रकम कुम्ल्याउन मिल्ने पेशा

२०७५ माघ ५ शनिबार २०:२५:०० मा प्रकाशित

ए, खोपकेका सरहरु, २ दिन अगाडिमात्र नेपालका सबै पत्रिकाको एक दुई पेजमा तपाईंहरुको खोजले पत्ता लगाएको भन्ने लेखले राम्रै स्थान पाएको देखें । खोपकेले १ वर्षको अनुसन्धान पश्चात पत्ता लगाएको खोज भन्ने पनि उल्लेख गरेको पाईयो । अलि हल्का भएन र, एक वर्षको अनुसन्धानबाट पत्ता लगाएको लेख पत्रिकामा छपाएको विवरण झुट हो भनेर १ दिन अगाडि (हिजो) र आज पनि मात्र मेल नखाएको भन्ने भनाई सम्वन्धी लेख पढ्न पाईयो । उहाँहरुको भनाई आफ्नो नाममा स्विजरलेण्डको बैंकमा रकम नभएको र टेक्स हेवनमा कर छल्ने प्रयोजनका लागि कम्पनी खडा नगरिएको धारणा सार्वजनिक गराउनु भएको छ । अनि खोज पत्रकार केन्द्र (खोपके) नाम भएकाले जहाँ मनलाग्यो त्यहिं खोज्दै हिँड्न मिल्छ र तथ्यमा आधारित हुनु पर्दैन ? आफुले खोलेको पोलको वास्तविकता तथ्य हुनु पर्दैन ?

५५ जना नेपाली नागरिकको उतैको बैंक खातामा करिब ५२ अर्व जम्मा भएको पत्ता लागेको आदि ईत्यादि । ए खोपकेका सरहरु हो तपाईंहरुलाई थाहा छ, नेपालमा एक जना सरकारी पियनले पनि मालदार अड्डामा जागिर खाए वापत करोडौंको सम्पत्ति कुम्ल्याउन मिल्छ यहाँ । खरिदार, नायव सुव्वा भनेको त ठूलै सरमा गनिन्छन् । नेपालमा सरकारी सेवामा छिरे पश्चात कति करोड कुम्ल्याउन मिल्छ भन्ने वारेमा अनुसन्धान गर्दा विश्व नै चकित पार्न सक्ने राम्रा राम्रा उदाहरण निस्कन्छन यहाँ । 

हाम्रो देशमा सानातिना व्यवसाय गरेर सफल भएका उदाहरणहरु ज्यादै न्युन रहेको छ । विश्वव्यापी मान्यता भनेको व्यवसाय नगरीकन राम्रो धन आर्जन गर्न सकिँदैन भन्ने विषय सबैलाई थाहा हुनु पर्ने हो तर हाम्रोमा त्यस्तो पाईंदैन । आजसम्मका उदाहरण हेर्ने हो भने हाम्रो देशमा धन आर्जन गर्नका लागि सरकारी जागीर र राजनीतिनै गर्नु पर्छ जस्तो लाग्दछ ।

लेखा अधिकृतले २ वर्षको सरकारी सेवा गर्दा ७ करोड कुम्ल्याएछ भन्ने पनि पत्रिकामा पढ्न पाईने देश हो यो । उपसचिबको हैसियत उनले यदि चाहने हो भने अधिकृत भन्दा कैयौं गुणा कुम्ल्याउन मिल्ने हैसियत हुन्छ, अनुसन्धाननै गर्ने हो भने त्यस्ता उदाहरणीय व्यक्तिहरु हाम्रो समाजमा यत्रतत्र मिल्ने छन् । सहसचिब लेवलको कुरा गर्नु हुन्छ भने उच्च स्तरको उदाहरण पेश गर्दै एक जनाले ११ अर्व भन्दा माथिको भ्रष्टाचार काण्ड सुनेको धेरैनै भैसक्यो तर सो केश आज कुन कुनामा सेलाएर बसेको छ त्यो चाहिं थाहा भएन ।

यदि चाहनेनै हो भने सचिव तहकाले यो देशमा कति कुम्ल्याउन मिल्ला ? सांसदज्यू चुनावमा करोडौं खर्च गरेर जन प्रतिनिधि हुनु भएको छ । उहाँहरुलाई आफ्नो खर्च उठाउन र नाफा कमाउनका लागि कति कुम्ल्याउनु पर्ला ? मन्त्रिले एक झ्यापमा कतिसम्म कुम्ल्याउन मिल्ला ? राजनैतिक दलका गन्यमान्यहरुको विगत र वर्तमान हेर्दा उहाँहरुले लगानी विनाका व्यवसायबाट रकम कुम्ल्याएर त्यति धनी हुनु भएको होला ?

कुलमान घिसिङ् सर भन्दा अगाडिका कार्यकारी लगायतका विजुली चोरीमा संलग्न सापहरुले कति कुम्ल्याए होलान् ? आज जिवितै ती महासयहरुको बारेमा सबैले विर्सिए जस्तो छ । यदि खोज अनुसन्धान गर्ने हो भने त्यहाँ मिल्ने थियो राम्रो उपलव्धि । कति अर्व कुम्लाए होलान् ती सापहरुले ? कतिले बाँडेर खाए होलान त्यति ठूलो रकम ? वर्ष दिननै लागे पनि खोपकेको अनुसन्धान त्यतातिर जाँदा पाठकका लागि राम्रो खुराक हुने थियो जस्तो लाग्छ ।

खोपकेका सरहरु, तपाईंले पत्ता लगाएको ५५ जनाको करिब ५२ अर्व भनेको एक जनाको भागमा १ अर्व पनि पर्दैन । २ दिन अगाडि पत्रिकाका पाना पल्टाउँदा के केन भएछ भनेर पढेको त खासै उपलव्धिमूलक खोज लागेन । यदि विदेशमा पत्ता लागेको भनेको रकम नेपालबाट राष्ट्र बैंकको स्वीकृती लिएर विदेशमा नै लगानी गरेर आर्जन गरेको भएमा त्यो कुनै समस्या हो जस्तो लाग्दैन ।

नेपालको राष्ट्र बैंक जिउँदै छ, अर्थ मन्त्रालय पनि छ, अनि पैसा सार्ने नेपालका बैंकहरु पनि जिउँदै छन् । सो रकम नेपालको विमानस्थल हँुदै उतातिर सारेको हो भने पक्कै भिआईपी भन्नेले प्रयोग गर्ने बाटोबाट मात्र त्यो सम्भव छ । त्यसको बारेमा बोराका बोरा सुन सजिलै छिराउन मिल्ने हाम्रो विमानस्थलका संयन्त्रलाई थाहा होला । यसको बारेमा अनुसन्धान गरेको भए समय सापेक्ष हुने थियो की खोपकेका सरहरु ?

हाम्रो देशमा अन्य व्यवसाय भन्दा फष्टाएको व्यवसाय सरकारी जागीर, राजनीतिबाट अन्यबाट भन्दा सजिलैसँग रकम कुम्ल्याएका उदाहरणहरु देख्दा यस देशको सुन्दर भविष्य हेर्न धेरै समय पर्खनु पर्ने देखिन्छ । खोपकेको अनुसन्धान त्यतातिर पनि जाओस् ।  

ताजा खबर