ग्रहले कसैलाई माफ गर्दैन, यस्तो छ कारण

२०७५ माघ १ मंगलबार १४:२३:०० मा प्रकाशित

ग्रह दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु छन् भने, नक्षत्रहरु छन् भने उनीहरुको प्रभाव हुनु स्वाभाविक हो । हाम्रो नजिक जो व्यक्ति बसेको छ, जस्तो प्रकारका वस्तुहरु हामीले राखेका छौं, त्यस्ता व्यक्तिहरु-वस्तुहरुको प्रभाव हामीमा पर्छ । 

ग्रहको दुष्प्रभावलाई हटाउन सकिन्छ कि सकिँदैन ? केही हदसम्म हामी हटाउन सक्छौं । पानी पर्छ, वर्षा लाग्छ, वर्षालाई हटाउन सक्दैनौं । तर, छाता ओढेर हामी सुरक्षित हुन त सक्छौं । उपाय गर्नु स्वाभाविक कुरा हो । हुन्छ । तर प्रभावलाई पूरै कम गर्न भने सकिन्न । प्रभाव त जस्तो छ, छ आउँछ । ग्रहदशाको प्रभाव त्यसलाई बढी पर्छ, जुन व्यक्ति परनिर्भर छ । जो व्यक्ति भाग्यवादी छ, त्यसलाई मात्रै ग्रहदशाको प्रभाव पर्छ । पुरुषार्थ छाता हो । जसरी वर्षाको पानी रोक्नलाई हामी छाता ओढ्छौं, त्यसैगरी जीवनमा आउने ग्रहदशाहरुको दुष्प्रभावलाई कम गर्न पुरुषार्थको सहारा लिनुपर्छ । पुरुषार्थी व्यक्तिको अगाडि कुनै पनि प्रकारको प्रभाव निस्क्रिय हुन्छ । उसलाई प्रभावित गर्न सक्दैन । प्रभावित गर्नको लागि कमजोर हुनुपर्छ । म जति कमजोर भएँ त्यति ग्रहदशाहरु लाग्छन् । दुष्प्रभाव पर्छ । तर म सबल भएँ भने मलाई उसको प्रभावले छुन सक्दैन ।

जहाँ कमजोरी छ त्यहाँ अरुको प्रभावले व्यक्ति प्रभावित हुन्छ । प्रभावित हुनका लागि आफू कमजोर हुनुपर्छ । म दुर्बल भएँ भने अरुले हेप्छन् । ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ भन्ने नेपाली उखान छ । कमजोर भएपछि सबै कुराले, सबै पक्षले हेप्न थाल्छन् । आफू सबल भयो भने कसैले दुःख दिँदैन । हेप्दैन । आत्मविश्वासी व्यक्तिका लागि, पुरुषार्थी व्यक्तिका लागि, जोश जाँगर र उत्साहले भरिएको व्यक्तिका लागि कुनै पनि ग्रहदशाले प्रभावित गर्न सक्दैन । कुनै पनि ग्रहदशा लाग्दैन । उसको जीवनमा ग्रहदशा छँदै छैन । न साढे सात छ, न साढे आठ छ । कुनै प्रकारको दशा छैन । दशा त्यसलाई लाग्छ जो व्यक्ति कमजोर छ, त्यसैले यदि ग्रहदशाहरुको दुष्प्रभावबाट मुक्त हुनु छ भने आत्मविश्वास जगाउनुपर्छ । आँट, जोश, जाँगर, उत्साहलाई बढाउनुपर्छ । यही हो छाता । यसैले रोक्न सक्छ । कुनै प्रकारको पूजापाठ गरेर ग्रहदशा भाग्दैन । पूजापाठ पनि एउटा आत्मविश्वास बढाउने तरिका मात्रै हो । मैले घरमा शान्ति स्वस्ति गरेँ, पूजा पाठ लगाएँ, प्रार्थना गरेँ, यति गरेपछि अब ग्रहदशाहरु भाग्यो, अब मलाई केही गर्न सक्दैन भन्ने जुन मनस्थिति बन्छ, यो मनस्थितिले आत्मबल निर्माण गर्छ, अब केही हुन्न पूजा गरिसकेँ नि, पूजा लगाइसकेँ ।

अब मैले यी ग्रहदशाको दुष्प्रभावलाई हटाइसकेँ भन्ने भरोसा भित्र बन्छ । यो भरोसाले काम गर्छ । यो भरोसाले छाताको काम गर्छ । अब दुष्प्रभावबाट हामी बच्न सक्छौं । त्यसका लागि पूजापाठका विधिहरु प्नि उपयुक्त छन् । तर, यसको विज्ञान हो आफूभित्रको आत्मबललाई सबल बनाउनु । आत्मविश्वास बढेपछि सबलता बढ्छ, स्वनिर्भर हुन्छ व्यक्ति र स्वनिर्भर व्यक्तिको लागि केको दशा ? केका दुष्प्रभावहरु ? सबै दुष्प्रभावलाई हटाउन सकिन्छ । भाग्यवादी व्यक्तिका लागि मात्रै हो ग्रहदशाको प्रभाव । पुरुषार्थी व्यक्तिलाई कुनै पनि ग्रहदशाको प्रभावले लिन सक्दैन । यसको अर्थ ग्रहदशाको प्रभाव हुँदैन भन्ने हैन, हुन्छ । सबैको प्रभाव हुन्छ । हाम्रा वरिपरि रहेका व्यक्तिहरुको प्रभाव छ । दुश्मनहरु पनि छन्, दोस्तहरु पनि छन् । दुश्मनको प्रभाव पनि रहन्छ, दोस्तको प्रभाव पनि रहन्छ । तर, कमजोर व्यक्तिहरुलाई मात्रै दुश्मनले सताउन सक्छ । सबल व्यक्तिसँग दुश्मन पनि डराउँछ । सबल बनौं र हामी सबल बन्न सक्छौं । मानसिक रुपमा सबल बन्नु छ । मन बलियो भयो भने सबै कुरा बलियो हुन्छ । सबै कुरा राम्रो हुन्छ । मनलाई कसरी सबल बनाउने, आत्मविश्वासलाई कसरी जगाउने ? आफूभित्र रहेको आँट, जोश, जाँगरलाई कसरी उठाउने ? यतातिर हाम्रो दृष्टि जानुपर्छ ।

पुरुषार्थ भनेको बाहिरको सम्पन्नता हासिल गर्नु हैन, बाहिर सम्पत्ति कमाउनु पुरुषार्थ हैन, बाहिर सम्मान कमाउनु पनि पुरुषार्थ हैन, पुरुषार्थ भनेको  आफ्नो आत्मबल कमाउनु हो । आत्मविश्वास जगाउनुचाहिँ पुरुषार्थ हो । जसले आफ्नो आत्मविश्वासलाई जगायो, त्यही व्यक्ति पुरुषार्थी हो र यो पुरुषार्थी व्यक्तिलाई कसैले दबाउन सक्दैन । कसैले सताउन सक्दैन । सबै प्रकारका दुष्प्रभावहरु, दुश्मनहरु पुरुषार्थी व्यक्तिहरुको नजिक पर्न पनि सक्दैनन् । उसको तेजले, उसको आभाले उनीहरुलाई नजिक आउनै दिँदैन र हामीले पनि आफ्नो आभालाई विकसित गर्नु छ । पुरुषार्थ बढाउनु छ । आत्मविश्वास जगाउनु छ । 

तर कसरी ? प्रश्न उठ्छ– ‘कसरी’ । हामीभित्र अथाह शक्ति छ । सबै कुरा हामीभित्र छ । हामी कुनै मानिस आँटिलो छ भन्छौं । कुनै मानिस हिम्मतिलो रहेछ भन्छौं । त्यो हिम्मतिलो मानिससँग मात्रै हिम्मत छ र ? कुनै पनि व्यक्तिसँग हिम्मत छ । फरक यत्ति हो उसले आफ्नो हिम्मतलाई जागृत ग¥यो । अर्को कुनै व्यक्तिले जागृत गरेन । सुषुप्त अवस्थामा रह्यो । सम्पदा सबैसँग छ । ईश्वरले सबैलाई बराबर दिएर पठाएको छ । लिनेले कति लियो, त्यसमा भरपर्छ । एउटै बारीमा उस्तै माटो छ, उस्तै मलहरु हालेको छ, त्यस्तै पानीको व्यवस्था गरेको छ, कुनै बिरुवा सबल छ, झर्झराउँदो छ, कुनै बिरुवा त्यहीँ ओइलाएको छ, मर्न लागेको छ । पहेंलिएको छ । अब त्यो पहेंलिएको बिरुवाले मल नपाएको हैन, तत्व त सबै तिनै पाएको हो । तर, उसले लिन सकेन । त्यसैगरी भगवान्ले सब कुरा दिएको छ । ईश्वरले सबैलाई बराबर दिएको छ । तर, हामीले लिन सकेनौं । त्यसलाई प्रयोग गर्न सकेनौं । हामीभित्र रहेको बुद्धि, विवेक, मन, विचार, भाव यसको सदुपयोग गर्न जानेनौं, यसलाई प्रयोग गर्न जानेनौं । अब अरुलाई दोष दिएर के गर्ने ? यसलाई प्रयोग गर्नु छ र सबल बन्नु छ । र, सबल बन्ने तरिका हो ध्यान । ध्यानले आफूभित्रको आत्मविश्वासलाई जागृत गर्छ । ध्यानको काम नै आत्मविश्वासलाई जगाउनु हो र आत्मविश्वास ध्यानले मात्रै जगाउन सक्छ । अरु विकल्प छैन । अलिकति बाहिरबाट बुझाएर पनि आत्मविश्वास जगाउन सकिन्छ तर क्षणिक हुन्छ । 

म ठूलो भएँ भनेर कसैले कुरा ग¥यो अनि उसलाई सम्झाइयो– तपाईं सबल हुनुहुन्छ, सक्षम हुनुहुन्छ, तपाईं गर्नुस्, तपाईं सक्नुहुन्छ । उसलाई आत्मविश्वास  जगाउने काम ग¥यो, एकैछिन जाग्छ । ए हो कि क्या हो । बिउँझिन्छ त्यो व्यक्ति । झस्किन्छ । ए होला, म त सक्षम छु, त्यसरी म गर्न सक्छु भन्ने आँट गर्ला । तर, अस्थायी हुन्छ । केही समयपछि फेरि यो दुनियाँको वातावरणसँग घुलमिल हुन्छ, फेरि तिनै समस्याहरु, त्यस्तै कामहरु जुन सधैं गरिराखेको थियो, त्यसमा होमिन पुग्छ, पहिला सिकेको, बुझाएको सबै कुराहरु बिर्सिन्छ, अनि फेरि जस्ताको तस्तै हुन्छ । यसले मात्रै पुग्दैन । भित्रबाट जाग्नुपर्छ । भित्रबाट आत्मविश्वास प्रकट हुनुपर्छ । बाहिरबाट कसैले हालेर पुग्दोरहेनछ । हुँदोरहेनछ । 

भित्रबाट आँट जगाउने तरिका हो ध्यान । ध्यानबाट यदि आत्मविश्वास जाग्यो भने यो स्थायी हुन्छ । अब यसलाई कसैले हटाउन सक्दैन । बरु बाहिरबाट आउने चुनौतीहरुले झन् आत्मविश्वासी बन्न चै प्रेरित गर्छ । बाहिरबाट आउने समस्याहरुले त आत्मविश्वास बढ्न चै मद्दत गर्छ । तर, घट्दैन । ध्यानलाई प्रयोग गर्न सक्नुपर्छ । हाम्रो शरीरमा सातवटा शक्तिकेन्द्रहरु छन्, जसलाई हाम्रा ऋषिहरुले चक्र भनेर वर्णन गरेका छन् । यी चक्रहरुको सबलताबाट आत्मविश्वास बढ्छ । आत्मविश्वास घट्नको लागि, आँट घट्नको लागि चक्रहरुमा विकार उत्पन्न हुनुपर्छ । चक्रहरु रोगी हुनुपर्छ । हाम्रा चक्रहरुले ठीक तरिकाले काम गर्न सकेनन् भने अनि हामी कमजोर भएको महसुस गर्छाैं । हाम्रो मनस्थिति कमजोर हुन्छ । म सक्दिनँ, हुँदैन भन्ने भाव देखापर्छ । यदि चक्रहरु सबल छन् भने हामीले कहिल्यै कमजोरीको अनुभव गर्दै गर्दैनौं ।

मानसिक रुपमा सबल बनाउनका लागि चक्रहरु सबल हुनुपर्छ र यी चक्रहरुलाई सबल ध्यानले मात्रै बनाउन सक्छ । चक्रहरुमा भएका विकारहरुलाई हटाउने र चक्रहरुलाई स्वस्थ बनाउने काम ध्यानले मात्रै गर्छ, अरु तरिकाहरु छैनन् । जुन व्यक्तिका सातैवटा चक्रहरु सबल छन्, त्यो व्यक्ति कुनै पनि क्षेत्रमा दुर्बल हुँदैन । चक्रहरु सबल भएको व्यक्तिलाई कुनै पनि प्रकारको ग्रहदशा लाग्दै लाग्दैन । ऊ सबै प्रकारका दशाहरुबाट मुक्त भएको हुन्छ । उसले बोल्यो अब छाता हुन्छ, जतिसुकै ठूलो बाहिर वर्षा होस् न । ऊ त सुरक्षित घर बनाएर आफ्नो घरभित्र बसेको छ । उसलाई बाहिरको पानीले छुन सक्दैन । हो बाहिर पानी त पर्छ । प्रकृति हो प्रकृतिको आफ्नो नियम त छ । 

यदि आकाशमा कुनै ग्रह हिँडिराखेको छ, चलिराखेको छ भने कडा रुपमा प्रभाव त आउँछ । अहिले बाहिर सूर्य लागेको छ भने सूर्यको ताप त आउँछ, प्रकाश त आउँछ । यसलाई रोक्न सकिन्न । तर, आफू बच्न चै सकिन्छ । छाता ओढेर बसौं, प्रभावबाट बच्न सकिन्छ । र, यो प्रभावबाट बच्ने तरिका हो, आफूभित्रका चक्रहरुलाई जागृत गर्ने । ध्यान गर्ने, ध्यानबाट मात्रै चक्रहरु जागृत हुन्छ । हामी सबैलाई पनि ध्यान गर्ने अवसर मिलोस्, आफूभित्र रहेका सम्पदाहरुलाई जागृत गर्ने अवसर मिलोस् । जोश, जाँगर, उमङ्ग र आत्मविश्वासले पूर्ण हुने अवसर मिलोस् । (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट साभार गरिएको सामग्री ।)

ताजा खबर