नारायणकाजी, गगन र रविन्द्रबीच चर्को बहस

२०७५ पौष १० मंगलबार १४:३०:०० मा प्रकाशित

पोखरा, १० पुस । नेपाल साहित्य महोत्सवको चौथो दिन पोखरामा राजनीतिका विषयमा पनि चर्को बहस भएको छ ।

मंगलबार भएको चौथो सत्रको बहसमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रबीच चर्को बहस भएको छ ।

महोत्सवमा ‘कसको नेतृत्व, कस्तो नेतृत्व’ विषयमा भएको छलफलमा एकअर्कालाई घोचपेच समेत गरेका छन् । मिश्रले नेकपा र कांग्रेस नेताहरुको लवाइखवाइ तथा विलासी जीवनका विषयमा आलोचना गरे । उनले भने, ‘केही काम नगरी कसरी भोगविलासको जिन्दगी बाँचिन्छ ?’

श्रेष्ठले त्यसको बचाउँ गरे । उनले भने, ‘मसँग न जग्गा जमिन छ, न घर छ, न ब्यांक ब्यालेन्स छ । न मेरो विलासी जीवनशैली छ । कोही होलान सबै छैनन, सुधार गर्नु पर्छ ।’

त्यसमै थापाले थपे, ‘मसँग घर छ, जमिन छ, गाडी छ । नारायणकाजी सर सत्तामा पुग्नु भयो भने आफूजस्तै बनाउँनु हुन्छ, म सत्तामा पुगे भने सबैलाई मजस्तै बनाउँछु । केही नभएको बन्ने की सबै चिज भएको बन्ने सोच्नुस् ।’

बहसमा बोल्दै कांग्रेस युवा नेता थापाले विवेकशिल साँझा विचार नभएको पाटी भएको आरोप लगाए । उनले विचारबिनाको राजनीति गर्ने कुरा संभव नभएको औल्याए ।

त्यसको जवाफमा विवेकशिल साझाका संयोजक मिश्रले व्यंग गरे, ‘हामी त तेस्रो धुव्रको प्रतिनिधित्व गर्छौ । हामीलाई विचार छैन भन्ने पूजीवादले बलात्कार बढ्यो भन्ने कस्तो विचार हो ?’

यतिबेला भने नेकपा नेता श्रेष्ठ मुसुमुस हास्न पुगेका थिए । किनकी नेकपाकै नेताहरुले पूजीवादले बलात्कार बढेको भाषण गरेका थिए ।

बहसमा सहभागि तीनै जनाले एकअर्काको पार्टीका कमिकमजोरीमाथि दह्रो प्रहार गरेका थिए । एक घण्टासम्म चलेको बहसमा तीनै जनाले राजनीतिक परिवर्तन भएपनि सामाजिक र सांस्कृतिक परिवर्तन गर्न आवश्यक रहेको औल्याएका थिए ।

महोत्सवमा साहित्यसँगै समाज, राजनीति, दर्शनका विषयमा पनि छलफल चलेका छन् । ७ पुसमा शुरु भएको महोत्सव आज सम्पन्न हुने छ ।

ताजा खबर