मेलम्चीको काम ९३ प्रतिशत पूराः मन्त्री मगर

२०७५ पौष १२ बिहीबार १६:०९:०० मा प्रकाशित

काठमाडौँ, १२ पुस । मेलम्भी खानेपानीको आयोजनाको काम अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री मगरले सरकारले मेलम्चीलाई प्राथमिकतामा राखेको बताइन् । बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भएको बताइन् । उनले २ पुसमा एकतर्फी रुपमा सम्झौता रद्द गरेको इटालीको सिएमसीले ६ पुसमा आफ्नो निर्णयमा पुनर्विचार गर्न पत्र मन्त्रालयलाई पठाएको जानकारी दिइन । मन्त्री मगरले हालसम्म आयोजनाको कूल खर्च २६ अर्ब, ३५ करोड भएको बताइन् ।

सरकारले वि.सं. २०६५ मा सो आयोजना निर्माण गर्न सिआरसिसिसी नामक चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीले वि.सं. २०६९ असोज ९ गते सम्झौता भङ्ग गरेपछि सरकारले वि.सं. २०७० असार ३१ गते इटालीको सिएमसीसँग निर्माणको सम्झौता गरेको थियो ।

बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले ध्यान दिनपर्ने बताए ।

सांसद बहादुरसिंह लामा र राजेन्द्र लिङ्देनले २९ वर्षमा ९३ प्रतिशत काम मात्र सो खानेपानी आयोजनाले सम्पन्न गरेको उदाहरण दिँदै बाँकी काम सम्पन्न गर्न कति वर्ष लाग्छ भनेर प्रश्न गरे । सांसद प्रभु साह र टोपबहादुर रायमाझीले इटालीयन कम्पनीले मेलम्चीको काम छाडेसँगै बाँकी काममा अन्योल आएकोतर्फ सरकार गम्भीर बन्न आग्रह गरे ।

सांसद रामबहादुर विष्टले मेलम्ची खानेपानी आयोजना निर्माणमा किन अन्तर्राष्ट्रिय ठेकेदारले बीचबाट काम छाड्छन भन्ने प्रश्न गर्दै समयमा निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनु पर्ने बताए ।

सांसद गणेश पहाडीले राष्ट्रिय गौरवको मेलम्ची आयोजना निर्माण समयभित्र सम्पन्न गर्न अनुगमन संयन्त्रलाई चुस्त बनाउन सुझाव दिए । सांसद राजेन्द्र राई र लिलानाथ श्रेष्ठले के कारणले इटलीयन कम्पनीले सो आयोजनाको काम एकतर्फी रुपमा रद्द ग¥यो सरकारले स्पष्ट जवाफ दिनु पर्ने बताए ।

त्यस्तै, सांसद दुर्गा पौडेल र टेकबहादुर बस्नेतले मेलम्ची आयोजनाले पाइप बिछ्याउँदा खनेका सडक हालसम्म निर्माण सम्पन्न नगर्दा धूलोको सास्ती बनेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

 

 

ताजा खबर