यी हुन् देबीका रानीका  दिलीप कुमार 

२०७४ श्रावण २१ शनिबार ११:४२:०० मा प्रकाशित

 काठमाडौं । यतिबेला गम्भीर स्वास्थ्य समस्यामा रहेका भारतीय सिने कलाकार दिलीप कुमार उनको देश र सिनेप्रेमी अरु संसारमा समेत चर्चामा   छन् । असाधारण कला प्रतिभाका धनी दिलीप कुमारको सुस्वास्थ्यका लागि सबैतिरबाट कामना त गरिएकै छ, उनको समयका मात्र होईन नयाँ पुस्ताका दर्शक समेत दिलीप कुमारको अभिनय रहेका चर्चित हिन्दी सिनेमाका दृश्यहरु स्मरण गरेर रोमाञ्चित हुने गरेका छन् ।

भारतीय सिनेजगतमा पाइला हालेपछि उनले आफ्नो रियल नाम मोहम्मद युसुफ खानलाई परिवर्तन गरेका थिए । ९५ वर्ष टेकीसकेका दिलीप कुमार उनका समयका एक सफल अभिनेता मानिन्छन् । प्रायः दुखान्त भूमिका गर्न रुचाउने यी नायकलाई ‘ट्रेजेडी किङ’ पनि भन्ने गरिन्छ । 
भारतीय सिनेमामा प्रभावकारी र सम्झिन लायक अभिनयका कारण उनलाई फिल्मको सर्वोच्च सम्मान दादा साहेब फाल्के पुरस्कार पनि दिइएको थियो । यो पुरस्कार बाहेक उनलाई, पद्म भूषण, पद्म विभूषण, र पाकिस्तानको सर्वोच्च नागरिक सम्मान ‘निशान–ए–इम्तियाज’ बाट पनि सम्मानित गरिएको थियो । यस बाहेक उनी वर्ष २००० देखि भारतको राज्य सभा सदस्य पनि बने ।

 दिलीप कुमारको जन्म ११ दिसेम्वर, १९२२ मा पाकिस्तानको पेशावर शहरमा भएको थियो । उनको बुवाको नाम लाल गुलाब सरवर थियो जसले फलफूल बेचेर परिवारको भरणपोषण गरेका थिए । भारत पाकिस्तान बिभाजनको बेला उनको परिवार भारत आएर बसेको हो। दिलिप कुमारको शुरुवाती जीवन तंगहालीमा नै बितेको थियो । आफ्नो बुबाको व्यापारमा घाटा हुन थालेपछि उनी पुनाको एउटा क्यान्टिनमा काम गर्न थाले । पुनामा नै जब पहिलो चोटी नायिका देवीका रानीले दिलीप कुमारलाई देखिन दिलीप कुमारको भाग्यको बाटो त्यहींबा मोडियो। देवीका रानीले नै युसुफ खानको नाउँ बदलेर दिलीप कुमार नाम राखीदिईन,त्यही नाम आज सर्बत्र लोकप्रिय बनेको छ। त्यसपछि सिने क्षेत्रमा दत्तचित्त भएर लागेका दिलीप कुमार २५ वर्षको उमेरमा नै देशको नम्बर एक अभिनेताको रुपमा स्थापित भइसकेका थिए ।

१९६६ मा अभिनेत्री सायरा बानोसँग दिलीप कुमारको विवाह भएको थियो । बिवाहको समय उनी ४४ वर्षका थिए भने सायरा बानो मात्र २२ वर्षकी थिइन् । १९८० मा उनले आसमासँग दोस्रो विवाह गरेका थिए ।

ट्रेजेडी किङ दिलीप कुमारले आफ्नो क्यारियरको शुरुवात १९४४ मा प्रदर्शनमा आएको फिल्म ‘ज्वार भाटा’ बाट गरेका थिए तर उनको यो फिल्म सफल हुन भने सकेन । उनको पहिलो हिट फिल्म ‘जुगनु’ थियो । १९४७ मा प्रदर्शनमा आएको यस फिल्मले बलिउडमा दिलीप कुमारलाई हिट फिल्मका स्टारहरुको श्रेणीमा राख्ने काम गर्यो । १९४९ मा फिल्म ‘अंदाज’ मा उनले पहिलोपटक राज कपुरसँग काम गरेका थिए । त्यो जमानामा यो फिल्म एकदमै हिट भएको थियो ।

दिदार (१९५१) र देवदास (१९५१) जस्ता फिल्महरुमा गम्भिर भूमिकाको लागि प्रख्यात भएका कारण उनलाई धेरैले ट्रेजेडी किङ भन्न थालेका थिए । मुगले–ए–आजम (१९६०) मा उनी राजकुमार जहाँगिराको भूमिकामा देखिएका थिए । ‘राम और श्याम’ मा दिलीप कुमारले गरेको दोहोरो भूमिकाको अभिनयलाई आज पनि धेरैले सम्झिरहन्छन् । १९७०, १९८० र १९९० मा उनले फिल्महरुमा कम समय दिए । यो समय उनले अभिनय गरेका प्रमुख फिल्महरु भनेको क्रान्ति (१९८१), विधाता (१९८२), दुनियाँ (१९८४), कर्मा (१९८६), इज्जतदार (१९९०), र सौदागर (१९९१) हुने । 
१९९८ मा बनेको ‘किला’ उनको  अन्तिम फिल्म थियो ।

उनी रमेश शिप्पीको फिल्म ‘शक्ति’ मा अमिताभ बच्चनको बुवाको भूमिकामा थिए । यसै फिल्मबाट उनले फिल्मफेयर एवार्ड पनि पाएका थिए । साभार: फिल्मीबिट           

ताजा खबर