प्रचण्ड र ओलीको द्वैध शासनले भित्र्याएको विकृति   

२०७५ पौष १२ बिहीबार २०:१०:०० मा प्रकाशित

काङ्ग्रेस महासमितिमा हिन्दु धर्मबारे छलफलबारे चर्चा गरिरहँदा प्रचण्डलाई औडाहा भएछ र हिन्दु धर्ममा गए काङ्ग्रेस सिद्धिने कुरा बताए !
उनलाई काङ्ग्रेस सिद्दिने पीर थिएन , 
पीर थियो मुलुकको जेठो र राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित दल हिन्दु राष्ट्रको पक्षमा उभियो भने जस जसका सामू नेपाललाई धर्म निरपेक्ष घोषणा गराउन त्वं शरणं गरिएको छ -तिनले टिक्न खान दिने छैनन् भन्ने !
*****
काङ्ग्रेस नेपाल सँगै सँगै स्थापना भएको दल होइन, नेपालको अस्तित्व रहुन्जेल रहन्छ भन्ने पनि छैन !
त्यही कुरा नेकपाको हकमा पनि हो !

राजनीतिक दलहरू आउँछन् , जान्छन,टुक्रिन्छन् , विलय हुन्छन् --यो पनि प्रकृति हो I 
प्रचण्डले पनि कथित गौरवशाली जनयुद्ध गर्ने पार्टी हाँक्न र टिकाउन नसकेर टुक्रा टुक्रा भएका छन् !
उनीहरूको आफ्नो व्याख्या र विश्लेषण होला, तर उनी एउटा ठूलो चोइटो लिएर एमालेमा विलय हुन गएका हुन्, आफ्नो नेतृत्वको चोइटोको अलग भविष्य नदेखेर !
आफ्नो पार्टीको उज्वल भविष्य देखेको भए पक्कै सिद्धान्तमा समान तर व्यवहारमा वरिष्ट उपाध्यक्ष भएर आफ्नो पार्टीको पहिचान मासेर जाने थिएनन् I

*****
आफ्नो राजनीतिक भविष्यबारे चिन्ता र अन्यौलग्रस्त प्रचण्ड कहिले काङ्ग्रेसबारे बर्बराउँछन्,
कहिले कुनै निजी समारोहमा राजा नाचे भनेर सातो हराए जस्तो गरेर छटपटी पोख्न पुग्छन् ! 
त्यही रनाहामा ओली पनि देखिन्छन् र त्यस्तै चेतावनी दिन पुग्छन् !

*****

दुई तिहाईको शक्ति आफूसँग छ, कांग्रेस,राजा, हिन्दु राष्ट्रको सवाल सबैलाई असान्दर्भिक बनाइदिनु क्या - जनताको हाई -हाई भएर ! 
स्वच्छ . गतिशील र सक्षम सरकार दिनु क्या बर्षौं सम्म जनताको मत पाएर विजयी हुने गरी !

*****
सरकार उनीहरूको ,कर्मचारी उनीहरूका र उनीहरूकै ट्रेड युनियनका, संवैधानिक अङ्गहरू , न्यायपालिका सबैतिर उनीहरुका कार्यकर्ता, सुरक्षा अंग उनीहरूकै राजनीतिक छहारीमा ,
अस्थीरताको नाउमा अस्थीरता भित्रै सबै राज्य अङ्गमा ओली र प्रचण्डको दलको प्रभाव र वर्चस्व कायम भइसकेको छ !
पहिला अनेक गरेर राजनीतिक अस्थीरता निर्माण गर्ने अनि त्यो अस्थिरतालाई आफ्नो स्थिरताको आधार बनाउने कम्युनिस्ट रणनीतिमा उनीहरू सफल भएकै हुन् I

*****
विकृति त ओली र प्रचण्डको द्वैध शासन र त्यसको बैदेशिक आयामको कारण आएको छ !
सबैतिर नियन्त्रण स्थापना गर्न खोज्ने तर नसक्ने अनि नियन्त्रण र सन्तुलन विनाको राजकाजबाट उत्पन्न भएको छ I

ओली र ओलीपछि प्रचण्डको पालोको भद्र भनिने कुटील सहमतिले उनीहरूको आफ्नै दल भित्र उकुसमुकुसको स्थिति उत्पन्न भएबाट निर्माण भएको छ !

*****
सुध्रिए त राम्रो तर लाग्दै छ , काङ्ग्रेसले सुध्रिन नै पर्दैन ,
कुनै सांगठानिक तयारी पनि चाहिन्न ओली र प्रचण्डको द्वैध शासन यसरी नै गए अर्को चुनाव भए , गराउन सके , त्यो चुनावमा काङ्ग्रेस अहिलेको ओली र प्रचण्डको दलको हैसियतमा !

*****
सरकार र सत्तारुढ दलको नेतृत्वमा रहेका ओली र प्रचण्डको छटपटी र हतासायुक्त क्रन्दन सुन्दा उनीहरूले अर्को सम्भावना पनि देखेका छन् कि भन्ने लाग्दछ - त्यो भनेको अर्को चुनाव अघि नै ७२ को संविधान विरुद्ध राष्ट्रव्यापी आन्दोलन र यसको र यसले निर्माण गरेका राज्ययन्त्रहरू र सरकारको पतन !
नत्र संसदमा एक तिहाईमा खुम्चिएको गतिहीन र लक्षहीन काङ्ग्रेस र साधारण नागरिक बनेका राजा विरुद्ध बर्बराउनु किन ?

*****
अरू कसैलाई धारे हात लगाउन पर्दैन, ओली र प्रचण्डले आफ्नै दल र सरकारलाई इमान्दार नेतृत्व दिए पुग्दछ !
आम जनताको जीवनमा विश्वास, सपना र उर्जा भरिदिए पुग्दछ !
यिनीहरू हामीहरू र मुलुकप्रति इमान्दार छन्, मुलुकको स्वाभिमान र स्वतन्त्रताको रक्षा गर्न सक्दछन् ,निर्धक्क भएर गरिखाने वातावरण निर्माण गरिदिन सक्दछन् , न्याय र निसाफका कुरामा कुनै भेदभाव हुन्न , मुलुक भित्र हामी सुरक्षित छौं , हाम्रो उन्नति सम्भव छ भन्ने विश्वास आम जनतामा जगाइदिए पुग्दछ !

*****
यी कुराका लागि ओली र प्रचण्ड मुलुकप्रति इमान्दार भए पुग्दछ ! 
इमान्दार देखिए पुग्दछ !
तर गाह्रो भनेपनि सजिलो भने पनि त्यही हो ! (केशबप्रसाद भट्टराईको फेसबुक टिप्पणी)

ताजा खबर