बालबालिकासँग प्रधानमन्त्री–‘मेरो आदर्श कोही छैन, सबै अग्रज र पूर्वजप्रति कृतज्ञ छु’ 

२०७५ पौष १७ मंगलबार १९:०३:०० मा प्रकाशित

काठमाडौं । मंगलबार मध्याह्नपछि राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य सभाकक्ष खचाखच भरिएको थियो । उपत्यकाकाका तीनवटै जिल्लाका केही विद्यालयका विद्यार्थीहरू थिए । साथमा थिए प्रधानमन्त्री केपी शर्मा ओली । कार्यक्रम थियो: ‘नयाँ वर्ष नयाँ पाइला, बालबालिकाका साथ प्रधानमन्त्री’ । आयोजक थियो नेपाल स्काउट । 

कार्यक्रममा प्रधानमन्त्रीसँग केही विद्यार्थीहरूले प्रश्न राख्ने अवसर पाए । विद्यार्थीले सोझै प्रधानमन्त्रीसँग प्रश्न राख्ने र प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम थियो । 

प्रधानमन्त्री ओली कार्यक्रममा पत्नी राधिका शाक्यका साथ सहभागी थिए । दुवैजनाले घाँटीमा स्काउटको स्कार्फ बेरेका थिए । एक छात्र र एक छात्राले संयुक्तरूपमा सहजीकरण गर्दै कार्यक्रम अघि बढाएका थिए । सुरुमा राष्ट्रिय गान सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली... अनि स्काउट गीत म नेपाली स्काउट.... । सहजकर्ता दुईमध्ये एकले प्रधानमन्त्रीको बाल्यकाल र अर्काले विद्यालय जीवनकाबारेमा प्रश्न सोधे ।

प्रधानमन्त्री ओलीले आफू पूर्वी पहाडको तेह्रथुम जिल्लामा जन्मेको, त्यहीँको स्कुलमा पढेको र आफू ‘सरदर’ विद्यार्थी रहेको बताए । उनले भने, ‘म केटाकेटीमा केटाकेटी जस्तै थिएँ, खेल्न रमाउने अनि घरमा पढ् भन्दा पढ्ने ।’ प्रधानमन्त्रीले यसो भनेपछि सभाकक्षमा हाँसोको फोहरा छुट्यो । उनले आफूले दुई किसिमको होमवर्क गरेर पढेको बताए । पहिलो होमवर्क स्कुलमा गुरु र गुरुमाले दिएको र दोस्रो चाहिँ घरमा आइलागेको   काम । 

एक छात्रले दैनिक एक हजारदेखि १५ सयसम्म युवाहरू रोजगारीको खोजीमा खाडी मुलुक गइरहेको भन्दै यी युवाहरूलाई देशमै रोजगारी दिन र यसरी विदेशिनबाट रोक्न सरकारसँग के कार्यक्रम छ भनी प्रश्न गरे । 

 त्यस प्रश्नको प्रधानमन्त्री ओलीले निकै लामो व्याख्यात्मक जवाफ दिए । देशमै रोजगारी सिर्जना गर्ने र जीवन खोज्दै सस्तो श्रमिकका रूपमा विदेशिनु पर्ने अवस्था अन्त्य गर्ने योजना आफूसँग रहेको बताए । उनले विदेशले मागेका विज्ञ र दक्ष व्यक्तिमात्रै जाने गरी शिक्षा र सिपको विकास गर्ने योजना रहेको पनि बताए । देशमै रोजगारी सिर्जना गर्न कृषिमा आधुनिकीकरण आफ्नो प्राथमिकता रहेको प्रधानमन्त्रीले बताए । 

एक छात्राले निर्मला पन्तको बलात्कार र हत्याका दोषी पत्ता लगाउन नसकेको भन्दै हामी कसरी सुरक्षित रहने भन्ने प्रश्न गरिन् । जवाफमा प्रधानमन्त्रीले अनुसन्धानको परिणाममा आश्चर्य प्रकट गरे । बलात्कार र हत्या गरेको भनेर अपराध कबोल गरेको, साविती बयान दिएको व्यक्तिको डिएनए रिपोर्ट नमिलेकोमा उनको आश्चर्य थियो । यस्तो किन भइरहेको छ भन्नेमा उनी छक्कै परेका रहेछन् । उक्त घटनालाई लिएर केही राजनीतिक दलले झण्डा उचालेको भन्दै असन्तुष्टि पनि प्रकट गरे ।  छानविन गर्ने निकायले स्वतन्त्र ढंगले काम गर्न नपाएको, यसलाई समात, उसलाई नसमात, यसलाई किन समात्यौ इत्यादि भनेर अनुसन्धानमा व्यवधान सिर्जना गरेको प्रधानमन्त्रीले बताए । 

उनले नेपाल प्रहरीले गरेका अनुसन्धान ९५ प्रतिशत सफल भएको भन्दै निर्मलाको घटनामा पनि प्रहरी सफल हुने विश्वास प्रकट गरे । उनले अनुसन्धानको सुरुमा केही प्रहरीले गल्ती गरेको पनि बताए । 

अर्का एक विद्यार्थीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै सुधारका लागि के कार्यक्रम छ भन्ने प्रश्न गरेका थिए । उनले अंग्रेजी माध्यममा जोड दिँदा कतै नेपाली भाषा त संकटमा पर्दैन भन्ने जिज्ञासा पनि राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनमा धेरै कारणहरू रहेको भन्दै सुधार गर्दै जानुको विकल्प नरहेको बताए । उनले विद्यालयको भौतिक सुविधाको अवस्था, शिक्षक लगायतमा पनि शैक्षिक गुणस्तर भर पर्ने बताए । 

अर्का एक विद्यार्थीले निःशुल्क शिक्षा भने पनि विद्यार्थीहरूले शिक्षाका सबै अवसरहरू नपाएको भन्दै प्रश्न राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबैको आर्थिक हैसियत बढाउन आय आर्जनमा सरकारले जोड दिएको बताए । यसका लागि केही समय लाग्ने प्रधानमन्त्रीको भनाइ थियो । 

सहजर्ता मध्येका एकले ‘हजुरको खुसी के हो’ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले बालबालिकाको चेहरामा मुस्कान नै आफ्नो खुसी हो भने । उनी हरेक बालबालिकाले पौष्टिक आहार खाएको, न्यानो लुगा लगाएको र खुसीका साथ विद्यालय गएको हेर्न चाहन्छन् । यही नै उनको खुसी हो । अर्का सहजकार्ताले आफ्नो आदर्श कसलाई मान्नुहुन्छ भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले आफू मुर्तिपुजक र व्यक्तिपुजक होइन भन्दै कुनै एक व्यक्ति आफ्नो आदर्श नरहेको र मानवसमाजको भलाइका लागि योगदान गर्ने सबै अग्रज र पूर्वजप्रति आफू कृतज्ञ रहेको बताए । 

प्रधानमन्त्री ओलीले करिव सवा घण्टामा १० वटा प्रश्नको जवाफ दिएका थिए । यीमध्ये चारवटा प्रश्न सहजकर्ता दुई विद्यार्थीले सोधका थिए भने बाँकी अन्य सहभागीले । 

केही विद्यार्थी प्रश्न सोध्न हात उठाउँदै थिए तर अवसर पाएनन् । सुरुका प्रश्नहरूका प्रधानमन्त्रीले केही बढी समय लिएका थिए । विद्यार्थीहरू साढे ११ बजे सभाकक्षमा प्रवेश गरेका थिए । साढे १२ बजे सुरु हुने भनिएकोमा प्रधानमन्त्री ओली एक बजे प्रवेश गरेका थिए । कार्यक्रमको अन्त्यमा विद्यालयगत अधारमा विद्यार्थीहरूले प्रधानमन्त्रीसँग सामूहिक तस्वीर खिचाउने अवसर पाएका थिए ।  

ताजा खबर