ब्रिटिस भर्जिन आइल्याण्डमा संलग्नता भएको पुष्टी गर्न चौधरीको चुनौति

२०७५ माघ ६ आइतबार ११:५७:०० मा प्रकाशित

काठमाडौं । उद्योगपति अरुण कुमार चौधरीले आफू र परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी गरिएको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


उद्योगपति चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू र परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्– ‘जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ ।’ 

चौधरीले भनेका छन्– ‘खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले ‘यस्तै सूचनालाई आधार बनाई ३-४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो, त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्वविदितै छ । सीआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६÷७ वर्ष पहिला स्ट्राइक अफ भइसकेकोछ ।’भनी आफ्नो धारणा विज्ञप्तिमा उल्लेख गरेका छन् । 

चौधरीले आश्चर्य व्यक्त गर्दै भनेका छन्– ‘कम्पनीको सेयरहोल्डर भनी मेरा छोराहरुको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो । हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं । ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानविनको विषय बन्नसक्ला ।’

त्यसैगरी, ट्याक्स हेवन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत आफ्नो परिवारलाई जोडिएकोमा ती दुई कम्पनी कम्पनीमा आफ्नो साझेदारी नरहेको भन्दै चौधरीले–‘मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिंग्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन । यो विषयले आम जनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ । अहिलेसम्म मेरो नेतृत्वमा संचालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी(एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरुमा म र मेरो श्रीमती बाहेक अरु कसैको लगानी समेत छैन । मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस्’ भनी स्पष्ट पारेका छन् ।

चौधरीले विज्ञप्तिमा भनेका छन्–‘म अटो मोविल्स, शिक्षा, हस्पिटालिटि, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी÷व्यक्ति हुँ । मैले मेरा कम्पनीमार्फत मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छु भने करोडौं रुपैयाँ राजश्वमा योगदान समेत गर्दै आएको कुरा सर्वविदितै छ  ।  विदेशमा लगानी सम्बन्धीे ऐनको व्यवस्थालाई म र मेरो परिवारले पूर्ण रुपमा पालना गर्दै आएको र ऐनको आदेश वा निर्देशनको अक्षरंशः पालना गर्ने यसै विज्ञप्तिमार्फत पुनः एकपटक प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’

 
 

ताजा खबर