किन बढ्यो कांग्रेस शीर्ष नेतृत्वको रक्तचाप  

२०७५ पौष ९ सोमबार १६:२५:०० मा प्रकाशित

नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । निर्धारित समयभन्दा केहीदिन बढी समय तन्काएर महासमिति फलदायी भएको सन्देश दिन नेताहरुले प्रयाश गरेका छन् । चलन अनुसार हात मिलाएको सामुहिक तस्बिर खिचाएर उनीहरु आफ्नो पार्टीभित्र कुनै समस्या नरहेको, सबै समाधान भएको भान पार्न चुकेनन् । कांग्रेसमा यो कुनै नौलो अभ्यास होईन,परम्परादेखिको चलन हो । पानी बाराबारको अवस्थामा पुगेका नेताहरुले बिगतमा पनि यस्तै अभ्यास गर्ने गरेका थिए । युवा नेताहरुले यसमा परिमार्जनको आवश्यकता देखेनन् । विवादहरु समाधान गर्नुभन्दा बैठक र छलफलको अवधि तन्काएर कोठे बैठकबाट निर्णय सुनाउने र अन्त्यमा सामसुम पार्ने कार्यशैलीलाई नयाँ पुस्ताले सहर्ष स्वीकार गरेको देखियो । अर्थात् प्रजातान्त्रिक पार्टीमा संस्कार झैं बनेको अप्रजातान्त्रिक कार्यशैलीमा सुधारको कुनै प्रयाशसम्म पनि गर्न ‘युवा पुस्ताको नेतृत्व’ले जाँगर देखाएन ।

विधान संशोधन महासमितिको मूल एजेण्डा थियो । लामै गृहकार्य पछि महासमितिमा पेश गरिएको विधान आखिरमा आन्तरिक गुटहरुको स्वार्थ सम्वोधन हुनेगरी पदहरु थपेर पास गरिएको छ । गुटका मुखियाहरुको चित्त बुझेपछि बाँकी महासमिति सदस्यको चासो र चिन्ताको बिषयलाई ह्याकुलाले मिचेर एकताको सन्देश दिने प्रयाश गरेको छ कांग्रेसले । सभापति शेरबहादुर देउवाले आफ्ना आलोचक सबै गुटलाई चित्त बुझाएपछि देशका सबै भूगोलबाट भेला भएका महासमिति सदस्यलाई कुनै ठोस उपहार दिन सकेनन् । उनीहरुले गाउँ फर्केर स्थानीय कार्यकर्ता र समर्थकलाई के सन्देश सुनाउने भन्ने बारेमा कांग्रेस सभापति देउवा र अरु शीर्षस्थ भनिएका नेताले वास्ता गरेको देखिएन । उनीहरु यसमा नराम्ररी चुकेका छन् ।

धर्ममा धर्मर

डँडेलधुराका सभापति कर्णबहादुर मल्ल महासमिति बैठकका हिरो बनेर फर्किएका छन् । वैदिक सनातन हिन्दू धर्मका बारेमा कांग्रेस प्रष्ट हुनुपर्छ भन्ने उनको लिखित प्रस्तावमा महासमितिका आधा भन्दा बढी सदस्यले हस्ताक्षर गरेर सभापतिलाई बुझाएपछि कांग्रेसका शीर्ष नेताहरुको रक्तचाप बढेको देखियो । आफैंले ल्याएको संविधानको एउटा महत्वपूर्ण बिषयमा विवाद गर्नुहुँदैन भन्ने एकथरीको तर्क सुनियो भने अर्काथरी देशको सांस्कृतिक पहिचानमाथि हस्तक्षेप हुनथालेकाले पार्टीले महासमितिबाट निर्णय लिनुपर्छ भन्ने थिए । तर कांग्रेस यस बिषयमा औपचारिक रुपमा बोलेन, मौन बसेरै महासमिति टुंग्यायो । 

महासमितिले कुनै औपचारिक सम्बोधन नगरेपनि धर्मको बिषय कांग्रेसमा जबरजस्त प्रवेश गरेको छ,ठूलो संख्यामा सदस्यहरुको हस्ताक्षर समेतको सहमति सहित । यो अब कांग्रेसको संगठन संरचनामा मात्र होईन देशका सबै बर्ग समुदाय र भूगोलमा छलफल र बहसको बिषय बनिसकेको छ । यसकारण पनि कांग्रेस नेतृत्वले यसबारे जहिलेसुकै आईरहने जिज्ञासा र प्रश्नहरुको जवाफ दिईरहनुपर्ने छ । 
 

उत्साहको अभाव

महासमिति बैठकले आफ्नो आन्तरिक राजनीतिमा उल्लेख्य निर्णय गर्यो विधान संशोधन मार्फत । यो उसको आन्तरिक मामिला हो । तर दुइतिहाई बहुमतको वामपन्थी सरकारको कार्यकालको मूल्यांकन र त्यसको ठोस विश्लेषण विवेचना गर्न कांग्रेसले रुची देखाएन । सरकार आफैंले गरेका गम्भीर गल्ती र असफलतामा जनताबाट जति आलोचित भैरहेको छ,प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले तथ्यपरक ढंगले विश्लेषण गरेर जनतालाई स्पष्ट नक्शा देखाउन असफल भएको   छ । 

अपराध,भ्रष्टाचार,विवादाष्पद धार्मिक सम्मेलन,तश्करी जस्ता बिषयमा कांग्रेसले नियमित प्रेस विज्ञप्तिको जत्तिको वजनमा पनि प्रतिक्रिया जनाउन सकेको देखिएन । देशको परराष्ट्र मामिलामा देखिएका असंगति र तिनको दीर्घकालिन असरमाथि कांग्रेसले मिहिन ढंगले विश्लेषण गर्न सक्नुपथ्र्यो । किनभने कांग्रेससँग यसबारेमा वौध्दिक र कुटनीतिक क्षमता भएका मानिसहरुको कमी छैन । तर कांग्रेस नेतृत्वले त्यो गहकिलो जनशक्तिको उपयोग गर्न पनि सकेन या चाहेन । जसले गर्दा महासमिति बैठक कांग्रेस समर्थक या कार्यकर्ताको ठूलो क्षेत्रलाई उत्साहित तुल्याउन सफल देखिएन । कुनैबेला सभापति देउवाकै निकटतम सहयोगी रहिसकेका कर्ण मल्लले एउटा संवेदनशील बिषयमा हस्ताक्षर अभियान चलाईरहँदा काठमाडौंमा सँधै मिडियाको चर्चाको पात्र बनिरहन रुचाउने 'युवा नेता' हरुको एउटा समूह भने कि मौन थियो या रमिते । यसलाई पनि महासमिति सदस्यहरुले अनौठो मानेर हेरेको देखियो । 

अहिलेलाई महासमिति बैठक एउटा औपचारिक कर्मकाण्ड बनेर टुंगिएको छ । अपेक्षा गरिए अनुसार, प्रमुख प्रतिपक्षको गहकिलो उपस्थितिको आभास दिन नसके पनि कांग्रेसले आगामी महाधिवेशनसम्ममा धर्म लगायतका बिषयमा आफूलाई स्पष्ट पार्नुपर्ने गम्भीर चुनौति भने खडा भएका छन् । भोलि ती अझ सशक्त हुँदै   जानेछन् । त्यसकारण बीचको अवधिमा कांग्रेसले आफूलाई बदलिँदो परिस्थितिको धड्कन बुझ्न र सम्वोधन पनि गर्न सक्ने गरी तयारी गर्दै रहनुपर्ने देखिएको छ । सभापति देउवाले गुटको स्वार्थलाई मलजल गरेर मात्र अबका चुनौतिको सामना गर्न सक्ने छैनन् । उनले त्यसका लागि व्यक्तिगत रुपमा आफूलाई संगठनलाई पनि परिस्कृत गर्न जरुरी देखिएको छ ।
 

ताजा खबर