ओस्कार अवार्ड समारोहमा उद्घोषक नहुने

२०७५ पौष २७ शुक्रबार १२:३५:०० मा प्रकाशित

काठमाडौं । ओस्कार अवार्ड वितरण समारोह यो वर्ष उद्घोषकबिनानै संचालन हुने भएको छ ।

ओस्कार समारोह ३० वर्षपछि पुनः उद्घोषकबिना नै आयोजना गर्न लागिएको हो । यस अघि सन् १९८९ मा पनि संचालकबिना नै ओस्कार समारोह आयोजना गरिएको भेराइटी अनलाईनले जनाएको छ ।

भेराइटीको रिपोर्टअनुसार, एउटा उद्घोषक नभएर फरक-फरक सेलेब्रेटीहरुले अवार्ड प्रस्तुत गर्ने छन् ।

ओस्कार अवार्ड वितरण समारोहमा २४ फेब्रुअरीमा हुँदै छ । नेपाल समयअनुसार, १३ फागुन बिहान ६ः४५ बजेदेखि कार्यक्रम शुरु हुने छ । हलिउडको डब्ली थिएटरमा समारोह आयोजना हुने छ ।

ओस्कार अवार्डको ९० वर्षको इतिहासमा पाँच पटक उद्घोषकबिना नै समारोह आयोजना गरिएको थियो । सन् १९३९, १९६९, १९७०, १९७१ र १९८९ मा उद्घोषकबिना नै समारोह आयोजना गरिएका थिए ।  

यस पटक कमेडियन केबिन हटले ओस्कार अवार्ड समारोहको उद्घोषण गर्ने तय गरिएको थियो । तर, उनले गरेको एउट ट्वीट विवादित भएको छ । समलिंगीको विरोधमा लेखिएको ट्वीटको धेरैले आलोचना गरेका छन् ।

ओस्कार निर्माताले उनलाई माफी माग्न आग्रह गरेका थिए । तर, उनले माफी नमागेर ओस्कार अवार्ड वितरण समारोहबाट अलग हुने जनाएका छन् ।

 

ताजा खबर