चिनियाँ जहाज नेवानिलाई ‘घाँडो’, नबेची नहुने निष्कर्ष

२०७५ पौष २७ शुक्रबार १३:२९:०० मा प्रकाशित

काठमाडौं, २७ पुस । चिनियाँ जहाज उडाउँदा घाटा बढ्ने क्रम नरोकिएको भन्दै नेपाल वायुसेवा निगम (नेवानि) व्यवस्थापन ती जहाज पन्छाउन लागिपरेको बुझिएको छ ।

करिब ५ वर्षअघि सरकारी स्तरबाट सहुलियत ऋणमा चीनले नेवानिलाई दुईवटा एमए ६० र चारवटा हार्विन वाई–१२ई करिब ३ अर्बमा बेच्ने सहमति भएको थियो । जसमध्ये २ वटा वाई–१२ई सित्तैमा दिइएको थियो ।

चिनियाँ जहाज कुल ६ वटा भएपनि एउटा एमए–६० जहाज सधैं ग्राउन्डेड हुने र कम्तिमा एउटा वाई–१२ई सधैं ग्राउन्डेड गर्दै आएको निगमले एक वर्षको अवधिमा चिनियाँ जहाजको संचालनबाट ३६ करोड घाटा व्योहोरेको बताइएको छ । अघिल्लो वर्ष पनि नेवानिले यी जहाज संचालन गरेर करिब ३४ करोड घाटा भएको जनाएको थियो ।

पछिल्लो समय प्राविधिक समस्या पनि धेरै देखिएको र मर्मत खर्च पनि महंगो भएको भन्दै चिनियाँ जहाजलाई ‘घाँडो’ को रुपमा हेर्ने गरेको निगम श्रोतले सरल पत्रिकालाई बताएको छ । 

यसको विपरित क्यानडाको भाइकिङ कम्पनीमा निर्मित ट्वीन अटर जहाजले भने राम्रो गरिरहेको र संचालन खर्च पनि तुलनात्मक रुपमा कम भएको भन्दै चिनियाँ जहाज बेच्न पाएमा ट्वीन अटर नै जहाज थप्नु उपयुक्त हुने भन्दै निगमक व्यवस्थापन यसको लागि तयारी गर्न थालेको बताइएको छ । 
व्यवस्थापनको यस्तो तयारी भएपनि निगमको जहाज बिक्री गर्ने प्रक्रिया भने सहज नरहेको थाहा भएको छ । ती जहाजहरु बिक्री गर्न वा भाडामा दिनको लागि मन्त्रीपरिषदबाट निर्णय गर्नुपर्ने हुन्छ । विवादको घेरामा रहेको निगमले अहिले यो निर्णय गराएर प्रक्रिया अघि बढाउन कठिन भएको पनि निगम श्रोतले बताएको छ ।

त्यस्तै चिनियाँ जहाज बेच्नको लागि निगमबाट अहिलेसम्म कुनै आधिकारीक निर्णय नभएको पनि बताइएको छ । यसअघि कार्यकारी पदमा रहेका प्रबन्ध निर्देशक सुगत रत्न कंसाकारले पनि चिनियाँ जहाज बेच्नुको विकल्प नरहेकोमा जोड दिएका थिए ।

पछिल्लो समय कार्यकारी अध्यक्षको पदमा आएका मदन खरेलले सुरुमा चिनियाँ जहाजहरु उडाउन पहल गरेपनि अहिले उनी पनि सफल हुन नसकीरहेको देखिन्छ । निगमको यो चालासँगै आन्तरिक उडानमा कमजोर रहेको निगम थप कमजोर हुने यस क्षेत्रका जानकारहरु बताइरहेका छन् ।


 

ताजा खबर