फेसबुकको समस्या समाधान गर्न एक वर्ष लाग्ने

२०७५ पौष १६ सोमबार १२:२२:०० मा प्रकाशित

काठमाडौं । फेसबुकमा तथ्यांक चोरी हुने समस्या समाधान गर्न एक वर्ष लाग्ने जनाएको छ ।

फेसबुकका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले तथ्यांक चोरीको समस्या समाधान हुन अझै एक वर्ष लाग्ने बताएका हुन् । युरोप र अमेरिकी कम्पनीहरुले फेसबुकबाट व्यक्तिगत तथ्यांक, सूचना तथा जानकारी चोरी गर्दै आएका छन् ।

जसका कारण व्यक्तिगत जानकारी बाहिरिन थालेपछि जुकरबर्गले अमेरिकी सिनेटमा जवाफ दिनु परेको थियो । त्यस्तै, अदालतमा पनि उपस्थित हुनु परेको थियो ।

यो वर्ष करोडौं व्यक्तिको जानकारी फेसबुकबाट चोरी भएको थियो । जसका लागि फेसबुकले आलोचना खेप्नु परेको छ ।
यो सबै समस्या समाधान हुन अझ एक वर्ष लाग्ने सीईओ जुकरबर्गले बताएका हुन् । ‘डाटा चोरीको समस्या समाधान हुन अझै एक वर्ष लाग्ने छ । तर, फेसबुक पोस्टमार्फत चुनावमा हस्तक्षेप, प्रभावित पार्ने लगायतका कार्य भने कहिल्यै रोक्न सकिने छैन् ।’

उनले पहिलेको भन्दा अहिले सुरक्षित भएको दावी गरेका छन् । कम्पनी पूर्ण रुपमा फेरबदल गरिएको जनाएका छन् । फेसबुकमा आउने समस्या समाधान गर्न सतर्कता अपनाइएको जनाएको छ ।

अहिले फेसबुकले आतंकवाद तथा घृणा फैलाउने ९९ प्रतिशत तस्विर, पोस्ट प्रयोगकर्ताले गुनासो गर्नु भन्दा अघि नै हटाउने गरिएको उनले बताए ।

उनले चुनावमा प्रभाव पार्ने, झुटा हल्ला फैलाउने लगायतका क्रियाकलाप फेसबुकबाटै भइरहेको स्वीकारेका छन् ।
अहिले फेसबुक कम्पनीमा ३६ हजार पूर्णकालिन र ३० हजार पार्ट टाइम काम गर्ने कर्मचारी कार्यरत छन् ।

ताजा खबर