भूकम्पले भत्किएका २०१ सम्पदा पुनःनिर्माण

२०७५ पौष ११ बुधबार १३:४६:०० मा प्रकाशित

काठमाडौँ, ११ पुस । भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा ७५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३०९ सम्पदाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदाको काम शुरु हुन सकेको छैन ।

रानीपोखरी र बालगोपालेश्वरको काम अझै शुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६÷७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

आर्थिक वर्ष २०७७÷७८ को पहिलो चौमासिकमा भूकम्पले क्षति पु¥याएका सबै सम्पदा पुनःनिर्माण गरिसक्ने लक्ष्य छ । प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार कम प्रभावित १८ जिल्लाका ८४५ सम्पदामा क्षति पुगेको छ । ३२ वटै जिल्लाको गरी एक हजार ५९८ सम्पदा पुनःनिर्माण गर्नुपर्ने जनाइएको छ । यसमध्ये पूर्ण रुपमा क्षति भएका सम्पदा १३३ भएको अधिकृत बाँस्कोटाले बताए ।

शुरु भएन गुम्बा पुनःनिर्माण
भूकम्पले क्षति पुगेका ८९५ गुम्बा पुनःनिर्माण गर्नुपर्नेछ । मर्मत गर्नुपर्ने गुम्बाको सङ्ख्या ४०२ छ । अहिलेसम्म कुनै पनि गुम्बाको पुनःनिर्माण नभएको जनाइएको छ । कार्यविधिमा भएको अस्पष्टताले गुम्बा पुनःनिर्माणमा ढिलाइ भएको हो ।

दुई हजार वर्गफिटभन्दा बढी क्षेत्रफल भएका र १०० वर्षभन्दा पुराना गुम्बा प्राधिकरणले नै बनाउनेछ । १०० वर्षभन्दा कमका गुम्बा पुनःनिर्माणका लागि प्राधिकरणले स्थानीय तहलाई ५० प्रतिशत बजेट दिने जनाएको छ ।

बाँकी लागत स्थानीय तह र स्थानीय गुम्बा विकास तथा व्यवस्थापन समितिले व्यहोर्नुपर्ने जनाइएको छ । भूकम्पले भत्किएका गुम्बाको पुनःनिर्माणका लागि रु पाँच अर्ब ८५ करोड लाग्ने प्रारम्भिक अनुमान प्राधिकरणको छ । रासस

ताजा खबर