यसरी ठग्दैछन् निजी एयरलायन्सहरु

२०७५ पौष २९ आइतबार १३:४५:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले १०४ रुपैंयाँ ५० पैसा प्रतिलिटरमा बेचिरहेको हवाइ इन्धनको भाउन गत बिहिबार १० रुपैंयाँ घटाइ ९४ रुपैंयाँ ५० पैसा प्रतिलिटर कायम गरेको छ ।

यो सँगै नेपालमा आन्तरिक उडान भर्दै आएका निजी एयरलायन्सहरुले पनि हवाइ इन्धनको भाउ घटेकोले टिकटको फ्युल सरचार्ज (इन्धन अधिशुल्क) घटाएको सार्वजनिक गरेका थिए । अकूत नाफा कमाउन पल्केका निजी एयरलायन्सहरुले यात्रुलाई सहज बनाउन फ्युल सरचाज घटाएको दाबी गरेपनि समग्र भाडा उस्तै रहेकाले एयरलायन्सहरुले नाफा बढाउनमै ध्यान केन्द्रित रहेको पाइएको छ । 

गत शुक्रबार वायुसेवा संचालक संघको निर्णय अनुरुप भाउ घटेको खबर सार्वजिनक गरिएको थियो । उक्त निर्णयअनुसार आन्तरिक उडान तर्फ फ्युल सरचार्ज करिब ९० रुपैंयाँ देखि ४४० रुपैंयाँसम्म घटेको खबर सार्वजनिक भएकोे थियो ।

यसरी भाउ घटेको बताइएपनि समग्र टिकटमा सोही अनुपातमा भाउ नघटी महँगो अर्थात् यान्की (वाई) क्लासको टिकटमा मात्र भाउ घटेको कुरालाई भने निजी एयरलायन्सले लुकाएको थाहा भएको छ । 

यसअघि काठमाडौं भरतपुर रुटमा ब्राभो (बी) क्लासमा हवाइ भाडा १६३०, फ्युल सरचार्ज ११२० र कर २०० रुपैंया गरी कुल २९५० रुपैंयाँ पर्ने गरेकोमा घटेको मूल्य अनुसार हवाइ भाडा १७४०, फ्युल सरचार्ज १०१० र कर २०० गरी २९५० नै कायम गरिएको छ । 

फ्युल सरचार्जमा ११० रुपैंया घटेपनि स्वेच्छा अनुसार एयरलायन्सहरुले हवाइ भाडालाई ११० रुपैंयाँ नै बढाइ यसअघिकै भाडा कायम गरेपछि उपभोक्तालाई कुनै फाइदा नै नभएको भेटिएको छ भने एयरलायन्सको नाफा बिनाकारण ह्वात्तै बढको छ । त्यस्तै अल्फा (ए) क्लासमा पनि विगत्कै जस्तै ३३५० नै कुल भाडा कायम गरी ११० रुपैंयाँ अतिरिक्त मुनाफा जोडिएको छ । 

त्यस्तै यान्की (वाई) क्लासको टिकट लिनेलाई भने यसअघि ३७५० पर्ने टिकट अहिले ३६५० बनाइएको छ । यसमा पनि भाडादर १० रुपैंयाँ बढाइएको देखिएको छ । 

काठमाडौं–पोखरा रुटमा पनि यसैगरी अति मुनाफा कमाउने नियत देखिएको छ । डेल्टा (डी), चाली (सी), ब्राभो (बी) र अल्फा (ए)मा १६५५ रुपैंयाँ रहेको फ्युल सरचार्जलाई १५०० रुपैंया बनाउँदा पनि समग्र भाडा समान देखाइ नाफालाई नियम विपरित बढि बनाइएको पाइएको छ । यान्की (वाई) मा भने यसअघि ५२०० रहेको कुल भाडालाई ५०५० बनाइ ५ रुपैंयाँ मुनाफा थप गरेको छ । १५५ रुपैंयाँ घटेको फ्युल सरचार्जलाई भाडामा बढाइ समान दर कायम गरेपछि यात्रुहरु घटेको भाडाबाट लाभान्वित हुने अवसरबाट बञ्चित बनेका छन् । 

त्यस्तै काठमाडौं–नेपालगञ्ज रुटमा ३२५ रुपैंयाँ, काठमाडौं–भद्रपुरमा ३०० रुपैंयाँ, काठमाडौं–भैरहवा रुटमा २०० रुपैंयाँ, काठमाडौं–जनकपुर १०० रुपैंयाँ, काठमाडौं–सुर्खेत ३३० रुपैंयाँ र काठमाडौं–धनगढि ४४० रुपैंयाँको दरले फ्युल सरचार्ज घटेपनि महँगो टिकट अर्थात् यान्की (वाई) मा मात्र ती भाउहरु घटेको पाइएको छ । अन्य क्लासको टिकटको भाउ बराबर नै राखेको थाहा भएको छ । 

हाल घटेको भाडादरले एउटै मात्र क्लास कायम गर्ने गरिएको क्षेत्रहरु सिमरा (९० रुपैंयाँ), तुम्लिङटार (२०० रुपैंयाँ), पोखरा–भरतपुर (११० रुपैंयाँ) र पोखरा–भैरहवा (१५० रुपैंयाँ) मा मात्र यात्रुहरुले भाउ घटेको महसुस गर्न पाएका छन् । यसको विपरित अन्य क्षेत्रको भाउ घट्दा यात्रुले राहत पाउन नसकेको गुनासो गरिरहेका छन् ।

फ्युल सरचार्ज घटेको खबरसँगै टिकटको माग बढेको बनाउने ट्राभल एजेन्सी संचालकहरुले वास्तवमा भाउ नै नघटेको बताउँदा यात्रुहरु निराश बनेको बताइरहेका छन् ।

विगतमा नेपाल आयल निगमले भाउ बढाउँदा भने सबै बर्गको टिकटमा समान स्तरले बढाउने गरेको इतिहास रहेको छ । 

यसअघि २०७३ मंसिर ३० गते सरकारको स्वीकृतीमा आन्तरिक उडान तर्फ २४ प्रतिशत भाडा वृद्धि गरिएको थियो । उक्त भाडा बृद्धि पछि एयरलायन्स संचालकहरुको मुनाफा ह्वात्तै बढेपनि फ्युल सरचार्जमा घट्नुपर्ने रकम नघटाइ ठगी गर्ने नियत राखेकोले एयरलायन्सको अनुगमन गर्ने संस्थाले यसमा कानूनी प्रक्रिया थाल्नुपर्ने उपभोक्ताहरुको माग रहेको छ । 


 

ताजा खबर