रविजस्तै गरिब परिवारका सलमान बने इन्डियन आइडल

२०७५ पौष ९ सोमबार ११:३१:०० मा प्रकाशित

काठमाडौं । अघिल्लो साता रवि वड नेपाल आइडल बने । उनीजस्तै गरिब परिवारबाट आएका सलमान अली इन्डियन आइडल बनेका छन् ।

इन्डियन आइलडको फाइनलमा नेपाल आइडलमा जस्तै चार प्रतिस्पर्धी थिए । तीन जनालाई फाइनलमा पराजित गर्दै सलमानले इन्डियन आइडल १०औं संस्करणको विजेता बने । उनले सबै भन्दा बढी भोट पाए ।

हरियाणाको पुन्हाना गाउँका बासिन्दा सलमानलाई गाउँमा भने मलंग भनेर बोलाउने गरेका छन् । जब उनी विजेता घोषित भए उनका गाउँले खुशीले उफ्रिए । गाउँभरी नै खुशीको माहोल छाएको थियो ।

उनी मिराज समाजका हुन् । उनको परिवार गाउँने बजाउँने काम गर्दै आएको छ । गरिब परिवारका उनी पनि आफन्तसँगै दैनिकी चलाउन बिहेमा गाउँने बजाउँने गर्दै आएका थिए ।

पाँच भाइबहिनीमा सबैभन्दा कान्छा हुन्, सलामान । उनी यति गरिब परिवारका हुन कि यस अघि घरमा टिभी पनि थिएन् । इन्डियन आइडल हेर्न छिमेकीको घरमा जाने गरेका थिए ।

उनी इन्डियन आइडलमा सहभागि हुन आउँदा पनि घर परिवारले खानेकुरा नभएको बताउने गरेका थिए । किनकी सलमान नै घरपरिवारको खानपिनका लागि काम गर्थे । उनको घरको अवस्था सुनेपछि जज नेहा कक्कड र अन्य सहभागीले पैसा उठाएर उनको घरमा पठाएका थिए ।

रविले जस्तै घर परिवारसँग सलमानलाई भोट गर्न पनि पैसा थिएन् । तर, उनको गलाले सबैलाई तान्यो र उनी इन्डियन आईडल १०औं संस्करणका विजेता बनेका छन् ।

इन्डियन आईडलको फाइनलमा प्रस्तुति दिन फिल्म ‘जीरो’को टिम पुगेको थियो । बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री क्याट्रिना कैफ, अनुष्का शर्माले सलमानको प्रशंसा गरे ।

विजेताको ट्रफिसँगै उनले २५ लाख भारतीय रुपैयाँ र कार पुरस्कार पाएका छन् ।

ताजा खबर