बेच्न लागेको विमानमा १४ करोड खर्च गर्ने तयारी ?

२०७५ पौष १७ मंगलबार ११:३०:०० मा प्रकाशित

काठमाडौं,१७ पुस । नेपाल वायुसेवा निगम (नेवानि) ले बेच्ने तयारी गरिरहेको अन्तिम बोइङ जहाज मर्मतको लागि १४ करोड खर्च गर्ने तयारी गरिरहेको छ ।

३१ वर्ष पुुरानो भएको र बेला बेलामा ग्राउन्डेड भएर समस्या आएको भन्दै बेच्न खोजिएको उक्त बोइङ अहिले मलेसियाको राजधानी क्वालालुम्पुरको एयरपोर्टमा ‘ग्राउन्डेड’ छ । सामान्य समस्या आएको भन्दै लगिएको जहाजमा गम्भीर समस्या देखिएपछि सो जहाज २ महिना भन्दा बढि समय देखि मलेसियामै थन्किएको छ ।

उक्त जहाज मर्मत भएर आउँदा करिब १४ करोड खर्च हुने निगम श्रोतले बताएको छ । जहाजको मर्मत, लामो समय देखिको एयरपोर्टको पार्किङ शुल्क, जहाजसँगै मलेसियामा रहेका ६ जना इन्जिनियरको खर्चको कारण मर्मत शुल्क यसरी ह्वात्तै बढेको थाहा भएको छ । यसअघि नै जहाज पुरानो भएको भन्दै ‘गण्डकी’ नामक उक्त अमेरिकी बोइङ कम्पनीको ७५७ सिरिजको जहाजलाई बेच्नको लागि स्वीट्जरल्याण्डको फिनटेक कम्पनीलाई परामर्शदाता नियुक्त गरिएको थियो ।

उक्त कम्पनीले ४५ दिन अध्ययन गरेर त्यो जहाज अधिकतम मूल्य ६२ करोड ९ लाख र न्यूनतम ५० करोड ८ लाखमा बिक्री गर्न उपयुक्त हुने परामर्श दिएको थियो । नेवानिले अहिले पछिल्लो समय बोइङको जहाजलाई ‘फेजआउट’ गर्दै एयरबसका जहाजहरुमै ध्यान केन्द्रित गरिरहेको देखिएको छ ।

वरिष्ठ क्याप्टेन शिशिर शर्मा भने विश्व परिवेशमा हेर्दा एयरबसको तुलनामा बोइङको जहाजहरु नै चल्ने बताउँछन् । केहि महंगो हुने भएपनि उपयोगको आधारमा बोइङले मुनाफा गराउने भएकोले पनि कतार एयरवेज, इमिरेट्स र एयर इन्डिया जस्ता कम्पनीहरुले केहि एयरबसका जहाज राखेपनि बोइङलाई नै बढि प्रयोग गर्ने गरेको क्याप्टेन शर्मा बताउँछन् ।

निगम व्यवस्थापनले घाँडो मानेको यो जहाजमा यति नकारात्मक नहुनुपर्ने पनि क्याप्टेन शर्मा बताउँछन् । उनि भन्छन्, ‘सानो सानो कारण देखाउँदै यहाँ नेवानिको जहाजहरु ग्राउन्डेड हुने समस्या पनि देखिन्छ । विश्व आकाशमा ७२७ सिरिजका जहाजहरु उडिरहेका छन् । म अहिले भारतमा बोइङको ७५७ सिरिजकै जहाज चलाउँछु । आजको मितिसम्म मैले त्यहाँ जहाज चलाउँदा केहि समय उडानमा ढिलो हुने बाहेक जहाज ग्राउन्डेड भएको थाहा पाएको छैन । यसको मुख्य कारण जहाजको पर्याप्त ‘मेन्टेनेन्स’ नै हो ।’

उनका अनुसार बोइङ ७५७ मा सधैं समस्याको थाक देखाउने प्रवृत्ति चाहिं ‘नाच्न नजान्नेको लागि आँगन टेढो’ मात्र हो । उडाउन योग्य भएकै कारण उक्त जहाज उडाइरहेको परिप्रेक्ष्यमा साना समस्यालाई नियमित मर्मतले समाधान गर्नुपर्ने पनि क्याप्टेन शर्माको जोड रहेको छ ।

‘सबै पुरानो जहाजमा समस्या छ भन्ने हो भने नयाँमा त्यो समस्या नदेखिनु पर्ने हो । तर नेवानिको वाइडबडीमा किन समस्याहरु आइरहेका छन् ?’ उनले प्रश्न पनि गरेका छन् ।

 

 

ताजा खबर