प्रधानमन्त्रीद्वारा दोस्रो पटक धरहराको शिलान्यास

२०७५ पौष १२ बिहीबार १२:२२:०० मा प्रकाशित

काठमाडौं, १२ पुस । भूकम्पमा भत्किएको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले नै दोस्रो पटक शिलान्यास गरेका छन् । साढे तीन वर्ष अघि प्रधानमन्त्री ओलीले नै धरहराको शिलान्यास गरेका थिए ।

बिहीबार सुन्धारामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका हुन् । नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाका पालामा धरहरा निर्माण गरिएको थियो ।

त्यसपछि वि.सं. १९९० को भूकम्पमा धरहरा भत्किएको थियो । त्यतिबेला पनि पुनःनिर्माण गरिएको थियो । त्यही धरहारा १२ बैशाख, २०७२ मा आएको भूकम्पले पूर्णरुपमा भत्किएको थियो ।

तर, भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि पुनःनिर्माण हुन सकेको छैन् । प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै अब धरहरा निर्माण हुने बताए । विविध कारणले अहिलेसम्म ढिलाइ भएपनि अब भने तीव्रगतिमा काम अगाडी बढ्ने उनको भनाइ थियो ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपस्थित रहेका थिए ।

धरहरा पुनःनिर्माणको जिम्मा जीआईईटीसी–रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गरिने छ । त्यसकै ठाउँमा नयाँ धरहरा निर्माण गरिने छ ।

 

ताजा खबर