जहाजविहीन बनाएर निगम डुवाउने खेल

२०७५ माघ ६ आइतबार १७:२२:०० मा प्रकाशित

काठमाडौं । सन् १९६० अर्थात बिसं २०१६ मा स्थापना भएको नेपालको राष्ट्रिय ध्वजा बाहक नेपाल बायुसेवा निगम । हवाई क्षेत्रमा राष्ट्रिय ध्वजाबाहकको हैसियता नेपालको शान बनिरहेकोले पनि यसको विशेष महत्व छ । 

पर्यटन क्षेत्रमा राष्ट्रिय ध्वजाबाहक वायुसेवाको महत्व

पर्यटनका दृष्टिकोणले नेपाल निकै सम्भावना भएको देश हो । जति सम्भावना छ, त्यस अनुरुप आर्थिक लाभ लिन नसकेको यथार्थ हामी माझ छर्लंगै छ । यसका विभिन्न कारण मध्ये पर्यटक यहाँसम्म आउने हवाई सेवाको सुविधाको बिषय पनि निकै महत्वपूर्ण कारकका रुपमा रहेको छ । अष्ट्रेलियन विज्ञले पर्यटन क्षेत्र सम्वन्धमा विश्वव्यापी रुपमा गरेको एक अध्ययनलाई आधार मान्ने हो भने पर्यटकको मानसिकतालाई नकारात्मक असर पार्ने विभिन्न कारणमध्ये जान चाहेको ठाउँमा पुग्न लाग्ने हवाई भाडा सवैभन्दा महत्वपूर्ण हो । औसत आय भएका पर्यटकले लक्षित गन्तव्यसम्म पुग्न लाग्ने लागतको आधारमा त्यस स्थानमा जाने नजाने निर्णय गर्ने गरेको विभिन्न अध्ययनहरुले देखाइसकेको छ । अन्य देशको जहाज चढ्दै लामो तथा महँगो यात्रा गर्नुपर्ने हुनाले पनि नेपाल भने अझैपनि  महङ्गो गन्तव्यका रुपमा चिनिँदै आएको छ ।   

यो समस्याको समाधान भनेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सेवा अन्तर्राष्ट्रिय स्तरमा व्यापक रुपमा बिस्तार नै हो । किनकी कुनैपनि देशको ध्वजावाहक उँभो नलागी त्यस क्षेत्रको पर्यटन फस्टाउन सक्दैन । यो विश्वको अनुभव पनि हो । 

  प्रतिस्पर्धी निकायको अवस्था  

अव प्रश्न उठ्छ नेपाली ध्वजाबाहक बायुसेवा निगम आफ्नो ६० वर्षे यात्रामा पनि किन उड्डयन क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउन सकेको छैन त ? नेपालको वायुसेवा निगम र थाई एयरवेजले नेपालमा एकैदिन उडान सुरु गरेका हुन । कुनै समय एउटै क्षमतामा रहेका यी दुई फरक एयरलायन्सबीच आज कुनै तुलना गर्न नसकिने अवस्था भइसकेको छ ।  थाईले व्यवसायिक छलाङ्ग मार्दै विश्वका विभिन्न ९१ गन्तव्यमा उडान भरिरहेको छ । स्टार एयरलायन्स बनिसकेको थाई उत्कृष्ट सेवाको लागि पनि परिचित छ ।

अन्य एयरलाईन्सहरुले पनि समयक्रमसँगै आफ्नो व्यवसायीक दायरा बढाउँदै छन् । यसको विपरित नेपाल एयलाईन्स जहाजको अभावमा दिन प्रतिदिन खस्कँदो छ । आजको दिनमा निगमसँग जम्मा ५ वटा जहाजमात्र छन् ।  एयरबस कम्पनीका २ वटा न्यारोबडी, २ वटा वाइडबडी जहाज र एउटा बोइङ कम्पनीको न्यारोबडी जहाज । उक्त बोइङ जहाज पुरानो भएकोले पनि बिक्री हुने क्रममा छ ।  

अझ खस्कँदै निगम  

अहिले त्रिभुवन विमानस्थलको स्तर उन्नति भईरहेको छ । भैरहवा अन्तर्राष्टिय« र पोखरा क्षेत्रीय विमानस्थल बन्दैछन् । छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने तयारीमा छ । तर राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगम भने जहाज नभएर व्यवसाय अघि बढाउन नसकेर थला पर्दै छ । 
त्यस्तै जापान, कोरिया, कम्बोडिया, थाइल्याण्ड जस्ता सम्भावित पर्यटक भित्र्याउन सकिने गन्तव्यमा सरकारले वायु सेवा सम्झौतामा परिमार्जन सहित नवीकरण गर्ने देखि नयाँ सम्झौता गर्नेसम्मको काम गरिसकेको छ । 

यतिका बावजुद विमानको संख्या कम भएकाले ती सबै गन्तव्यमा जान नसक्नु, अति सम्भावना भएका क्षेत्रमा जहाज अभावले व्यापार बढाउन नसक्नुको कारणले गर्दा व्यापार माथि उठ्न नसकेको निगमको बुझाई छ । 

सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै छ । यसैलाई लक्षित गरी अवको १८ महिनामा ८ नयाँ जहाज खरिद गर्ने कार्यक्रम अघि बढ्दै थियो ।  जुन आन्तरिक उडानका लागि ६ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडानको लागि २ एयरबस न्यारोबडी विमान खरिद गर्न लागेको थियो । दुईवटा न्यारोबडी विमान थप भएसँगै गन्तव्य बिस्तार भइ व्यापार पनि बढेको देखिएकाले जतिसक्दो चाँडो विमानहरु थप गर्दै जाने रणनीति निगमको थियो । जहाज थप्दै व्यवस्थापन र सुरक्षामा केन्द्रित हुनका लागि निगमले विज्ञ परामर्शदाता समेत नियुक्त गरेको थियो । हवाई सुरक्षाको लागि पनि संसारकै नयाँ प्रविधि जडान गर्ने उसको रणनीति थियो । वाईडबडी आएपछि वर्षमा कम्तिमा पाँच अर्बको व्यापार बढ्ने प्रक्षेपण थियो । तर  २ वटा वाईडबडी किन्ने प्रकृयामा अनियमितता भएको भन्दै प्रश्न उठेपछि निगमको तयारीमा फेरी पनि तुषारापात भयो । थाहा भए अनुसार,अहिले अरु जहाज किन्ने सवै काम रोकिएका छन् । 

निगमले उडानका लागि जहाजै नभएर व्यवसायीक यात्रामा अघि बढ्न नसकेको भन्दै पटक पटक जहाज किन्ने भनेपनि यो प्रकृया सहज रुपमा अघि बढ्न सकेन । विभिन्न वहानामा यसको व्यवसायीकतालाई पछाडि धकेल्ने काम भयो । नेपाली विमानस्थलमा विदेशी एयरलाईन्स र नीजि एयरलाईन्सको दवदवा बढ्दै जाँदा नेपाल बायुसेवा निगमलाई भने कहिँ कतैवाट कमजोर बनाउने काम भएको जानकारहरु बताउँछन् । 
 

अव के होला निगमको यात्रा ? 

व्यवसायीक यात्राको ६० वर्षमा पनि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि जम्मा ५ वटा मात्र विमान छन् । जवकी यसैका प्रतिस्पर्धी अन्तर्राष्ट्रिय कम्पनीहरुले कैयांै अत्याधुनिक विमान अघि बढाएका छन् । तर साँच्चै चाहने र ईच्छा शक्ति हुने हो भने नेपाल बायु सेवा निगम पनि कुनै अन्य भन्दा कमी छैन । पछिल्लो समय यात्रु सुविधामा ध्यान केन्द्रित गर्दा यात्रुहरुबाट निगमले पाएको वाहवाहीबाट पनि त्यो पुष्टी हुन्छ । 

करिब ६० अर्ब रुपैयाँ सम्पति रहेको निगमलाई बजारमा सफल हुन त्यति गाह्रो छैन । गरीव देशको एयरलाईन्स पनि कसरी आर्थिक रुपमा समृद्ध हुन सक्छ भनेर हेर्न इथोपिएन एयरलाईन्सलाई लिन सकिन्छ । जुन गरीब देशको अत्यन्त सफल राष्ट्रिय ध्वजाबाहकका रुपमा परिचित छ । बोईङ ७८७ ड्रिमलाइनर जस्तो अत्याधुनिक वाइडबडी बिमान सहित ८० विमान सञ्चालन गरी अफ्रिकी महादेशको एउटा सफल र नाफायोग्य बिमानसेवाको रुपमा दरिएको छ ।

हुनत नेपालको नेपाल वायु सेवा निगमसँग पनि पञ्चायतकालमै युरोप र जापानमा समेत उडान भरी मुनाफा कमाएर कर्मचारीमा बोनस बाँडेको सुनौलो ईतिहास छ । २०४६ सालसम्म नेपालको बायुसेवा निगम दक्षिण एसियाकै सवैभन्दा राम्रो सेवा प्रवाह गर्ने एयरलाईन्स थियो । 

गत असार र साउनमा आएको वाईडवडिले केहि उत्साह थपेको छ । नेपाल वायुसेवा निगमलाई व्यवसायीक र प्रतिस्पर्धि बनाउन विमान थप गर्ने र राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा दरिलो उपस्थिति बनाउने योजना निगमको हुनैपर्छ । हैन भने जहिले निगम व्यवसायीकको असफलतामा भासिरहने तर नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था र नीजिले बढावा पाउने अवस्था अझै बढ्ने छ ।

ताजा खबर