के सूर्यनाथ,झलनाथ र रामचन्द्र पौडेल तयार छन् ?

२०७५ पौष १५ आइतबार ०९:४८:०० मा प्रकाशित


यहाँ यौटा तस्वीर पोष्ट गरेको छु । हालै अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायहरूले प्रम ओलीलाई भेटेर सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गरिनु पर्ने माग गरेका छन् । तस्वीरमा ओली र अन्य सबै प्रफुल्ल देखिएका छन् । 

यसअघि शाही सत्ताको बेला धेरथोर यो काम भयो पनि । राजा ज्ञानेन्द्रले भनेर प्रम शेर बहादुर देउवाले एक आयोग बनाएका थिए । देउवाले करिब ३१ हजारको सम्पत्ति छानबिन गरि लगभग ३ हजार उपर मुद्दा चलाउने ठहर गरि ज्ञानेन्द्रलाई प्रतिवेदन बुझाएका थिए । ज्ञानेन्द्रले “कारवाही गर्ने” भनी सो प्रतिवेदन अख्तियारमा पठाएका थिए । यिनै सूर्यनाथ अख्तियारका प्रमुख थिए । यिनले म, खुमबहादुर, चिरंजिवी वाग्ले समेत ५/७ जना उपर मुद्दा चलाए । अरूलाई गौण बनाए । तर, अब तेता न जाउँ ! 

के आधारमा सम्पत्तिको बैधताको मूल्यांकन गर्ने, स्वयं सम्पत्ति छानबिन आयोगका तत्कालिन अध्यक्षलाई समस्या परेको थियो । त्यस आयोगले महिनौ लगाएर एक मापदण्ड बनाई सिफारिश गर्यो । पछि सूर्यनाथलाई पनि सोही समस्या पर्यो । यिनले पनि राजनीतिक मानिसहरू बिलासी हुन्छन् । यसर्थ यिनको हकमा एकखाले र कर्मचारीहरू जेनतेन प्रकारेण हुन्छन् यसर्थ, उनको हकमा अलिक हलुको खाले सम्पत्ति बैधता मापनको मापक बनाएर रोजी रोजी खोजी खोजी मुद्दा चलाए । 

मुद्दा चलेपछि बिशेष अदालतलाई पनि फैसलाको रोहमा फेरी समस्या पर्यो । न्यायाधिशमा तपबहादुर मगर, दामोदर शर्माहरू थिए । उनिहरूले सर्वोच्च अदालतका तत्कालिन प्रधान न्यायाधीशसँग महिनौ छलफल गरे । यौटा मापदण्ड बनाए अनि फैसला हुन शुरू भयो । कोही सजाय पाए कोहीले सफाई पाए । मैले सफाई पाएँ । 

मेरो समेतको मुद्दामा सफाई दिईएकोमा अख्तियारलाई चित्त बुझेन । कतिपयको मुद्दामा अख्तियार पुनरावेदन निम्ति सर्वोच्च गएन । तर, मेरो तथा खुमबहादुर खड्का समेत केहीको मुद्दामा अख्तियार सर्वोच्च गयो । सर्वोच्च अदालतमा फैसला हुँदा न्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीहरूले बिशेष अदालतले तयार गरी फैसला गरेको मापदण्डलाई मानेनन् । कडा मापदण्डको आधारमा मेरो र खुमबहादुरको मुद्दाको फैसला उल्ट्याईयो । हामी जेल गयौं । 

तर, धेरैको मुद्दा सर्वोच्चमा बिचाराधिन थियो । रामप्रसाद, खिलराज रेग्मी, कल्याण र सुशीला कार्कीहरू सर्वोच्चबाट सेवा निवृत भए । यसपछि कयौं फैसलाहरू भए । पूर्व प्रहरी महानिरीक्षकद्वय अच्युत खरेल, मोतिलाल बोहरा र पूर्व गृह सचिव आदिको । सर्वोच्चले फेरी अर्कै र हामी उपर लागू गरिएको भन्दा खुकुलो सम्पत्ति मापदण्डको मापक बनाई यता प्रायस सबै मुद्दाहरूमा सफाई दिएको छ । 

हामीले सजाय पायौं । कोही मरेर गए, कोही राजनीति सकेर बाँचेकै छन् । यो भिन्नै प्रसंग भयो । अब फेरी भ्रष्टाचार छानबिनको प्रसंग उठ्दैछ । पुरानै पात्रहरू नयाँ योजनाकारहरूको समक्ष योजना पस्कँदैछन् । सूर्यनाथहरूले फेरी सार्वजनिक पद धारण गर्नेहरूका सम्पत्ति छानबिनको लागि ज्ञापन पत्र बुझाउन शुरू गरेका छन् । यो राम्रो कुरा हो । 

सूर्यनाथले फेरी जागिर पाए मैले दुःखी हुनुपर्ने कुनै कारण छैन । संसदमा त बि.सं. २०४६ यताका राजनीतिक मानिसहरूको सम्पत्तिको छानबिनको माग समेत उठेको छ । केहीले भने बि.सं. २०४६ किन पुरै पंचायतकाललाई समेट्नु पर्छ भनी प्रत्त्युत्तर दिएका छन् । यो क्रम चल्दै  गर्ला ।

मैले उठाउन खोजेको कुरो के मात्र हो भने, पहिलो कुरो– यस्तो आयोग बन्नैपर्छ । दोस्रो कुरा, अब बन्ने आयोगले फेरी सम्पत्ति बैधताको मूल्यांकन गर्ने मापदण्ड बनाएर लामो समय खर्चिनु ठीक हुने छैन । यसअघि सर्वोच्च अदालतमा प्रधान न्यायाधीशहरू राम प्रसाद, खिलराज, कल्याण र सुशीलाहरूले आ–आफ्नो मापदण्डको आधारमा धेरै मुद्दाहरू फैसला गरिसकेका छन् । यी मापदण्डहरूलाई नै आधार बनाईनु पर्दछ । सर्वोच्चका फैसलाहरू नजीर हुन्छन् । फेरी यतिका धेरै न्यायाधीशहरूले गरेको फैसला त सबैका लागि चिरन्तरकालका लागि बाध्यकारी दिग्दर्शन हुनु नै    पर्छ । 

यहाँ अर्को पनि बिचारणीय पक्ष छ । मेरो मुद्दाको फैसला हुँदा तत्कालिन एमाले पार्टीका अध्यक्ष झलनाथ खनाल, नेकाका बरिष्ठ नेता रामचन्द्र पौडेलहरूले बडो जोडदार रूपमा फैसलाको स्वागत गरेका थिए । सूर्यनाथले त झन् आफ्नो घरको भान्साबाट नै ताली बजाएरै स्वागत गरेको    थिए । यसबाट सम्पति मूल्यांकनको त्यस आधारको राजनीतिक र कर्मचारी अनि नागरिक समाज सबैतिरबाट स्वागत गरेको ठहरियो नै । यसर्थ,त्यस मापदण्डमा राजनीतिक सहमति रहेको स्पष्ट नै छ । 

बडो राम्रो हुन्थ्यो उही मापदण्डको आधारमा अब उप्रान्त सबैको सम्पत्ति बैधताको मूल्यांकन होस् । यो त हुँदै गर्ला । अझ सुनमा सुगन्ध हुन्थ्यो, यदि सूर्यनाथ उपाध्याय देखि झलनाथसम्म र रामचन्द्र पौडेल देखि चित्रबहादुर केसीसम्मले सुशीला–कल्याणहरूले तयार गरेको मापदण्ड अनुसार आफ्नो सम्पत्तिको स्वयं घोषणा नै गरि दिए मुलुकको धेरै खर्च जोगिन्थ्यो । समयको बचत हुन्थ्यो । 

मलाई आशा छ, कसैले मेरो यो ईच्छा सूर्यनाथ उपाध्याय समक्ष अवश्य पुर्याई दिनुहुनेछ । (पूर्व मन्त्री जयप्रकाश आनन्दको फेसबूकबाट ।)

ताजा खबर