‘चिनियाँ स्प्रिङ फेस्टिभल’: सात करोड ३० लाख चिनियाँले हवाई यात्रा गर्ने  

२०७५ माघ ८ मंगलबार २०:५८:०० मा प्रकाशित

क्वानझाओ । चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको छ । 

वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश चिनियाँ घर फर्कने गर्छन् । चाइना साउदर्नले सोमबार एक हजार आठ सय उडान भरेको र यसबाट तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको हो । 

क्वानझाओमा मुख्य कार्यालय रहेको उक्त विमानकम्पनीले आफ्ना ८४० विमानमार्फत विश्वकै तेस्रो र एसियाकै सवैभन्दा धेरै उडान भर्ने गर्छ । 

विमान कम्पनीले यात्रुहरूको यात्रा अनुभव तथा विमान कम्पनीको दक्षतालाई समयसापेक्ष बनाउन विभिन्न डिजिटल प्रविधिको प्रयोग गर्ने गरेको साथै यसले चीनको फैलँदो नागरिक उडड्यन सेवाको मागलाई समयसापेक्ष सम्बोधन गरेको कम्पनीको दावी छ । 

चाड अवधिभर अर्थात जनवरी २१ देखि मार्च १ सम्म विमानमार्फत सात करोड ३० लाख चिनियाँहरूले यात्रा गर्ने अनुमान गरिएको चीनको नागरिक उड्ययन प्रशासनले बताएको छ । यो गत बर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो । रासस

ताजा खबर