धौलागिरि शिविरमा फोहरको डुंगुर 

२०७४ श्रावण २४ मंगलबार १५:५१:०० मा प्रकाशित

म्याग्दी, २४ साउन । धौलागिरि गाउँपालिका–४ मुदीस्थित धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउन सरोकारवाला निकाय उदासीन बनेका छन् । 

चक्रिय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी रुपमा फोहर फ्याँक्दै आएका छन् । अहिलेसम्म सो फोहर हटाउन जिल्लास्थित कुनै पनि सरोकारवाला निकायले चासो दिएका छैनन् । 

फोहर व्यवस्थापन हुन नसक्दा आधार शिविर क्षेत्र प्रदूषणको चपेटामा परेको छ । मुदीको बगरमा रहेको राउण्ड धौलागिरि युवा क्लबले फोहर हटाउनको लागि सरोकारवालाको ध्यानाकर्षण गराएको छ । फोहर हटाउन र व्यवस्थापन गर्न धौलागिरि गाउँपालिका र बेनीस्थित जिल्ला समन्वय समितिमा लिखित तथा मौखिक आग्रह गरे पनि सुनुवाइ नभएको क्लबका अध्यक्ष डिल पुनले बताए। 

क्लबले ताकेता गर्दासमेत पर्यटक लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीका गाईडले आधार शिविर क्षेत्रमा फोहर व्यवस्थापन गर्न आनाकानी गर्दै आएका छन् । आधार शिविरमा फोहर नफाल्न र अव्यवस्थित रुपमा नष्ट नगर्न क्लबले आग्रह गर्दै आएको छ । 

“पथ प्रदर्शकले अटेर गरी आधार शिविर क्षेत्रलाई प्रदूषित बनाइरहेका छन्,” अध्यक्ष पुनले भने ।  यस वर्ष क्लबले तीन पटक आधार शिविर क्षेत्रमा पुगेर ट्रेकिङ र आरोही कम्पनीका पथप्रदर्शकलाई सचेत गराएको छ । आधार शिविरमा वर्षौंदेखि पर्यटकले जथाभावी फोहर फाल्ने गरेका छन् । पर्यटकले प्रदूषण बढेको गुनासो गर्न थालेका छन् । 

“आधार शिविरमा पुगेका पर्यटक फोहर होइन, हिमाल हेर्न आएका हौँ भन्छन्, उनीहरुलाई लिएर जाने पथप्रदर्शकका कारण वर्षेनी आधार शिविरमा फोहर बढिरहेको छ,” क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले भने। पथप्रदर्शकले जल्ने र नजल्ने फोहर आगो लगाएर यत्रतत्र बनाएर फर्कने गरेका छन् । सरकारी तवरबाट निगरानी नहुँदा आधार शिविरमा फोहर थुप्रने क्रम बढेको हो । 

आफ्नो फोहर व्यवस्थापन नगरी पर्यटक र उनका पथप्रदर्शक फर्कने गरेका छन् । धौलागिरि हिमालको आधार शिविर पदयात्राको अन्तिम मानव बस्तीको रुपमा रहेको बगराको सो क्लबले यस वर्ष धौलागिरिको आधार शिविरसम्म पुगेर फोहरको अवस्थाबारे अध्ययन गरेको थियो । आधार शिविरमा पुग्ने पर्यटक र तिनका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खाजा प्याक गरिएका प्याकेट र प्लास्टिकलगायतको फोहर थुप्रिएको छ । यस क्षेत्रमा हेलिकोप्टरमार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै फालिएको छ । रासस

ताजा खबर