सुन्दर हुन रहर छ ? बुझौं सौन्दर्यको अर्थ  

२०७५ माघ ५ शनिबार ०८:५७:०० मा प्रकाशित

सौन्दर्य प्रसाधनको बिषयमा प्रश्न छ। वास्तविकतालाई सजावटले रोकेको हुन्छ। बाहिरबाट हामी सजाउँछौं । तर भित्र कस्तो छ? उसको वास्तविक स्वरुप कस्तो छ? सौन्दर्य प्रसाधनको प्रयोग गरेर त वास्तविकतालाई लुकाइन्छ । के यो ठीक हो ? जस्तो छ त्यस्तै देखाउनुचाहिँ पो राम्रो हो त । आफ्नो कुरुपतालाई बाहिरबाट छोपेर के हुन्छ र ? बाहिरका सजावटहरु जुन दिन हट्यो, त्यो दिन वास्तविक रुप त देखिहालिन्छ । त्यसैले यो अस्थायी सुन्दरताको प्रयोग गरेर के फाइदा होला र ? प्रश्न यस्तो छ । 

फाइदा हुन्छ । सुन्दर बन्नुपर्छ । सौन्दर्य नै ईश्वर हो । ईश्वर सुन्दर छ । सौन्दर्य मन नपर्ने मानिस कोही पनि छैन । सुन्दरता सबैलाई मनपर्छ । सबैलाई मनपर्ने कार्य गर्नु गलत हैन । त्यसैले आफूलाई सजाउनु शुभ हो । जति सकेको राम्रो बनाउनुपर्छ । वास्तविकता के हो त्यो हामीलाई थाहा छैन । सत्य के हो हामीले बुझेकै छैनौं । शरीर जस्तो देखिन्छ त्यो सुन्दरता हो-हैन, हामीलाई थाहा छैन । त्यसैले कुरुपता छोपियो या सुन्दरता छोपियो, त्यो पनि हामी भन्न सक्दैनौं । जस्तो हामी देख्छौं, त्यस्तो हुँदैन । कुनै मानिस हेर्दाखेरि हामीलाई असाध्यै मनपर्छ, तर व्यवहार गर्दै जाँदा उसको व्यवहार राम्रो छैन भने त्यही मान्छे हामीलाई नराम्रो लाग्न थाल्छ । त्यसैले सौन्दर्य त व्यवहारमा हुन्छ । बाहिर हेर्दाखेरि असुन्दर थियो, त्यसलाई सजाएर सुन्दर बनाएर आफ्नो वास्तविक रुप ढाक्यो भन्न मिल्दैन । त्यो त ढाक्नैपर्छ ।

फोहोरलाई फोहोर रहन दिनु बुद्धिमता होइन । फोहोर सफा गरेर सुन्दर बनाउनुचाहिँ बुद्धिमता हो र जहाँ सौन्दर्य छ, त्यहाँ ईश्वर छ । जहाँ सौन्दर्य छ, त्यहाँ सम्पन्नता छ । जुन गाउँ सुन्दर छ, जुन देश सुन्दर छ, त्यो सम्पन्न छ । जुन शहर फोहोरी छ, त्यहाँका मानिसहरु दरिद्र छन् । यो सौन्दर्य सम्पन्नतासँग जोडिएको छ । सम्पन्न भन्नु र सुन्दरता भन्नु एउटै नै हो । जहाँ सौन्दर्य छ, उहीँ सम्पन्नता छ, जहाँ सम्पन्नता छ फेरि उहाँ सौन्दर्य छ । कुनै पनि सम्पन्न ठाउँमा जानुभयो, सम्पन्न व्यक्तिको घरमा जानुभयो भने सजाइएको हुन्छ । जे–जस्तो सामान छ, त्यसलाई मिलाएर राखिएको   हुन्छ ।

सौन्दर्यको अर्थ यो हैन कि मूल्यवान् वस्तुहरुलाई सजाएर राख्नु । सौन्दर्यको अर्थ हुन्छ, जे–जस्तो वस्तु आफूसँग छ, त्यसलाई मिलाएर राख्नु, क्रमबद्ध बनाएर राख्नु, लयबद्ध बनाएर राख्नु र सफा राख्नु । जहाँ सफाइ छ, त्यहाँ सौन्दर्य छ । जहाँ सौन्दर्य छ, त्यहाँ सम्पन्नता छ । र जहाँ सौन्दर्य छ त्यहाँ स्वास्थ्य छ र जहाँ सौन्दर्यता छ, उहीँ खुशी र आनन्द छ । हामीले खोजेको त आनन्द हो । शान्ति हो । न त फोहोरमा बसेर कोही शान्त हुन सक्छ, न त फोहोरमा बसेर कोही स्वस्थ हुन सक्छ, न फोहोरमा बसेर कोही आनन्दित हुनसक्छ । 

आफूलाई राम्रो बनाउनु, सजाउनु धर्म हो । आफ्नो घरको सजावट, सडकहरु, आफ्नो शहर, नदीनालाहरु, आफ्नो देशलाई सिँगार्नु धर्म हो । त्यसैले सजावट गर्नु गलत हैन । तर यतिले मात्रै चाहिँ पुग्दैन । बाहिर शरीरलाई सजाएर मात्रै चाहिँ पुग्दैन । बाहिरको सजावट क्षणिक हुन्छ । घर त हामीले खूब–खूब सजायौं, तर घरमा बस्ने मानिसहरुको बानी व्यहोरा ठीक छैन, अरुलाई होच्याउने, अरुलाई हेप्ने, दुःख दिने, नराम्रो बोली बोल्ने, यस्ता मानिसहरु त्यो घरमा बस्छन् भने जतिसुकै घर सजाए पनि घर राम्रोे हुँदैन । त्यहाँ जान कसैलाई मन लाग्दैन । त्यो सुन्दर ठाउँमा प्रवेश गर्न पनि मन लाग्दैन । किनभने त्यहाँभित्र बस्ने मानिसहरुको व्यवहार नराम्रो छ भने घर जतिसुकै सजाएर राखिएको होस्, कुनै मानिस आकर्षित हुँदैन । 

त्यस्तै हाम्रो शरीर पनि हामी जतिसुकै सजाएर राखौं, जतिसुकै राम्रो बनाऔं, हाम्रो मन राम्रो छैन, हाम्रो आचरण राम्रो छैन, हामीले गर्ने व्यवहार राम्रो छैन, अरुलाई होच्याउने, दुर्वचन बोल्ने, अपशब्दहरु निकाल्ने इत्यादि हामीबाट हुन्छ भने बाहिरको सुन्दरता त फिका हुन्छ । जतिसुकै राम्रो बने पनि भित्रको कुरुपताले बाहिरको सौन्दर्यलाई खाइदिन्छ । त्यसैले सुन्दरता भित्रबाट हुनुपर्छ । मन सुन्दर हुनुपर्छ । मेरो व्यवहार, बानी, आदतहरु सुन्दर हुनुपर्छ । मेरा गुणहरु सुन्दर हुनुपर्छ अनि मात्रै सबैले मन पराउँछन् । र अरु सबैले राम्रो छ भन्नु, मन पराउनु नै सौन्दर्य हो । सुन्दर चीजलाई सबैले मन पराउँछन् । 

तर यो भन्दा पनि गहिरो मेरो बानी व्यहोरा जति राम्रो भए पनि सबैले मन पराउँछन् भन्ने छैन । हाँसेर बोल्नु राम्रो कुरा हो, तर हाँसेर बोलेको पनि कसैलाई मन पर्दैन । कस्तो उत्ताउलो स्वभावको भनेर हाम्रो आलोचना हुन्छ । अरुलाई अभिवादन गर्नु, नमस्कार गर्नु असाध्यै राम्रो कुरा हो । तर कहिलेकाहीँ यही नमस्कार गरेको पनि कसैलाई चित्त बुझ्दैन । त्यसैले म सुन्दर छु कि छैन ? पत्ता कसरी लगाउने ? अब अरु मान्छेले हेरेर तँ सुन्दर देखिइस् भन्यो भने वास्तवमै म राम्रो भएँ कि क्या हो भनेको जस्तो लाग्छ । तर के गर्ने, एउटाले सुन्दर भन्छ, अर्कोले तँ सुन्दर छैनस् भन्छ । मानिस त फरक–फरक छन् । मानिसको दृष्टि फरक छ । मानिसको मन फरक छ । त्यसैले सबैका अभिव्यक्तिहरु फरक छन् । एउटाले राम्रो भन्यो, अर्कोले आएर नराम्रो भनिदिन्छ । फेरि अर्कोले नराम्रो भन्यो, अर्कोले राम्रो भनिदिन्छ । अब म राम्रो भएँ कि भइनँ ? कसरी पत्ता लगाउने ? आफू कस्तो छु, पत्ता लगाउने तरिका हो– आफूले आफैंलाई हेर्नु । 

म राम्रो छु कि छुइनँ, आफैंलाई हेरौं । अरुले राम्रो भन्यो या भनेन, अरुको कुरा छोडिदिउँ । मेरो नजरमा चाहिँ म कस्तो छु । मेरो मूल्याङ्कनमा म कस्तो छु ? आफ्नो मूल्याङ्कन गरौं । आत्ममूल्याङ्कन गरौं । आत्मनिरीक्षण गरौं । मेरो स्वभाव कस्तो छ ? मेरा गुणहरु कस्ता छन् ? मलाई सबैले राम्रो भनून् भन्ने लाग्छ । सबैले राम्रो भन्नको लागि योग्य छु कि छैन ? म अरुलाई दुःख दिन्छु कि दिन्न ? अरुको हितमा कत्तिको काम गर्छु । अरुलाई सहयोग गर्छु कि गर्दिनँ ? सहयोग गर्दाखेरि सबैले मन पराउँछन् । तर म कत्तिको सहयोगी छु त ? अरुको लागि कत्तिको काम गर्छु ? म आफ्नो खुशीको लागि,आफ्नो स्वार्थको लागि मात्रै अरुलाई प्रयोग गर्ने मानिस हुँ या अरुको स्वार्थको, अरुको खुशीको लागि पनि म प्रयोग हुने मानिस हुँ । कस्तो हुँ म ? आफूलाई हेरौं ।

असली सौन्दर्य त्यो हो जुन हेर्दाखेरि सुन्दर लाग्छ । मेरो नजरमा म सुन्दर छु भने पुग्यो । अब सारा दुनियाँले कुरुप भने पनि केही फरक पर्दैन । मेरो आफ्नो नजरमा म सम्मानित छु कि छुइनँ ? मेरो नजरमा, मेरो दृष्टिमा म आदरणीय हुँ कि हैन ? मेरो नजरमै म आदरणीय छैन, सम्मानित छैन भने सारा दुनियाँले मलाई सम्मान गरे पनि त्यो अर्थहीन हुन्छ । मेरो दृष्टिमा चाहिँ म कस्तो छु ? मलाई सबैले सम्मान गरुन् भन्ने त लाग्छ । तर, म सम्मान गर्न योग्य छु कि छुइनँ ? आफूलाई चाहिँ हेरौं । यदि मेरो नजरमा म सम्मानित छु, आफैंले आदर गर्न मन लाग्छ । आफैंले आफूलाई आदर गर्न मन लाग्छ । आफैंले आफ्नो भित्रभित्रै प्रशंसा गर्न मन लाग्छ । आफ्नो गुणहरु, आफ्नो बानी व्यहोराहरु, आफ्नो आदतहरु देखेर आफ्नो मन गद्गद् हुन्छ । आफ्नो प्रशंसा गर्न मन लाग्छ । आफ्नो नजरमा आफू आदरणीय छु, सम्मानित छु भने सारा दुनियाँले असम्मान गरोस् केही फरक पर्दैन । 

तर मेरो नजरमा म गिरेको छु,आफ्नो नजरमा म स्वार्थी छु, आफैंले हेर्दाखेरि म कप्टी छु, आफ्नो स्वार्थको लागि सारा दुनियाँलाई प्रयोग गरेको छु, आफू खुशी हुनको लागि सारा संसारलाई दुःख दिएको छु भने सारा दुनियाँले मलाई राम्रो भनोस्, केही उपलब्धि हुँदैन । जो मानिस आफ्नो नजरमा गि¥यो, त्यसलाई कसैले पनि उठाउन सक्दैन । भगवान्ले पनि उठाउन सक्दैन । त्यसैले आफ्नो नजरमा सम्मानित बन्नु सौन्दर्य हो । हामी आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार छौं । खुशी हुनको लागि,आनन्दित हुनको लागि कुनै पनि हदसम्म अरुलाई दुःख दिन तयार छौं । दुःख मात्रै हो र, कस्तो छ हाम्रो मन हेरौं एकपटक । 

आफू अघाउनको लागि, आफ्नो स्वार्थको लागि अर्काको शरीर लुछेर खान्छौं । कस्तो होला ? अर्कोलाई मार्छौं । मारेर खान्छौं । कति पीडा होला त्यसलाई ? विवेक नै छैन । कति कुरुप होला मन । अर्काको जीउलाई काटेर खान्छौं । मानवीयता नै छैन । यो त विवेकहीनता हो नि । जबसम्म मानिस विवेकी हुँदैन, सुन्दर हुनै सक्दैन । सौन्दर्यको लागि विवेकी हुन जरुरी छ । शुभ गुणहरु हुन जरुरी छ । सबैको हितमा जसले काम गर्छ, यो नै धार्मिक व्यक्ति हो । धर्म भनेको आफ्नो नजरमा आफू सम्मानित बन्नु हो । आध्यात्मिक व्यक्ति भनेको त्यो हो जो आफ्नो नजरमा आफू सम्मानित छ । आफ्नो दृष्टिमा आफू पूजनीय छ । यो धार्मिक मानिस हो । हामीले आफूलाई गहिरिएर हेरौं । आफ्नो नजरमा आफू कस्ता छौं, हाम्रो बानी व्यहोरा कस्तो छ ? आचरण कस्तो छ ? स्वभाव कस्तो छ ? 

भगवानको लागि आफू प्रयोग हुन चाहँदैनौं । आफ्नो लागि भगवान्लाई प्रयोग गर्न चाहन्छौं । जबसम्म यो निजी स्वार्थ हामीसँग छ, तबसम्म हामी धार्मिक मानिस हुन सक्दैनौं । सुन्दर हुन सक्दैनौं । त्यसैले सुन्दरताको लागि पहिलो तह हो– शारीरिक सौन्दर्य, वातावरणीय सौन्दर्य, मनको सौन्दर्य र सर्वकल्याणभाव । यसबाट आफैंलाई सम्मान गर्न मन लाग्छ । जुन दिन आफ्नो दृष्टिमा आफैं सुन्दर बनियो, त्यही दिन म सुन्दर भएँ भन्ने अनुभूति गर्दा हुन्छ ।

हामी सबैलाई पनि सबैको हितमा कर्म गर्ने अवसर प्राप्त होस् । आफ्नो दृष्टिमा आफैं सुन्दर बन्ने अवसर प्राप्त होस् । शुभकामना ।
(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री)         

 

ताजा खबर