अब एयरपोर्टमा युवा कर्मचारी मात्र ?

२०७५ माघ ७ सोमबार १२:३५:०० मा प्रकाशित

काठमाडौं, ७ माघ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने पर्यटक तथा यात्रुहरुले कर्मचारीको अशिष्ट व्यवहार गरिरहेको गुनासो बढिरहेको छ । यात्रुहरुले विशेषगरी अध्यागमन कर्मचारीबाट नराम्रो व्यवहार भोग्नु परेको भन्ने क्रम बढ्दै गइरहेको बुझिएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने यस्तो व्यवहारले आउँदै गरेको पर्यटन वर्षलाई समेत नकारात्मक असर पार्ने विश्लेषण गरिएको छ । यसरी नकारात्मक व्यवहार गर्नेमा ‘उमेर ढल्केका’ कर्मचारी हुने गरेको गुनासो आएको मन्त्रालय श्रोतले बताएको छ ।

सोहीकारण देखाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गृह मन्त्रालयसँग युवा जनशक्तीलाई मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गर्न आग्रह गरेका छन् ।

गृहमन्त्री राम बहादुर थापासँग उनले विमानस्थलमा अध्यागमन कर्मचारीको विषयमा धेरै नै गुनासो आएकोले युवा जनशक्तीलाई उक्त क्षेत्रमा खटाउन अनुरोध गरेको थाहा भएको छ । युवा जनशक्ती आएमा अशिष्ट व्यवहारको साथै अध्यागमनमा हुने अनिमियततामा पनि कमि ल्याउन सक्ने विश्लेषण पर्यटन मन्त्रालयले गरेको छ ।

त्यस्तै विमानस्थलले पनि युवा जनशक्तीलाई नै भर्ना गर्ने र खटाउने रणनीति लिइएको बताइएको छ । युवाहरु आधुनिक प्रविधीसँग अभ्यस्त हुने तथा परिवर्तनको लागि तत्पर हुने गरेकोले पनि युवालाई नै विमानस्थलमा खटाउन प्राथमिकता दिइने जानकारी दिइएको छ ।

पर्यटन मन्त्रालयको अनुरोध पछि अध्यागमन विभागले पनि पछिल्लो समय युवालाई उक्त स्थानमा खटाउन प्राथमिकता दिने तयारी गरेको बुझिएको छ ।

देशमा प्रवेश गर्ने पर्यटकले सबैभन्दा सम्पर्क गर्ने भनेको अध्यागमन र विमानस्थलका कर्मचारी भएकाले पनि पर्यटन वर्षलाई सफल बनाउन यो नीति अख्तियार गरेको दाबी गरिएको छ ।

 

ताजा खबर