कांग्रेस महासमितिले गर्न नसकेका कामहरु

२०७५ पौष १६ सोमबार १६:५०:०० मा प्रकाशित

केही मुख्य नेताहरुले हात मिलाउने, गला मिलाउने अनि भन्ने– ‘पार्टीमा एकता भयो ।’ यस्तो नौटंकी दशकौंदेखि नेपाली कांग्रेसमा चलिरहेछ । पुनः अर्काे विवाद सुरु हुन्छ, गुटहरुबीच ठूलो टकराव हुन्छ । टकराव मत्थर गर्दै फेरि पनि भन्छन्, ‘पार्टीमा एकता भयो ।’ यो पुरातन दृश्य महासमितिको यसपटकको वैठकमा पनि देख्न पाइयो । 

पार्टीभित्र मेलमिलाप अपरिहार्य बिषय हो तर कस्तो मेलमिलाप ? केही नेताले हात र गला मिलाउने, फोटो खिचाउने मेलमिलापले पार्टी र देशलाई ठोस परिणाम दिन सक्दैन । यसका लागि वीपी कोइरालाद्वारा प्रवद्र्धित राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आत्मसात गर्नुपर्ने हुन्छ । वीपी बिचारमा आधारित मेलामिलाप नीतिले पार्टीलाई मात्र नभएर देशलाई नै सकारात्मक परिणाम दिनसक्छ ।

महासमितिले पार्टीमा एकता भएकै हो त ? यो प्रश्नमा घोत्लिुनपर्ने भएको छ । पार्टीमा विभिन्न गुटहरु छन् । गुट उपगुटहरुले आआफ्नो स्वार्थमा काम गरिरहेका छन् । पार्टीमा एकता भयो भनेका भरमा गुटहरुको अस्तित्व समाप्त हुन असम्भव छ । ठूलो राजनीतिक दलमा गुटहरुको अस्तित्व समाप्त पार्ने कल्पना गर्नु बेकार हो । गुटविहिन पार्टी हुँदैन । गुटहरुको टकराव हुनु स्वाभाविक प्रकृया हो, यसलाई समस्या मान्न हुँदैन । तथापि गुटहरुका कारण कांग्रेस समस्यामा फसेको छ । गुटहरुले पार्टीगत हितभन्दा गुटगत हितलाई माथि राख्नाले समस्या भएको हो । गुटहरु पनि बिचार केन्द्रीत नभएर नेता केन्द्रीत भएकाले समस्या भएको हो । त्यसैले महासमिति वैठकमा पार्टीमा एकता भयो भन्नु खासै महत्वको बिषय होइन । 

कांग्रेसको विधान संशोधन गर्नैपर्ने भएको थियो । विधान संशोधन गरिनुलाई महासमितिको ठूलो उपलब्धी भनिँदैछ । विधान संशोधन प्राविधिक बिषय हो, यसलाई ठूलो उपलब्धी मान्नुको अर्थ छैन । विधान संशोधन धेरै पहिले हुनुपर्ने थियो तर भएको थिएन । ढिलै भए पनि संशोधन भयो । विधानको नयाँ स्वरुपले पार्टी र देशलाई भविष्यमा केकस्तो प्रभाव र असर पार्छ भन्ने देखिएपछि मात्र विधान संशोधनलाई उपलब्धी मान्ने कि नमान्ने भन्ने निर्क्योल हुन सक्छ । 

महासमिति वैठक हुनु आफंैमा पनि उपलब्धी हो । यो उपलब्धीमा टेकेर थप केके उपलब्धी हासिल गरियो ? यो प्रश्नमा आगामी  दिनमा बहस हुन जरुरी छ । महासमितिको उपलब्धी के हो त ? विधान उपलब्धी होइन, ‘पार्टी एकता’ उपलब्धी होइन, राजनीतिक प्रतिवेदन पनि उपलब्धी होइन । त्यसो भए उपलब्धी के ? स्वाभाविक रुपमा प्रश्न तेर्सन्छ । 

महासमितिको एउटा ठूलो उपलब्धी देशभरीका कांग्रेसजनको आपसी भेटघाट र विमर्श हो । पार्टी भनेको परिवार पनि हो । देशभरीका कांग्रेसजन एक ठाउँ भेला हुनुले एउटा भावनाको बिकास गर्छ । संगठन बिचारले मात्र चल्दैन, भावनाले पनि चल्छ, मनोविज्ञानले पनि चल्छ । महासमिति मेलाले कांग्रेसमा विशेष खालको भावनाको संचार गरेको छ । यो उपलब्धी कुनै कागज या दस्तावेदमा लेखिने बिषय होइन । 

तर, महासमितिले केही ठोस र देखिने उपलब्धी हासिल गर्न आवश्यक थियो । त्यस्तो उपलब्धी केके हासिल भयो ? बहसको बिषय हुनसक्छ । 

महासमिति वैठकका सामु केही राजनीतिक कार्यभार थिए । पार्टीलाई मनोवैज्ञानिक तथा नैतिक रुपमा माथि उठाउनुपर्ने मुख्य जिम्मेवारी थियो । कांग्रेस पराजित भएको होइन र कांग्रेस कहिल्यै पराजित हुन सक्दैन, भविष्य कांग्रेसको हो भन्ने आशा जगाउन सक्नुपर्ने थियो । हुनत यस्तो आशा जाग्न थालेको छ । कांग्रेस आन्तरिक रुपमा सशक्त र परिवर्तित बनेको हुनाले भविष्य कांग्रेसको हो भन्ने आशा जाग्न थालेको होइन । सरकार चलाइरहेको नेकपाको निरन्तर अधोगति देखिन थालेपछि कांग्रेसमा आशा जागेको हो । नकारात्मक कारणहरुको संयोजनले जागेको सकारात्मक आशा टिकाउ हुँदैन । अरुको असफलतालाई आफ्नो सफलता ठान्नु हुँदैन । यस्तो कलुषित बिचार कम्युनिष्टहरुले राख्छन्, नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले राख्न हुँदैन । 

यो सरकारले असाध्यै राम्रो काम गरोस्, देशलाई साँच्चै नै समृद्धि पथमा हिँडाओस्, स्थिरता दिओस्, नेकपा लोकप्रिय बनोस् तर नेकपा भन्दा कांग्रेस जनप्रिय बनोस् भनी कांग्रेसजनले कामना गर्ने हो । कामना अनुसारको व्यवहार गर्ने हो । 

महासमितिले कांग्रेसमा केही ठोस मनोविज्ञान बिकास गर्नुपर्ने थियो, त्यो हुन सकेन । कांग्रेसको समस्या नीतिमा होइन रणनीतिमा हो । नीतिको कुरा गर्ने हो भने आज निर्विकल्प बनेको लोकतान्त्रिक संसदीय पद्धतिको उन्नायक कांग्रेस नै हो । कांग्रेसको नीतिमा देश हिँडिरहेको छ । नीतिका दृष्टिले कांग्रेसको दिग्विजय भएको छ । तर, नीति जसको नेतृत्व उसको भएन । किनभने कांग्रेसले आत्मगत तथा रणनीतिगत गल्तीहरु गर्यो । आगामी दिनमा पनि कांग्रेसले रणनीतिगत तथा आत्मगत गल्तीहरु गर्छ भने नेकपाको असफलताको भरमा कांग्रेसले नेतृत्व गर्ने दिन आउँछ भन्न सकिँदैन ।

महासमिति वैठकलाई आम जनताले चासोसाथ हेरेका थिए । महासमिति वैठकले कांग्रेस पार्टीलाई मात्र नभएर देशलाई नै निर्देशित गर्ने अपेक्षा गरिएको थियो । मुख्य नेताहरु निजी तथा गुटगत स्वार्थभन्दा माथि उठ्छन्, स्वार्थत्यागको भावनाले ओतप्रोत भएर महासमितिमा प्रस्तुत हुन्छन् भन्ने अपेक्षा थियो । गुटभन्दा माथि पार्टी, पार्टीभन्दा माथि देश भन्ने भावनालाई व्यवहारमा उतार्ने संकल्प तथा प्रतिवद्धतामा होमिन्छन् भन्ने अपेक्षा थियो । यो अपेक्षा पूरा भएन । यस्तो अपेक्षा किन थियो भने कांग्रेस तथा देशलाई आज स्वार्थत्यागको भावना र व्यवहार चाहिएको छ । यो सबैले महशुस गरेको विषय हो । राजनीति मानव कल्याणका लागि हो भन्ने मूल्यमान्यता र आदर्श स्थापित गर्न महासमिति वैठक कोशेढुंगा सावित हुनेछ भनी अपेक्षा गर्नेहरु खिन्न भएका हुनुपर्छ । 

त्यागकै कुरा गर्ने हो भने कांग्रेसले गत चुनावमा व्यवहोरेको पराजयपछि त्यसको उपचारका लागि केही ठोस कदम चालिने अपेक्षा गरिएको थियो । त्यागको भावना नेतृत्वले देखाउन सकेन । त्यागको भावना देखाउन चाहन्थ्यो भने अहिलेको नेतृत्व पुस्ताले त्यागको भावना देखाउँदै आगामी दिन नयाँ पुस्तालाई जिम्मेवारी दिन्छौं भन्न सक्नुपथर््यो । अब पार्टीमा संरक्षक मात्र रहन्छौं भन्न सक्नुपथर््यो । यो अपेक्षा पनि पूरा भएन । 

महासमितिमा राजनीतिक प्रतिवेदन पारित भयो भनियो तर त्यो प्रतिवेदन केन्द्रीय समितिले परिमार्जन गर्न बाँकी छ । कसरी परिमार्जन गर्छ अहिले नै भन्न सकिन्न । केन्द्रीय समिति वैठक कहिले बस्छ भन्ने पनि थाहा छैन । अर्थात्, राजनीतिक प्रतिवेदनमा यो छ, कांग्रेसले आगामी दिनमा यो रणनीति अंगीकार गर्छ भन्ने सन्देश बोकेर कांग्रेसजन जिल्ला फर्कन पाएनन् । 

उता विधान पनि पूरै जन्मिएको छैन । विधानका केही मुख्य प्रावधानहरुमा ‘सहमति’ भयो अरे । महासमिति सदस्यहरुले पनि सहमतिको कुरा सुने तर विधान कस्तो बन्यो भनेर यकिनसाथ भन्न सकिने अवस्था छैन । बहालवाला केन्द्रीय सदस्यले महाधिवेशनमा तलबाटै चुनिएर आउनुपर्ने कि नपर्ने ? समावेसी कोटामा एकपटक अवसर पाइसकेको व्यक्तिले बारम्बार अवसर पाउने कि नपाउने ? यस्ता महत्वपूर्ण बिषयमा विधानमा के गरिन्छ भन्ने अनिश्चित छ । यसको जिम्मा केन्द्रीय समितिलाई दिइएको छ । 

फेरि चर्चा गरौं महासमितिको उपलब्धीको । महासमितिले गर्नुपर्ने के थियो र गरेन के ? यो नै मुख्य प्रश्न हो । महासमितिको उपलब्धी यो हो र यो होइन भन्नेमा बहस हुनु पनि नौलो कुरा भएन । व्यक्तिपिच्छे दृष्टिकोण हुनु स्वाभाविक हो । तर, केही यस्ता मूलभूत बिषय थिए जसलाई महासमितिले गर्नैपर्ने थियो । 

महासमिति वैठकबाटै महाधिवेशन तिथिको घोषणा हुनुपथर््यो । ठ्याक्कै मिति घोषणा गर्न व्यवहारिक हुँदैनथ्यो भने पनि गाउँ, नगर, जिल्ला तहको अधिवेशन यो मितिभित्र गरिसक्ने, महाधिवेशन यो महिनामा गर्ने भनेर महासमितिले निर्देशित गर्नुपर्ने थियो । यो काम भएन । 

महासमितिले सुन्दर नाराहरु तय गर्यो । सुन्दर नाराको आकर्षणलाई अन्यथा भन्न मिल्दैन । नाराले बिचार र भावना दिन्छ, उर्जा पनि दिन्छ । तबमात्र दिन्छ जब नारालाई संकल्पको जगमा उभ्याइन्छ । संकल्पविहिन नारा निर्जिव हुन्छ । ‘बदलिन्छौं हामी, बदल्छौं कांग्रेस, सुधार्छौ पार्टी, बनाउँछौं देश’ भन्दै महासमितिले संकल्प लिनुपथर््यो । अझ सकिन्थ्यो भने महासमितिका सम्पूर्ण सदस्यले पाँच मिनेट गहिरो ध्यान सहित आत्मनिरीक्षण गर्ने तत्पश्चात ‘बदलिन्छौ हामी, बदल्छौ कांग्रेस, सुधार्छौ पार्टी, बनाउँछौ देश’ भन्ने नारालाई संकल्पका रुपमा ग्रहण गर्नपर्ने थियो । इमानसाथ गरिएको संकल्पमा ठूलो शक्ति हुन्छ भन्ने कांग्रेसजनले भुल्न हुँदैन । मुखले नारा भन्नु या आँखाले नारा पढ्नुभन्दा संकल्पसहित नारालाई ह्रदयबाट ग्रहण गर्नु कैयन गुणा शक्तिशाली कार्य हो । 

महासमितिले निर्णयहरु गर्यो तर संकल्प गरेन । नेताहरुले एकता भएको घोषणा गरे तर आफू रुपान्तरण भएको संकल्प सहित घोषणा गरेनन् । अरुलाई आरोप लगाउन सजिलो हुन्छ तर आफ्नो आलोचना आफैं गर्दै, आफ्नो दोष आफैं देखाउँदै आगामी दिनमा गल्ती नदोहोर्याउने संकल्प गरेनन् । यस्तो संकल्पले पार्टीलाई सटिक रणनीतिको बाटोमा अगाडि बढाउन ठोस योगदान दिने थियो । 

महासमितिपछि कांग्रेस कुन बाटो हिँड्छ ? कसरी हिँड्छ ? यो महत्वपूर्ण प्रश्न हो । इमान र संकल्पसाथ कांग्रेस हिँड्नुपर्छ । देशको वृहत्तर हितलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ । गुटको घेराभन्दा माथि उठेर सबैले पार्टी भन्ने हो भने कांग्रेस अजेय हुन्छ । पार्टीभन्दा माथि उठेर देश र जनताका लागि सोच्ने र तद्अनुरुप व्यवहार गर्ने हो भने कांग्रेसको भविष्य उज्जवल र नेपालको भविष्य महाउज्जवल अवश्य हुनेछ । 


 

ताजा खबर