१० महिनामा १० प्रतिशत पुनः निर्माण

२०७४ असार १ बिहीबार ०८:१५:०० मा प्रकाशित

धुलिखेल १ असार । भुकम्पका कारण क्षति भएका संरचना पुननिर्माणका लागि सरकारले बजेट विनियोजन गरेपनि काभ्रेमा अझै ९० प्रतिशत संरचना पुननिर्माण हुन सकेका छैनन् । यहाँ अहिलेसम्म जेनतेन पुनः निर्माणको काम करिब १० प्रतिशत मात्रै भएको छ । 

२०७३ भदौमा निजी आवास अनुदान सम्झौताको प्रथम किस्ता वितरणदेखि अहिलेसम्म १० महिनाको अवधिमा झन्डै ६ हजार ३ सय  घर पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले जानकारी दिए । जिल्लामा भुक्तानीका लागि सिफारिस भएका लाभग्राहीको सङ्ख्या ६३ हजार ५ सय ९६ रहेको छ । 

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितमध्ये ६१ हजार २ सय २२ जनाले नेपाल सरकारबाट प्रथम किस्ता बापतको रकम पाएका छन् भने विभिन्न गैरसरकारी संस्थाबाट दुई हजार ३ सय ७४ जनाले प्रथम किस्ता बापतको रकम बुझेका छन् । त्यस्तै, दोस्रो किस्ता पाउनेको सङ्ख्या दुई हजार ३७ नेपाल सरकारबाट र विभिन्न गैरसरकारी संस्थाबाट २ सय ४४ जनाले दोस्रो किस्ता बापतको रकम बुझेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका अनुसार पुनःनिर्मााणका लागि इन्जिनियरद्वारा प्रमाणीकरण गर्न सहरी विकास तथा डिभिजन कार्यालय, धुलिखेलमा ५० हजार भूकम्पपीडितको आवेदन परेको छ ।  जिल्लामा गुनासो सम्बोधनका लागि २३ हजार ९०२ जनाको आवेदन परेकामा १९ हजार ६३१ को फछ्र्योट भएको छ । भूकम्पपीडितले पुनः निर्माणको काम सुस्त भएकाले जनजीवन कष्टकर भएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । रासस 

ताजा खबर