नेपाल मेरो सबै मेरै     

२०७५ पौष १६ सोमबार ११:१७:०० मा प्रकाशित

मेरो देश म नेपालको नागरिक बाटोमा हिँड्दा पिच्च–पिच्च थुक्दै हिँड्छु । कहिं खोकेर खकार निकालेर थुक्क गर्दिन्छु । बाटोमा हिँड्दा वरिपरिका मानिसलाई मर्का परे नपरेको बिषयमा म ध्यान दिन्न । मलाई लाग्दछकी म हिँडने बाटो मेरो पूर्खाले दिएको मेरो मात्र सम्पत्ति हो र म बाहेक यो देशमा कोहि पनि बस्दैनन् । त्यहि सोचेर मैले म बस्ने कोठाभित्र थुक्छु, घरको कौसीबाट गर्वका साथ थुक्छु, मलाई बाटामा खकार्न र थुक्नमा आनन्द आउँछ । म बस्ने कोठामा थुक्छु, घर अनि महलमा बसेर आवाज निकालेर थुक्छु र मलाई गर्व गरेको महशुस गर्दछु किनकी म नेपाली जनता हो ।

मैले कहिल्यै सोचेको छैन कि म नेपालको जनता भएकोले जथाभावी थुक्न स्वतन्त्रता मिलेको हो भनेर । यदि म सिंगापुरमा जन्मिएर नेपालमा जस्तै गरी पान पराग खाएर जथाभावी बाटोमा थुक्दै हिँडेको भए मलाई जरिवाना मिल्ने थियो मेरो बानी नसुध्रिएको भएमा म सायद जेलमा पनि बस्थें होला । तर म नेपाली जनता भएकोले पान पराग गुट्का चवाउँछु अनि खोल बाटोमा जहाँ मन लाग्यो त्यहिं फाल्नु र थुक्नु मेरो अधिकार हो किनकी म नेपाली जनता हो र नेपाल सबै मेरै हो । 

म नेपालको प्रहरी हो मलाई मन लागे अनुसार अनुसन्धान गर्छु र मैले गरेका सबै कानूनी प्रक्रिया हो भन्दिन्छु ।  यदि कसैले विरोध नै गरे भने पनि वरिपरि सजिलै समात्न मिल्ने अन्यलाई समाति दिन्छु र त्यस्लाई सजिलैसँग कसुर गरेको हो भन्ने बनाईदिन सक्छु किनकी मलाई मेरा मालिकले त्यै गर्न निर्देशन दिएका छन् र ममा भने कुनै विवेक नै छैन । यदि मैले गरेको कुकर्ममा कसैले विरोध गरेनन् भने मैले समातेकालाई नै अपराधी भनेर आरोप स्वीकार्न बाध्य पारिदिन्छु किनकी म त नेपालको प्रहरी हो र मेरो जागिरको शुरुवातबाट ३० वर्ष र अन्य अवस्थामा ५८ वर्ष हुँदासम्म लौरो घुमाउन मिल्ने अधिकार मलार्इ मिलेको छ । 

म नेपालको निजामती कर्मचारी हो मलाई मनलागे अनुसार कलम घुमाउन र मेरो मर्जी अनुसार देश चल्नु पर्छ भन्ने थाहा छ तर कुनै जनतालाई सेवा दिनुपर्छ भन्ने मलाई मतलव छैन किनकि मैले सेवा दिने जनताले तिरेको करबाट मेरो जागिर र पेन्सन आउने कुरामा मलाई वास्ता पनि छैन किनकी मैले जिन्दगीमा कलम घुमाएको आधारमा नै केहि पुस्ताका लागि आवश्यक पर्ने रकम जोहो गरिसकेको छु उदाहरण खोजेको हो, त्यो त एक जना अधिकृतले २ वर्षमा ७ करोड रकम आर्जन गरेको बारेमा यो देशका जनतालाई के थाहा छैन? लाजै नभएका जनता र म नेपाल भन्ने देशको निजामती कर्मचारी । 

म नेपाल भन्ने देशको राजनीतिज्ञ, आज देशको शासन यति राम्रोसँग चलाईरहेको छु मानौं विश्वका अन्य मुलुकले पनि हाम्रो अनुशरण गर्नु पर्दछ । घुष जस्ले जति खाए पनि हुन्छ र यदि दसा लागेर समातिएको खण्डमा चिन्ता नगर्नुहोस् छोटो समयमा नै अदालत नामको विद्यालयको प्रमाणपत्र केहि थान र केहि थान नागरिकता प्रमाणपत्र पनि भएका व्यक्तिहरुबाट सहज रुपमा छुट्कारा मिलिहाल्छ । यस्मा पनि कुनै चिन्ता लिनु पर्ने अवस्था नै  छैन । 

म यहि देशको राजनीतिज्ञ हूँ मैले यत्रो संघर्ष गरेर आज सांसद भएँ अनि मन्त्री पनि भैसकें । मसँग अरु सानातिना कुरामा ख्यालख्यालेहरुले सवाल जवाफ नगर्दा हुन्छ । म त मेरो श्रीमती र परिवारले मात्र भोट दिएर जिताएको व्यक्ति हूँ अरुको मलाई कुनै मतलव छैन । मलाई फेरी चुनाव जितेर राजनीती गर्ने ईच्छा पनि छैन । त्यसैले मसँग कसैले ठूला कुरा गर्ने होईन । हामीले अहिले नकमाए कहिले कमाउने ? बिकास हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? हामीले नगरे नाथे जनताले गर्ने ?   


 

ताजा खबर