श्री एयरलायन्सको अन्तर्राष्ट्रिय उडान भर्ने चाहना, स्वीकृती माग

२०७५ माघ ३ बिहीबार १२:५०:०० मा प्रकाशित


काठमाडौं, ३ माघ । आन्तरिक उडानमा पछिल्लो समय अब्बल सेवा प्रदान गर्दै आएको श्री एयरलायन्सले अन्तर्राष्ट्रिय उडान भर्ने चाहना व्यक्त गरेको थाहा भएको छ ।

तीनवटा जहाजबाट आन्तरिक उडान टालेको श्री ले त्यसअघि हेलिकप्टर उडानमा मात्र ध्यान दिंदै आएको थियो । हाल श्रीसँग क्यानाडीयन बम्बार्डियर सिआरजे सिरिजको दुईवटा ५० सिट क्षमताका र दुईवटा ७० सिट क्षमताका गरि कुल चार जहाज रहेको छ ।

श्रीले भारतको केहि शहर र बंगलादेशको ढाकालाई लक्षित गर्दैै अन्तर्राष्ट्रिय उडान भर्ने भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवदेन दिएको थाहा भएको छ ।
श्रीले हाल आन्तरिक उडानमा धनगढि, नेपालगंज, राजविराज, विराटनगर, भद्रपुर र भैरहवामा उडान भर्दै आएको छ ।

नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (निगम) र हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ भने बुद्धले साप्ताहिक रुपमा भारतको बनारस शहरमा उडान भर्दै आएको छ ।

बुद्ध एयरले भारतको कलकत्ता शहरमा आगामी अप्रिल १९ देखि उडान शुरु गर्ने जानकारी दिइसकेको छ ।

श्रीले उडान अनुमति पाएमा अन्तर्राष्ट्रिय उडान भर्ने चौथो एयरलायन्स बन्न सक्नेछ । विदेशी एयरलायन्सहरुले नेपाली बजार लगभग पुरै कब्जा गरेको अवस्थामा श्रीको आगमनले नेपाली यात्रुहरुलाई केहि सहज हुने बताइएको छ ।

 

 

ताजा खबर