कुवेतबाट भागेर थाइल्यान्डहुँदै क्यानाडा पुगेकी किशोरी भन्छिन, ‘स्वतन्त्रताका लागि देश छोडेँ’

२०७५ माघ २ बुधबार १२:३०:०० मा प्रकाशित

टोरेन्टो, २ माघ । कुवेतबाट भागेर थाइल्यान्डहुँदै क्यानाडा पुगेकी किशोरीले स्वतन्त्रताका लागि देश छोडेको बताएकी छन् ।

साउदी किशोरी रहफ मोहम्मद दुई साता अघि कुवेतबाट भागेर थाइल्यान्डहुँदै क्यानाडा पुगेकी थिइन् । १८ वर्षीया रहफ शरण लिन क्यानाडा पुगेकी हुन् । उनी परिवारसँग घुम्न कुवेत गएको बेला विमान चढेर भागेकी थिइन् ।

उनले स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनै पर्ने काम भएको बताएकी छन् ।

कुवेतबाट भागेर थाइल्यान्ड पुगेपछि उनलाई थाई अध्यागमन अधिकारीले नियन्त्रणमा लिएका थिए । उनलाई साउद पठाउन खोजिएको थियो । तर, उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन् ।

परिवारले आफूसँग दुर्व्यहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन बताएकी थिइन् ।

त्यसपछि उनी क्यानाडा गएकी थिइन् । क्यानाडाको टोरन्टो स्टार पत्रिकासँग कुराकानी गर्दै उनले भनेकी छन, ‘मैले लिएको जोखिम लिनैपर्ने थियो । मैले गुमाउनुपर्ने केही थिएन ।’

उनले साउदीमा भोग्दै आएको पीडा पनि सुनाएकी छन् । ‘हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ । म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ,’ उनले भनिन् ।

रहफ अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो । उनी ब्यांककहुँदै क्यानाडा जान चाहन्थिन्। तर विमानबाट ओर्लिँदै गर्दा एक साउदी कूटनीतिज्ञले राहदानी खोसेको उनले बताएकी छन् ।

ताजा खबर