प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन

२०७५ माघ ७ सोमबार २१:१९:०० मा प्रकाशित

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ । उनलाई शिद्धगंगा मठका स्वामीका रुपमा चिन्ने गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । 

सन्त शिवकुमारको विगत दुई हप्तादेखि अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । कर्नाटकको राजधानी बेङ्गलोरदेखि झण्डै ७० किलोमिटर टाढा पर्ने टुमाकुरुमा रहेको अस्पतालमा उनलाई भर्ना गरिएको थियो । 

“आदरणीय सन्त स्वामीजीको आज बिहान ११।४४ मा निधन भएको छ । फोक्सोमा भएको संक्रमणको उपचार सफल हुन नसकेपछि उनको निधन भएको हो,” कर्नाटकका मुख्य मन्त्री एच।डी कुमारस्वामीले संचारकर्मीहरुसँग भने। 

स्थानीय सरकारी अधिकारीहरुले मंगलबार उनको अन्तिम संस्कार हुनसक्ने बताएका छन् । अन्त्यष्टिका क्रममा उनलाई राज्यको तर्फबाट पूर्ण सम्मान दिइने पनि अधिकारीहरुको भनाई छ । 

उनी लामो समयदेखि स्वासप्रश्वास सम्वन्धी समस्याबाट ग्रसित थिए। उनका समर्थकहरुले उनलाई “पृथ्वीमा भएका भगवान”का रुपमा व्याख्या गर्दथे । शिवकुमार स्वामीका लाखौको सङ्ख्यामा प्रवर्तक रहेका छन् । उनका समर्थकहरुले आफ्नो जीवनमा स्वामीकै कारण धेरै परिवर्तन र सकारात्मक प्रभाव परेको बताउने गर्छन् । 

उनलाई भारतका शिर्ष नेताहरुले पनि बेला बेलामा भेटेर आशिर्वाद लिने गरेका थिए भने अहिले उनको निधनको खवर पाएपछि दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत शोक सन्देश व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,“धर्मगुरू डा श्री श्री श्री शिवकुमार स्वामिगालुका कार्यले उनी गरीब र पीडामा बाँचेका नागरिकको मुक्तिका लागि जन्मिएका हुन्। उनले आफ्नौ सक्रियतामा गरिबी उन्मुलन, भोका जनता तथा सामाजिक न्यायका लागि प्रतिवद्ध धर्मगुरू थिए। यस घडीमा उनीप्रति सम्मानसहित र उनका विश्वभरी छरिएर रहेका अनगिन्ती प्रवर्तकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।” रासस

ताजा खबर