नेपालीसहित १८ सैनिक मारिएको उरी घटना फिल्मको धमाका

२०७५ पौष ३० सोमबार ११:१५:०० मा प्रकाशित

काठमाडौं । भारतीय सेनामा कार्यरत नेपालीसहित १८ सैनिक मारिएको उरी आक्रमणमा आधारित फिल्मले राम्रो शुरुआत गरेको छ ।

१८ सेप्टेम्बर, २०१६ मा भारतको कस्मिरस्थित उरीमा भारतीय सैनिक क्याम्पमाथि हमला भएको थियो । त्यस हमलामा भारतीय सेनामा कार्यरत एक नेपाली सहित १८ जना मारिएका थिए । त्यसपछि भारतले सर्जिकल स्ट्राइक गरेको थियो ।

यसैमा आधारित भएर बनेको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ले धमाकेदार शुरुआत गरेको हो । समिक्षकबाट राम्रो प्रशंसा पाएको यो फिल्मले हलमा पनि राम्रो कमाइ गरेको छ ।

यो फिल्मले दुई दिनमा २० करोड भारतीय रुपैयाँ कमाएको छ । पहिलो दिन शनिबार आठ करोड २० लाख कमाएको थियो । त्यस्तै, आईतबार दोस्रो दिन १२ करोड ४३ लाख कमाएको छ ।

आदित्य धरले निर्देशन गरेको यो फिल्ममा विक्की कौशल, यामी गौतम र परेश रावलको मुख्य भूमिका रहेको छ । विक्कीले सैनिकको भूमिकामा छन भने यामी गुप्तचर अफिसरको ।

यो फिल्म करिब ३५ करोडको लागतमा बनेको थियो । अहिले ८ सय हलमा चलिरहेको छ । यसले दुई दिनमै लगानी नजिक पुगेको छ । तेस्रो दिनमै लगानी भन्दा बढी पैसा उठाउने अनुमान गरिएको छ ।

ताजा खबर