यी हुन्  सन् २०१८ का उत्कृष्ट १० फिल्म....

२०७५ पौष १६ सोमबार ०६:२३:०० मा प्रकाशित

काठमाडौ,१६ पुस । सन् २०१८ अब एक दिन बाँकी छ । वर्षको अन्तिममा बिबिसीले यसवर्ष बनेका १० उत्कृष्ट फिल्म छनोट गरेको छ । बिबिसीका‘कल्चर’ संवाददाता निकोलस बार्बरको छनोटमा परेका वर्षका १० उत्कृष्ट फिल्मः
१.द क्वाइट प्लेस
जोन क्रासिन्कीको निर्देशन र सहलेखनमा बनेको यो फिल्ममा उनल आफ्नै श्रीमती इमिली ब्लन्टसँग अभिनय गरेका छन् । यो हरर फिल्ममा एलियनहरुले मानवताको अन्त्य गरेको दृश्य देखाइएको छ । यी एलियनहरु देख्न सक्दैनन् तर सुन्न सक्छन् । आवाजकै भरमा उनीहरु चलिरहेका हुन्छन् । एलियनको आतंकपछि फिल्मका मुख्य पात्रहरु सांकेतिक भाषामा कुरा गर्छन् र खालिखुट्टा हिड्छन् । पात्रहरुको समस्याबाट दर्शकलाई फिल्ममा क्रासिन्स्की बाँधिराख्न सफल छन् ।
२.सपलिफ्टर 
यस वर्षको क्यानेज फिल्म फेस्टिबलमा प्लाम डि’ओर जित्न सफल जापानी फिल्म सपलिफटर सामाजिक–राजनीतिक विषयमा आधारित फिल्म हो । यसले एउटा परिवारको तीनपुस्ताको कथा भन्छ ।  लीली फ्रयांक र सुकारा आन्दो लगायत कलाकारको अभिनय रहेको फिल्ममा देखाइएको परिवार आफ्नो सानो वैध कमाइका अतिरिक्त चोरीमार्फत कमाइ गर्न थाल्छ । यी पात्रहरुलाई भलाद्मी रुपमा प्रस्तुत गरिएको छ र चोरी गर्नु किन उनीहरुको बाध्यता हो भन्ने देखाइएको छ । 
३.कोल्ड वार 
तोम्साज कोट र जोअन्ना कुलिगले अभिनय गरेको फिल्म त्यस्तो प्रेम कहानी हो, जहाँ प्रमी र प्रेमीका न सँगै बस्न सक्छन्, न त एक अर्काबाट टाढा । पोल्याण्डका पावेल पाव्लीकोस्कीको यो फिल्म आफ्ना बाबुआमाको सम्झनामा आधारित रहेको बताइएको छ ।
४. इफ बेल स्ट्रीट कुड टक 
जेम्स बाल्डवीनको यही नामको उपन्यासमा आधारित यो फिल्म गरीबी, प्रहरीको अत्याचार र राज्यको संरचनागत नश्लीय विभेदमा परेको युवा जोडीको कथा हो । बेरी ज्याकिन्सले बनाएको यो अमेरिकी फिल्ममा स्टेफेन जेम्स र किकि लायनको अभिनय देख्न सकिन्छ । 
५.द फेवरेट
योर्गोस लान्थिमोस समाजका विसंगत पक्षहरुमा फिल्म बनाउन माहिर निर्देशक हुन् । तर, द फेवरेटमार्फत उनले ऐतिहासिक विषयमा पनि हात हालेका छन् र सफलता पनि पाएका छन् । यो फिल्म सन् १७०० आसपासको इंग्लिस दरबारको कथामा आधारित छ ।
६.स्पाइडर–म्यानः इन टु द स्पाइडर भर्स
यो वर्ष सुपरहिरो भएका फिल्मकाकारण सनसनीपूर्ण रहयो, जसमा यो फिल्मको स्थान भने विशेष छ । यो अमेरिकी फिल्ममा माइल्स मोर्लेस मुख्य पात्रका रुपमा छन् । कम्युटर र हस्तलिखित एनिमेसन, क्याम्पसन र चित्रहरुको प्रयोगले यसलाई अरु सुपरहिरो फिल्म भन्दा भिन्न र ‘कमिक’ किताबसँग नजिक बनाएको छ।
७.द राइडर 
क्लोइ जाओको लेखन र निर्देशनमा बनेको यो फिल्म एउटा महत्वकांक्षी युवा घोडचडीको कथा हो, जो प्रतियोगीताको दौरान घोडाबाट लडेर घाइते भएको छ । घाइते भएपछि आफ्नो सार्थकता खोज्न उसले गरेको संघर्ष नै यो फिल्मको कथा हो ।
८. लिभ नो ट्रेस
अमेरिकाका सीमान्तकृत जीवनको कथा भन्ने यो फिल्म डेब्रा ग्रानिकले निर्देशन गरेका हुन् । यो पीटर रकको किताब ‘माइ अबान्डनमेन्ट’मा आधारित छ । मानसिक समस्या झेलिरहेको मुख्य पात्र विल, जसको भूमिका बेन फस्टरले निभाएका छन्, अमेरिकाको एउटा राष्ट्रिय निकुञ्जमा आफ्नी किशोरी छोरीसँग बस्छ । ऊ इराक युद्ध लडेको सैनिक हो । उसलाई निकुञ्ज सुरक्षा गर्ने सैनिकहरुले भेट्छन् र पक्राउ गर्छन् ।
९. फस्ट म्यान
प्हिलोपटक चन्द्रमा पुगेका नील आम्र्सटङको जीवनीमा बनेको यो फिल्म ड्यामेन च्याजले र र्यान गोस्लिङले बनाएका हुन् । यो फिल्मले अन्त्यमा दर्शकहरुलाई एउटा प्रश्न छोड्छ, चन्द्रमा पुगेर खुशी भएका नील पृथ्वीमा खुशी छन् त ?
१०.स्वीट कन्ट्री
अस्ट्रेलियाको सेटिङमा बनेको यो फिल्मको मुख्या पात्र स्याम (ह्यामिल्टन मोरिस)ले आफ्नी श्रीमतीको बलातकार गर्न खोज्नेको हत्या गरेपछि यो फिल्म सुरु हुन्छ । फिल्ममा फ्ल्यास ब्याकको सुन्दर प्रयोग छ ।(नयाँ पत्रिका दैनिकबाट)

ताजा खबर