रेणुले माफी माग्नैपर्छ  

२०७४ श्रावण २२ आइतबार १६:११:०० मा प्रकाशित

मतपत्र च्यातेर पुन मतदान गर्ने परिवन्द रेणु दाहालको लागि वरदान सावित भयो । मतपत्र च्यात्ने कार्य नै उहाँको विजयको मुख्य कारण बन्यो । भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएकोमा रेणु दाहाललाई हार्दिक बधाई ।

हाम्रो पार्टी नेपाली कांग्रेसको काँधमा बसेर तपाईं विजयी हुनुभएको हो, त्यसैले खुसी छु । मेयर र उपमेयर दुवै महिला हुनुभएकोमा झन धेरै खुसी छु । मतपत्र च्यातेर आफ्नो पार्टीले गरेको अपराधमा तपाईंले माफी मागिदिनुभएको भए अझै धेरै भोट ल्याउनुहुन्थ्यो होला । तपाईंले माफी माग्नुपर्छ भनेर मैले खुल्ला पत्र मार्फत सुझाव पनि दिएकी थिएँ तर मान्नुभएन ।

अब पनि तपाईंले माफी माग्नुपर्छ । किनभने मेयर पद भनेको अभिभावक हो । अभिभावकले बाटो बिराउनु हुँदैन । तपाईंले महानता देखाउनुपर्छ । माफी मागेर सानो भइँदैन, बरु, आगामी दिनमा काम गर्न सजिलो हुन्छ । मतपत्र च्यात्ने काम तपाईंको पार्टीले गरेकै हो, यो अपराधमा तपाईंलाई जनताले दण्डित गरेनन्, किनभने तपाईंको साथमा नेपाली कांग्रेसका इमानदार कार्यकर्ताहरु थिए ।

अब तपाईंको काँधमा मतपत्र च्यातेर लागेको कलंक मेट्ने जिम्मेवारी छ । यसको लागि तपाईंले भरतपुर नगरलाई विकास र सुशासनको नमूना बनाउनुपर्छ । तपाईंको साथमा उपमेयर पार्वती शाह हुनुहुन्छ, उहाँको पूर्ण सहयोग र समर्थनमा काम गर्नुस् । त्यसैगरी मेयर भएँ भन्दैमा नमात्तिनुस्, हाम्रो देशमा पावरमा पुगेपछि मात्तिने चलन छ । यो चलनबाट जोगिनुस् । महानगर परिषदमा तपाईंको पार्टीको बहुमत छैन । कांग्रेस र एमालेलाई साथमा लिएर चल्नुस् । चुनाव जित्नुभएको छ, अब पार्टीको घेराभन्दा माथि उठेर साझा बन्नुस् ।

मतपत्र च्यातेको कलंक मेट्न माफी मागेर मात्र पुग्दैन, निर्वाचन प्रणाली र पद्धति सुधार गर्न र राजनीतिक नैतिकता स्थापित गर्न अगुवाई गर्नुहोस् । तपाईंले ढोकाबाट होइन झ्यालबाट चुनाव जितेको हो, त्यसैले अलिअलि लाज पनि लागेको होला । नलजाउनुस्, राम्रो काम गर्नुभयो भने कलंक अवश्य मेटिनेछ । तपाईको पार्टीले १७ हजार मानिस मारेको कलंक बोकेको छ तैपनि लजाएको छैन । हाम्रो पार्टी नेपाली कांग्रेसले पनि इतिहासमा धेरै गल्ती गरेको छ तर हामी गल्तीबाट सिक्दै अगाडि बढ्यौं । तपाईंको पार्टी चाहिँ ज्यानमारा राजनीतिबाट मतपत्र च्यात्ने राजनीतिमा आइपुग्यो । अब लोकमत र जनताको बहुमत सहर्ष स्वीकार्ने काम गर्नुहोस् ।

मतपत्र नच्याति तपाईंले जित्नुभएको भए कति राम्रो हुन्थ्यो होला तर अब त्यो गल्ती सच्याउने उपाय भनेको राम्रो काम गरेर देखाउने हो । राम्रो काम गर्न सक्नुभएन भने प्रचण्डको छोरी भएकोले मात्र तपाईं मेयर बन्न सफल भएको मानिनेछ । त्यसैले राम्रो काम गर्न र जनता सबैको हाम्रो बन्न शुभकामना ।

(लेखिका घिमिरे नेपाली कांग्रेस सुन्सरीकी युवा नेता हुन)

ताजा खबर