जगैदेखि हिन्दुत्व मास्न भित्रभित्रै सरकारी सक्रियता

२०७५ माघ ३ बिहीबार १३:४७:०० मा प्रकाशित

सनातन धर्म र नेपालको मौलिक संस्कृति नामेट तुल्याउने योजनाबमोजिम सशस्त्र प्रहरीमातहतका गण तथा गुल्महरूको नाम परिवर्तन गरिएको कुरा सार्वजनिक जानकारीमा नल्याइनुलाई आश्चर्यजनक मानिएको छ । ऐतिहासिक स्थल तथा देवीहरूको नाममा स्थापना गरिएका गुल्म तथा गणहरूको नाम परिवर्तन गरी अङ्कका आधारमा चिन्नुपर्ने व्यवस्था गरिएको छ । जबकि नाम परिवर्तन गर्नुपर्ने कुनै कारण थिएन । तर, सशस्त्रले गरेका प्रायः सबै गतिविधि राखिने सशस्त्रको आधिकारिक वेबसाइटमा नाम फेरिएको कुरा समावेश गरिएको छैन ।

सशस्त्र प्रहरी बलको रेडियो तथा टेलिभिजन कार्यक्रमहरू जनमानसमा लोकप्रिय छन् । ती कार्यक्रममा बलका गतिविधिका समाचारहरू दिने गरिए पनि नाम परिवर्तनबारे भने कुनै जानकारी दिइएन । मौलिक नाम खारेज गरेको जानकारी जनताले पाउँदा त्यसबाट नकारात्मक प्रतिक्रिया उत्पन्न हुने भयले यो गोप्य राखेको बुझिएको छ ।

नेपाली धर्म–संस्कृति झल्कने नामहरू मेट्दै जाने कम्युनिस्ट सरकारको अभियानअन्तर्गत यसको पहिलो सिकार सशस्त्र प्रहरी बल बनेको छ । देवी तथा ऐतिहासिक स्थलहरूको नामबाट प्रारम्भदेखि नै चिनिँदै आएका गण, बाहिनी र गुल्महरूको नाम रामबहादुर थापा नामक गृहमन्त्रीको प्रस्तावमा सरकारले मन्त्रिपरिषद्मै निर्णय गरेर खारेज गरिदिएको हो । देवी तथा ऐतिहासिक स्थलका नाम फेर्ने प्रस्ताव २०७५ साल जेठ २७ गते गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रिपरिषद्मा पेस गरेका थिए ।

मन्त्रिपरिषद्को उक्त निर्णय २०७५ साल साउनदेखि लागू गर्दै सशस्त्रले नाम परिवर्तनको जानकारी मातहतका गुल्म, बाहिनी तथा गणहरूलाई पठाएको थियो । सशस्त्रको पुनर्संरचनाका नाममा गरिएको नामहरूको परिवर्तनलाई लिएर इतिहास मेटाउने काम भएको भनी सशस्त्रका अधिकृतहरूमा व्यापक असन्तुष्टि छाएको छ । यद्यपि यो असन्तुष्टि बाहिर प्रकट भने भएको छैन । प्राप्त जानकारीअनुसार पुनर्संरचनाका लागि प्रक्रिया पुऱ्याउन भनी एउटा कमिटी बनाइएको थियो । जुन कमिटीलाई प्रत्यक्ष निर्देशन महानिरीक्षक शैलेन्द्र खनालले दिएका थिए । महानिरीक्षकलाई भने गृहमन्त्री रामबहादुर थापाको निर्देशन थियो । खनालले गृहमन्त्रीको चाहनालाई सदर मात्र गरेको जानकारहरू बताउँछन् ।

क्याबिनेट निर्णय नै गरी परिवर्तन गरिएका नामहरूमा बराहा बाहिनी सुनसरीलाई १ नम्बर, रुद्र बाहिनी पथलैयालाई २ नम्बर हुँदै क्रमशः मुक्तिनाथ बाहिनी पोखरा, महेश्वरी बाहिनी सुर्खेत, वैद्यनाथ कैलालीलगायत छन् । यसैगरी गणहरूमा पूर्वदेखि सुदूरपश्चिमसम्म फैलिएर रहेका पाथीभरा गण झापा, दन्तकाली सिरहा, सिद्धकाली सुनसरी, छिन्नमस्ता बर्दिबास, भद्रकाली बारा, गढीमाई चितवन, गुह्येश्वरी काठमाडौं, नीलबाराही काठमाडौं, भद्रकाली काठमाडौं, बगलामुखी काठमाडौं, विन्ध्यवासिनी चन्द्रौटा, कालिका पोखरा, चण्डिका पर्वत, मनकामना तनहुँ, बागेश्वरी बाँके, ज्वालामाई दाङ, त्रिपुरासुन्दरी कोहलपुर, बडिमालिका कैलाली र शैलेश्वरी कञ्चनपुर रहेका छन् ।

यसैगरी हिमाल, ताप्लेजुङ, छिन्ताङ, कञ्चनजङ्गालगायतका ऐतिहासिक स्थलका नामहरू रहेका विभिन्न जिल्लाका १६ वटा गुल्महरूको नाम परिवर्तन गरिएको छ । नामको पुनर्संरचनाको पत्र एक्कासि प्राप्त गर्दा बाहिनी, गुल्म तथा गणप्रमुखहरू आश्चर्यचकित भएका थिए । गत साउन १ गतेबाटै लागू भए पनि यो विषयमा खुलेर बोल्ने गरिएको छैन । पुनर्संरचनापछि ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । नेपाली सेनामा पनि धेरै गण, गुल्महरू देवीको नामबाट राखिएका छन् । सुरक्षा क्षेत्रबाटै धर्म, संस्कृतिमाथि प्रहार गर्न सक्नुलाई क्रिश्चियनहरूले ठूलो सफलता ठानेको बताइन्छ ।

काठमाडौंमा इसाईहरूको एसिया प्यासिफिक सम्मेलन हुनुभन्दा चार महिनाअघि ऱ्याडिसन होटेलमा एकनाथ ढकालसहित बसेको कम्युनिस्ट नेताहरूको बैठक हुनुभन्दा केही अघि सशस्त्र प्रहरीका गुल्म, गण र बाहिनीका हिन्दू नाम खारेज गर्ने प्रस्ताव रामबहादुर थापाले क्याबिनेटमा पेस गरेका थिए । सोही बैठकले नेकपाका नेता प्रचण्डलाई पिस एम्बासडर अवार्डले विभूषित गर्ने निर्णय गरेको थियो । सुरक्षा निकायहरूमा बडादशैँ, चैतेदशैँलगायतका चाडपर्वमा गरिने पूजाआजालाई पनि गृहमन्त्री रामबहादुर थापा बादललाई अनावश्यक लागेको स्रोतले बताएको छ ।

माओवादी द्वन्द्व चर्किंदै गएपछि तत्कालीन सरकारले २०५७ सालमा नेपाली सेना र नेपाल प्रहरी सम्मिलित अर्को शक्तिका रूपमा सशस्त्र प्रहरी बलको गठन गरेको थियो । सशस्त्रलाई प्रमुख शत्रुको रूपमा लिएको माओवादीले सशस्त्रका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुप श्रेष्ठको हत्या गरेको थियो । घटना र बिचार(www.ghatanarabichar.com) ले प्रकाशित गरेको समाचार भनिएको छ- अब हिन्दुत्वलाई जगैदेखि नामेट गर्न पनि तिनै माओवादी नेता लागिपरेका छन् ।

ताजा खबर