मैले अपनाउन नसकेको “नेपालको संविधान”

२०७४ श्रावण २४ मंगलबार १२:२३:०० मा प्रकाशित

लामो समय पछि स्थानीय चुनाव भयो , २०७४ साल वैशाख ३१ गते । आफैं समीक्षा गरें अनि गईन भोट हाल्न । जिल्ला प्रशासन कार्यायल, काठमाण्डौबाट जारी नागरिकताको कारणले म काठमाण्डौबासी भएँ तर सायद म नेपाली हुन सकिन । म नेपाली हुन सकिन वा मलाई नेपाली हुन दिईएन ! त्यसैले त होला मैले कोही योग्य उम्मेद्वार नै पाईन भोट हाल्न । भोट हालिन अर्थात् संविधानले सुनिश्चित गरेको बालिक मताधिकार प्रयोग नै गरिन ।

कुनै ठूला भनिएका राजनैतिक दलसँग आवद्ध नभएको कारणले होला स्थानीय चुनावको केही समय अगाडि देखि नै मन अशान्त रह्यो, अन्यौलमा रह्यो र अन्त्यमा मत “दान” नगर्ने निर्णयमा पुगें । हिन्दू संस्कारमा हुर्किएँ, त्यसैले होला दान दिएको बस्तु फिर्ता लिन नहुने र कर्मबाट फलको आशा नगर्ने शिक्षाका साथ चलें । हो, त्यसैले मैले मतदान गरिन । 

तत् समयमा मेरा निकटका व्यक्तिहरुले “तपाईंले कहाँ यस्तो भनेर हुन्छ” भनी नसम्झाउनुभएको त होइन तर उहाँहरुको आग्रह, प्रयास अनि दिशानिर्देशलाई अपनाउन सकिन । मतदान कै दिन पनि बिचार गरें अनि आप्mनो धारणा सहित सामाजिक सञ्जालमा लेखें पनि आपूmले मतदान नगर्नुको कारण । ती कारण थिए– नेपालका बेचिएका नदि नाला, अरुण तेस्रो जस्ता परियोजना, अनाहकमा ज्यान गुमाएका करिब सत्र हजार निर्दोषहरु, मेरो आस्थाको धरोहरलाई बेचिएका घटना अनि दाताद्वारा सञ्चालित नवझुण्ड । चुनाव भयो नतिजा आउँदै गए । कुनै सरोकार नै महसुस भएन । मन मरेको विषयमा आखिर सरोकार होस् पनि कसरी ?

चुनावको नतिजासँगै आए महँगा फोन अनि गाडीका कुरा । देश कहाँ पुग्यो थाहा छैन तर अब गाउँगाउँमा सिंहदरवार पुग्न लागेको समाचार   सुन्दैछु । चुनावमा बढी भोट प्राप्त गरी सर्वोकृष्ट ठहर हुँदै जन्म लिएका नवराजाहरु मार्फत देशैभरी सिंहदरबार बन्दैछ रे ! बाटो एउटै भए पनि महँगा ठूला गाडी गुड्ने बाटोमा चढेर कोही नवनिर्मित सिंहदरवारमा जानेछन् भने कोही त्यही बाटोबाट नफर्कने गरी हराउँदै छन् ।

यही सिंहदरवार र बाटोका बिषयबीच आयो वडा नं. १९ । तमासा हेरें, बुझ्ने प्रयास गरें तर अहँ सकिन बुझ्न। जुन कारण दिई भोट हाल्न गएको थिईन त्यही विश्लेषण नै मेरो लागि स्थापित भएको महसुस गरे । मेरो विश्लेषणलाई मेरो लागि स्थापित गराउनु बाहेक मसँग केही विकल्प छैन । कारण न मेरो भनाई सुनिन्छ न मेरो धारणाको कदर हुन्छ । त्यसैले मेरो धारणा कसैलाई सुनाउनु पनि छैन ।

जुन समय कानून विषय लिई पढ्न थालें नेपाल अधिराज्यको संविधान, २०४७ का धारालाई, केलाएँ, छलफल गरें आत्मासाथ गरें । नेपाल अधिराज्यको संविधान, २०४७ मा जुन अपनत्व महसुस हुन्छ त्यस पछिका संविधानमा महसुस गर्न सकिन । भनिन्छ नि पहिलो प्रेम १ सायद नेपाल अधिराज्यको संविधान मेरो लागि पहिलो थियो जसलाई नजिकबाट नियालेको थिएँ । साथै ५ वर्षे कानूनको पढाईले होला भन्ने पनि थियो । पढाई सिद्धाएँ, पेशामा आउने समयमा राज्यले मलाई उपहार दियो नेपालको अन्तरिम संविधान, २०६३ । उपहार भएकोले अवज्ञा गर्न पनि सकिनँ ।
आफ्नो  नलागे पनि हाम्रो भन्ने कथनलाई अँगाल्दै त्यसैलाई बोकेर पेशामा लागें । वास्तबमा मेरो बाध्यता पनि थियो नेपालको अन्तरिम संविधान, २०६३ लाई लिएर हिँड्नु । जुन संविधानमा अपनत्व थियो त्यो त इतिहास बनेको थियो ।

अन्तरिम संविधानलाई विस्थापन गर्न अर्को नाटक मञ्चन हुँदै थियोः संविधान सभाको चुनाव । यी दुवै चुनावमा भने मैले मतदान गरेकी थिएँ । अझ पहिलो संविधान सभाको चुनावमा त चुनाव अनुगमनको परियोजना अन्तर्गत विदेशीको दान पनि लिएँ मासिक तलबको रुपमा । मेरो आस्था रेटिँदै थियो अनि म साक्षी बस्दै थिएँ रेट्न तयारी गरिरहेका व्यक्तिहरुलाई चुन्न हुन लागेको चुनाव । यसैबीच एउटा झिनो आशाको रुपमा मेरो हातमा प¥यो मेरो आस्थालाई सम्बोधन गरेको कुनै एउटा दलको चुनावको घोषणा पत्र । अरु केही सोचिनँ । दलको नाम पनि कण्ठ गरिन । चुनाव चिन्ह याद गरें अनि दिएँ मेरो “अमूल्य” मत । नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम दुई वर्षमा जन्मनुपर्ने संविधान जन्मन सकेन । कारण के थियो सम्बन्धितलाई थाहा होला । पटक पटक म्याद थपियो । म्याद थपिए उपर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता पनि भए । तर एउटै परिस्थितिमा सदर भएका म्याद थप अब सदर भएन र सदर नहुने ठहर गर्ने व्यक्ति कै नेतृत्वमा मञ्चन भयो अर्को नाटकः संविधान सभा चुनाव – भाग २ ।    भाग –२ मा पनि त्यही माथि कै चिन्हमा मतदान गरें । तर म जस्ताले आस्थालाई बचाइ राख्न दिएको मतमा विवादित नातेदार संसदमा पुराइए अनि मोह भंग हुँदै थियो। त्यही बीच नयाँ नाटक मञ्चन भयो जनताको अभिमत लिने । सार्वजनिक बिदा नै घोषणा गरी अभिमत लिइयो ।

उक्त अभिमतको प्रतिवेदन के आयो कतै पाए अवश्य पढ्ने छु । तर ठाउँ ठाउँमा गई संकलन गरिएको अभिमतको कुनै सम्बोधन भएन र आयो “नेपाली” बाहेकले इच्छाएको संविधान । मेरो आस्थालाई बचाउन जसलाई चुन्ने प्रयास गरेको थिएँ, जसको चुनाव घोषणा पत्रमा म भुलेको थिएँ, म जस्ता लाखौंको भोट बेचियो । कहिँ गुहार माग्न सकिन । कानूनको विद्यार्थी भएर पनि केही गर्न सकिन, न मेरो भोट बेच्नेलाई न मजस्ताको धारणा समेटिएको प्रतिवेदन प्रकाशनमा नल्याउनेलाई ।

कारण ? कारण त कसले दिन सक्ला र मलाई ? मेरो संविधानले भन्दा हालको “नेपालको संविधान”ले धेरै अधिकार दिएको छ हामी जनतालाई । खोई के के हो के के अधिकार । जसले जे माग गरे सबै प¥यो । परेन त म जस्ताले चाहेको राष्ट्र प्रमुख, हिन्दू राष्ट्र र एकात्मक राज्य व्यवस्था । 

जब संविधान निर्माणमा नै मेरो मतको कदर भएन भने किन दिनु स्थानीय चुनावमा मेरो मत । मेरो मत बिक्री भएका व्यक्तित्वहरुको लागि झिनो होला तर मेरो लागि अमूल्य छ । मलाई सिकाइएको नीतिमा भनिएको छ जहाँ आफ्नो कदर हुँदैन, सम्मान हुँदैन त्यहाँ अनुपस्थित नै रहनु । हो यही नीतिमा रही मैले स्थानीय चुनावमा आफ्नो उपस्थिति जनाइन । आफ्नो अमूल्य मत कसैलाई दिइन । सरोकार पनि राखिन । त्यसैले मेरो काठमाण्डौमा कसले जित्यो नाम कण्ठ पारेको छैन । म काठमाण्डौको मात्र होइन म नेपालको हुँ । नेपाली हुँ । मेरो नेपाललाई सयौं लोभीपापीले लुछेको होइन एउटै सूत्रले बाँधेको हेर्न चाहन्छु ।

हजारौं दरवार निर्माण गर्न हामी सक्षम छैनौं । सयौं राजा पाल्न हामी सक्षम छैनौं । हामी बाँडिएर बाँच्न सक्षम छैनौं । यही अक्षमताले हामीलाई दाताको दास बनायो । हामी दास भयौं अनि बोल्न थाल्यौं दाताको भाषा । त्यसैले सयौं राजालाई जन्माइरहेका छौं । उनीहरुको पालनपोषणको जिम्मा म जस्तालाई जबरजस्ती बोकाईएको छ । म यो जबरजस्तीको जिम्मेवारी लिन्न भन्न पाउँदिन, कारण यी जिम्मेवारी विरुद्ध मेरो कुनै अधिकार नै छैन । न कुनै कानूनमा न नेपालको संविधानमा । मलाई नेपालको संविधानले धेरै हक दिएको छ तर छैन त केवल जबरजस्ती बाध्य पारिएको पालनपोषण विरुद्धको हक । मैले नचुनेका राजाहरुको सवारीमा म अडिनुपर्छ । सार्वजनिक बिदा मनाउनु पर्छ । म विवश भएर हेर्नुपर्छ । मेरो आस्थाको अस्तित्वलाई मेटिएको संविधानलाई लिएर हिँड्नुपर्छ । मेरो भावनालाई न नेपालको संविधानले सम्बोधन गर्छ न कुनै दाताले । मेरो हुनुपर्ने नेपालको संविधानले दाताको बोली बोलेको देख्छु अनि म जस्ताले निरीह भएर हेरेको देख्छु ।  तसर्थ नेपालको संविधान मैले हारेको संविधान; नेपालको संविधान मैले अपनाउन नसकेको संविधान ।

पशुपतिनाथले हामी सबैको रक्षा गरुन् !

ताजा खबर