निजगढ विमानस्थल कतारले बनाउने ?

२०७५ माघ १ मंगलबार १२:५८:०० मा प्रकाशित

काठमाडौं, १ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थल बनाउन कतारले इच्छा देखाएको थाहा भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको ठुलो विमानस्थल बनाउने प्रयास गरिएको निजगढमा कतारले इच्छा देखाएको हो । पर्यटन मन्त्रालय श्रोतका अनुसार कतारले उक्त विमानस्थल बनाउन प्रस्ताव नै पठाइसकेको छ ।

यसअघि कोरियन कम्पनी एलएमडब्लुले अध्ययर गरेर तयार पारेको प्रतिवेदन अनुसार त्यहाँ इच्छाइएको विमानस्थल निर्माण गर्न करिब ८ हजार हेक्टर जमिन आवश्यक पर्ने र २ जहाज हेक्टरमा मात्र विमानस्थल बनाइने बताइएको थियो ।

विमानस्थल क्षेत्रमा अत्याधुनिक शहरसहितका संरचना बनाउन पनि थप जग्गा आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो ।

मन्त्रालय श्रोतका अनुसार अन्य मुलुकले पनि विमानस्थल बनाउने इच्छा देखाएपनि कतारको प्रस्ताव ‘आकर्षक’ रहेको छ । यसअघि गत कार्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा जाँदा नै कतारले सो प्रस्ताव राखेको बताइएको छ ।

सरकारले निजगढ विमानस्थल बुट शैली (निर्माण, स्वामित्व ग्रहण, संचालन र हस्तान्तरण) मोडलमा निर्माण गर्ने निर्णय गरिसकेकोले कतारले सोही मोडल अनुसार निमार्ण गर्ने चाहना व्यक्त गरेको जानकारी प्राप्त भएको छ ।

करिब २५ वर्ष अघिदेखि बनाउने भनिएको निजगढ विमानस्थलको लागि आ.व. २०६५/६६ देखि नियमित रुपमा बजेट बिनियोजन गरिंदै आएको छ ।
विमानस्थल बनेपछि यसले वार्षिक ६ करोड यात्रुलाई सेवा दिने बताइएको छ ।

 

ताजा खबर