नेपालमै मेडिकल पढेका ३५ प्रतिशत फेल

२०७४ श्रावण २४ मंगलबार ०७:०८:०० मा प्रकाशित

प्रा.डा. गोविनद केसी पटक–पटक किन आमरण अनशन बस्छन्? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परीणाम हेरे छर्लंग हुन्छ।

 गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास हुन सकेनन्। २ सय ७६ जनाले परीक्षा दिएकामा एक सय ७८ मात्र उत्तीर्ण भए।

काउन्सिलका अनुसार यो अनुत्तीर्ण प्रतिशत हालसम्मकै उच्च हो। ११ मुलुकका विश्वविद्यालयबाट एमबीबीएस पढेर आएका ८ सय ८९ जनाले उक्त परीक्षा दिएकामा ३ सय ९१ मात्रै सफल भए। काउन्सिलको परीक्षा समितिका अध्यक्ष डा. गणेश गुरुङले यो परिणाम हेर्दा मेडिकल कलेजहरूको परीक्षा प्रणालीबारे समीक्षा गर्नुपर्ने अवस्था आएको बताए।

‘नेपालका जुनसुकै मेडिकल कलेजमा पढाइको गुणस्तर राम्रो छ भनेर हामी छाती फुलाउँछौं, गुरुङले भने, ‘तर ३५ प्रतिशतभन्दा माथि फेल भएपछि शंका उत्पन्न भयो।’

शिक्षाविद् केदारभक्त माथेमाले लाइसेन्सिङ परीक्षाको परिणामलाई मुलुकमा चिकित्सा विज्ञानको पढाइ र गुणस्तर कमजोर रहेको संकेतको रूपमा व्याख्या गरे। ‘यो परिणामले हाम्रा विश्वविद्यालयको परीक्षा प्रणाली र पढाइको गुणस्तरमा प्रश्न उठाइरहेको छ’, उनले भने, ‘एक\दुई जना पास हुन नसक्नु भिन्दै कुरा हो, यतिका संख्यामा फेल हुनुले पढाइ राम्रो छैन भन्ने देखाउँछ।  कान्तिपुर दैनिकबाट ।

ताजा खबर