको आगो सल्काएर फुटाउने ठूलो षडयन्त्र भइरहेको छ ,यो खतरापूर्ण कार्य हो भन्दै हाम्रा केही नेताहरू क्रिश्चियन धर्मको बलमा नेपालीलाई फुटाउने साधन (टुल्स) बनिरहेका छन् भन्नेलगायतका विचार समेत छापिएका छन् ।

पञ्चायतको जमानामा भित्ताको पनि कान हुन्छ । ढोका थुनेर पनि राजाका विरुद्ध केही नबोल्नु भन्थे । अहिलेको राजनीतिक व्यवस्थामा त्यसको ठीक विपरीत अवस्था छ । अहिले जसले जेजति गम्भीर विषय लेखे÷बोले पनि हुन्छ किनभने सरकार र यो देशका नेताको कान छैन । सुन्ने र कुरा बुझ्ने क्षमता नै छैन । भविष्यद्रष्टाको गुण हुनुपर्ने नेताहरूको नेत्र नै धमिलिएका छन् ।

चरित्र र नैतिकताको खडेरी

यतिबेला चरित्र र नैतिकताको खडेरी छ । विद्यार्थीलाई आफ्नो धर्म संस्कृतिका विषयमा आवश्यक ज्ञान दिलाउन छाडिएको छ । पृथ्वीनारायण शाह समेतलाई बिर्सन खोजिएको छ । सरस्वती वन्दनाका साथ कक्षामा अध्ययन÷अध्यापन गर्ने÷गराइने संस्कृति र परम्परा मास्ने काम हुँदै गएको छ । जनवादी शिक्षाका पक्षधरहरू अहिले कथित बुर्जुवा शिक्षाका नीतिनिर्माता हुन पुगेकै कारण विद्यार्थीलाई नेपाली परम्परा र परिवेशअनुसारको शिक्षादीक्षाबाट वन्चित गरिएको छ ।

राष्ट्रिय धरातलले सनातनदेखि आत्मसात् गर्दै आएको हाम्रो मौलिक पहिचानलाई क्षतविक्षत् गर्ने विधर्मीहरूको चलाखीपूर्ण घृणित जालोमा राष्ट्रिय स्वाभिमान पर्नु हरेक नेपालीका लागि सुखद् सन्देश हुन सक्दैन । हाम्रो उन्नत एवं सर्वोकृष्ट वैभवको सम्बद्र्धन र संरक्षण गर्ने जिम्मेवारी लिएकाहरूले नै नेपालको अस्मितामाथि किन र केका लागि धावा बोल्ने अवसर दिएका हुन् मिसिनरीहरूलाई ?

पौष शुक्लपक्ष पूर्णिमा (माघ ७) देखि महिनाव्यापी स्वस्थानी व्रत कथा प्रारम्भ भएको छ । बजारमा पाइने स्वस्थानीको किताबमा यिसू ख्रिष्टको कथाको अंश चलाखीपूर्ण किसिमले छापिएर बिक्रीवितरण भइरहेकोे छ । घरघरमा यी पुस्तकहरू धर्मप्रचारको सामग्रीका रूपमा पुगिरहेका छन् । राउटे बस्तीमा जबर्जस्ती धर्मप्रचार भइरहेका समाचार सामाजिक सञ्जालहरूमा भिडियोसहित व्याप्त भइरहेका छन् । अमेरिकास्थित नासाका प्रमुख लाइटफुट संस्कृत भाषाको महत्व बुझेर तल्लिनताका साथ त्यसको रस निचोर्दैछन् ।

नेपालमा संस्कृत भाषालाई सरकारीस्तरबाटै हेयको दृष्टिले व्यवहार गरिँदै आएको तथ्यले कतै हामी आफ्ना बालबच्चालाई आमाको दूध चुस्न छोडाएर कुनै अर्कै हिंस्रक जनावरको घुँडो चुस्न पठाएको जस्तो भएन र ?       

नेपालको संविधानमा सच्चा मातापिताका शब्द समावेश भएको भन्ने, भनाउने यूपीएफका नेपाल प्रमुख एकनाथ ढकालको प्रचारबाजीले नेपालको संविधानमा कसको र कस्ता शक्तिको आडमा धर्मनिरपेक्ष शब्द घुसाइ नेपाली समाजको उपहास गरिएको रहेछ भन्ने अब कसैले लुकाएर पनि लुक्ने विषय रहेन । प्रधानमन्त्रीको आमन्त्रण र कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको अग्रसरतामा जसरी धर्म संस्कृतिविपरीत काम भए यसले अन्त्यमा कसैको पनि भलो गर्दैन । ०६५ मा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पशुपतिनाथको स्थापित परम्परालाई क्रमभंग गरेपश्चात् तत्काल पद छोड्न बाध्य भएको दृष्टान्त स्मरण गर्नैपर्छ ।

अति गर्नु अतिसार नगर्नु

अति गर्नु अतिसार नगर्नु भन्ने नेपाली उखान छ । यो उखान भन्नेको पनि समय हो । उखान जेजति पनि भन्न पाइन्छ । तर उखान भनेर भनाइमा टुक्का जोडेर देश समृद्ध हुन सक्दो रहेनछ भन्ने सत्य साबित हुन अब धेरै कुर्नुपर्ने छैन । माथि भनिए झंै पृथ्वीनारायणको जनभावनाको सम्मान गर्ने शैलीलाई आत्मसात् गर्नुको साटो उनको अवमूल्यन गराएर, स्कुले विद्यार्थीलाई चरित्रवान बन्न सिकाउने विषय हटाएर, धर्म संस्कृति तथा नेपाल र नेपाली समाजको वैशिष्ठ्य नसिकाएर कसरी समृद्ध नेपालको परिकल्पना सम्भव होला ? अझै समय बाँकी छ ।

यस देवभूमिमा मुलुक सुहाउँदो विकास प्रारम्भ गर्न, नेपालीलाई सदाचारको मार्गतर्फ अग्रसर गराउन अनि अवान्छित बाह्य हस्तक्षेपबिनै आफ्नै बलबुतामा मुलुक चलाउन सकेमात्र आर्थिक विकासको बाटो पहिल्याउन सकिएला नत्र अहिलेको गति र गतिविधिले हाम्रो अस्तित्वमा प्रश्न उठ्ने ठाउँ प्रशस्त देखिएका छन् । दुईतिहाइ बहुमतको सरकार भनेर मात्र हुँदो रहेनछ । थिति बसाल्न नसकेपछि देखाउने बहुमतले कसैको हित हुँदो रहेनछ भन्ने शासकले जानिराख्दा उचित होला ।

-अर्याल वरिष्ठ अधिवक्ता हुन् ।  (माघ ९ को अन्नपूर्ण पोष्टबाट साभार गरिएको सामग्री)

ताजा खबर