ऐश्वर्यले खोलिन् अभिषेकको पर्पोज कहानी

२०७५ पौष १९ बिहीबार १२:५५:०० मा प्रकाशित

काठमाडौं । जब एकाएक सन् २००७ मा बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिषेक बच्चनको बिहेको खबर बाहिर आएको थियो, सबै चकित परेका थिए । कसैलाई विश्वास नै थिएन, ऐश्वर्याले अभिषेकसँग बिहे गर्लिन भन्ने ।

त्यो साचो खबर थियो, किनकी ऐश्वर्या र अभिषेकले प्रेमसम्बन्धका विषयमा सूचना चुहाएका थिएनन् । उनीहरुले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।

त्यसको १२ वर्षपछि ऐश्वर्याले प्रेमसम्बन्धका विषयमा बोलेकी छन् । उनले ‘फिल्मफेयर’सँगको अन्तर्वार्तामा अभिषेकले गरेको पर्पोजका विषयमा पनि बोलेकी छन् ।

ऐश्वर्याको सुपरहिट फिल्म ‘गुरु’ रिलिज हुनुभन्दा अघि उनी अभिषेकलाई न्यूयोर्कमा भेटेकी थिइन् । जब होटलको स्वीटको बाल्कोनीमा ऐश्वर्या थिइन, त्यही बेला अभिषेकले पर्पोज गरेका थिए । ‘बाल्कोनीमा थिए, जसरी बलिउडका रोमान्टिक फिल्ममा पर्पोज गरिन्छ त्यसैगरी अभिषेकले घुँडा टेकेर पर्पोज गरेका थिए,’ ऐश्वर्याले हास्दै भनिन् ।

अभिषेकको पर्पोज स्वीकारेपछि ‘जोधा अकबर’ फिल्मको सेटमा कल्पनामा डुबेको समेत बताएकी छन् । त्यो फिल्मको सेटमा बेहुलीको रुपमा सजाइएको थियो । जब जोधा अकबरको गीत ‘ख्वाजा मेरे ख्वाजा’ सुटिङ हुन थाल्यो त्यसबेला कल्पनामा डुबेको उनले बताएकी हुन् ।

‘अनस्क्रिन अफ स्क्रिन यो सबै आफूसँगै भइरहेको महसुस गरे । म साच्चिकै बेहुली बनेकी छु जस्तो लाग्यो,’ ऐश्वर्याले त्यो समय सम्झिदै भनिन्, ‘जब निर्देशक आशुतोषले के सोच्दैछौ भनेर सोधे त्यसपछि म झस्किएँ ।’

त्यसपछि उनीहरुको मुम्बइमा बिहे भयो । ऐश्वर्या र अभिषेकको विहे भएको १२ वर्ष भएको छ । अझै पनि यो जोडीलाई पापराजीले पछ्याउन छोडेको छैन् ।

अचेल उनीहरु भन्दा पनि उनीहरुकी छोरी आराध्याको फोटो खिच्न पापराजीहरुले पिछा गर्दै आएका छन् ।

ताजा खबर